ग्राण्डीको निरन्तर लापरबाही. ‘सकुशल’ बच्चाको उपचारकै क्रममा मृत्यु



दोर्जे लामा, काठमाडौ ।
गलत अस्पताल छनोट गरेका कारण मैले बच्चा गुमाएँ । ग्राण्डी अस्पतालले सञ्जीव न्यौपानेको बच्चाको उपचारमा लापर्बाही गरेको थाहा हुँदाहुँदै म यहाँ आउनै नहुने । श्रीमती निशाले त भनेकी पनि थिइन्, तर मैले नै मानिनँ, सधैं त्यस्तो हुँदैन भनें । अहिले १८ दिनकी छोरीको कलिलो अनुहारले मलाई लखेटिरहेको छ ।

गएको असार २० गते निशाको कोखबाट जुम्ल्याहा छोरी सकुशल जन्मे । प्रसूति कक्षबाहिर बसेको मलाई डाक्टर आफै आएर दुवै छोरी स्वस्थ छन् भनेका हुन् । पहिलो सन्तान जन्मिएको १२ वर्ष पछि आईभीएफ सेवा लिएर दोस्रो सन्तान त्यो पनि दुईवटा पाउँदा हामी निकै खुशी भएका थियौं ।

गर्भमा दुईवटा बच्चा बढ्दै गएकाले आमालाई गाह्रो भयो भनेर डा.पवनराज पन्तको सल्लाहमा आठ महिनामा नै शल्यक्रिया गरी बच्चा निकालियो । भर्खर बच्चा एकदम राम्रो छ भनेका डाक्टरले तुरुन्तै फोन गरेर बच्चालाई आमाको होस नआएसम्म एनआईसीयूमा राख्छौं भने । निशाको होस ढिला आयो । बच्चा सकुशल छ अब्जरभेसनको लागि मात्र २४ घण्टा राख्ने हो अक्सिजन दिनुपर्दैन भने ।

भोलिपल्ट बच्चालाई आमाको क्याथेटर ननिकाली दिन मिल्दैन भने, मैले डाक्टरको कुरा पत्याएर हुन्छ भनें । अर्को दिन बच्चाको पिसाब चेक गरौं, रिपोर्ट आएपछि दिउँला भने, हरेक दिन एक एक कुरा गर्दै पैसा असुल्ने काम मात्र गरिरहे । पुनः बच्चाको रगत चेक गर्ने, ढाडबाट पानी निकाल्ने गरेर १७ दिन बिताए । १७ दिनका दिन ठूलो बच्चालाई अक्सिजन दिनुपर्ने भो भने, दुई घण्टापछि भेन्टिलेटरमा राख्नुपर्ने भयो भने । भोलिपल्ट साउन ६ गते बिहान ६ बजे नै फोन आयो, हामी दौडिएर गयौं । एनआईसियुमा पस्नासाथ ‘सरी, तपाईंको बच्चा बचाउन सकेनौं’ भने ।

यति नै बेला दोस्रो बच्चातर्फ मेरो ध्यान गयो र हेरेको त शरीरभरि घाउ नै घाउ छ । अब यो अस्पतालले बच्चाको उपचार हैन पैसा मात्र असुल्ने रहेछ भन्ने लाग्यो । तत्काल दोस्रो बच्चालाई त्यहींबाट सीधै इशान अस्पतालमा फोन गरेर लग्यौं । शरीर, हातको नाडीमा पिप जमेको रहेछ । इशान अस्पतालका डाक्टरले हेर्नासाथै बच्चाको अप्रेशन गराउनपर्छ भने । हामीले बच्चालाई दिउँसो २ बजे पुर्याएका थियौं, ४ बजे अप्रेशन गरियो । दोस्रो अप्रेशन तीन दिनपछि गरे, त्यतिबेला बच्चा चार घण्टापछि होसमा आयो । निशानमा उपचार गराएर नौ दिनको दिन बच्चा घर लग्यौं । डाक्टरहरुले नाडीको ठूलो घाउँमा टाका लगाउनुपर्छ भनेका थिए, हामीले मानेनौं ।

हामीले ठूलो बच्चाको लाश अहिलेसम्म बुझेका छैनौं । ग्राण्डीले गल्ती स्वीकार नगरेसम्म हामी बुझ्दा पनि बुझ्दैनौं । अस्पतालबाट लगातार फोन आइरहेको छ । पहिला त हामी लाशभन्दा सासको आस गरेर सानो बच्चालाई बचाउनतर्फ लाग्यांै । फोनमा अस्पतालको नियमअनुसार तीन दिनभन्दा बढी बच्चा अस्पतालमा राख्न मिल्दैन, छिटो लैजाऊ भनेर दबाब दिइरहे । पटक पटक फोन गर्दै वार्ता गरौं भनेर हामीलाई बोलाए ।

आइतबार हामी वार्तामा गयौं, त्यहाँका निर्देशक डा. चक्रराज पाण्डेले पटक पटक बच्चा संक्रमणले गर्दा मरेको हो, तपाईंहरु जहाँ जान पनि सक्नुहुन्छ भने । हामी पीडामा परेका बेला सहानुभूतिको ठाउँमा दबाब र धम्कीको भाषा बोले । मंगलबार पुनः वार्तामा बोलाए । हामीले महाराजगञ्ज प्रहरीलाई लिएर गयौं, प्रहरीको रोहबरमा बस्दा मात्र डा.पाण्डेले हाम्रो डाक्टर र नर्सको लापरवाहीले एउटा बच्चाको मृत्यु र अर्को बच्चामा संक्रमण भएको हो भने ।

त्यतिबेला हाम्रा सुभचिन्तक र मिडियाकर्मीहरु अस्पताल परिसरमा जम्मा भैसकेका थिए । मिडियाको सामु यही कुरा भनिदिनुस् भन्दा उहाँले भोलि पुनः बसौंला भनेर डाक्टरको टोली बाहिरियो । बुधबार (आज) वार्तामा के हुन्छ, थप कार्यक्रम लिएर अघि बढ्छौं ।

अर्कातिर, गल्ती गर्ने, उल्टै पैसा पनि माग्ने । एउटा बच्चा मारिसकेर अर्कोलाई पनि मार्न ठिक्क पारेको अवस्थामा साढे ६ लाखको बील थमाए । बच्चाको उपचारको आधाभन्दा बढी पैसा तिरिसकेको छ । श्रीमतीको छुट्टै बील आएको छ । यो अस्पतालले त लुट्ने मात्र रहेछ । तर सबै यस्ता छैनन्, इशान अस्पतालले मृत्युको मुखमा पुगेको मेरो बच्चाको उपचारमा धेरै राम्रो गर्यो ।

ग्राण्डीले यस अघिपनि पैसा असुल्नकै लागि नवजात शिशुहरुलाई एनआईसीयुमा राख्ने र बच्चालाई जोखिमा अवस्थामा पुर्याउने काम गर्छ भन्ने सुनेको थिए आज आफैलाई पर्दा थाहा भो ।
(दोर्जे लामासँग भगवती तिमिल्सिनाले गरेको वार्तामा आधारित)

काउन्सिलले आजै छानबिन गर्ने
ग्राण्डी अस्पतालले प्रहरी प्रशासन तथा पीडित परिवारसँग लापर्बाही भएको स्वीकार गरिसकेको अवस्थामा मेडिकल काउन्सिलले आजैबाट छानबिन सुरु गर्ने भएको छ । नेपाल समाचारपत्रलाई जानकारी दिंदै प्रवक्ता डा. ढुण्डी पौडेलले भन्नुभयो, हामी ग्राण्डी जान्छौं, सम्बद्ध डाक्टर र नर्स तथा प्रशासकलाई भेट्छौं, आवश्यक कारबाहीको प्रक्रिया अघिबढाउँछौं ।

यसैबीच ग्राण्डी अस्पतालका निर्देशक डा.चक्रराज पाण्डेलाई पटक–पटक मोबाइलमा फोन गर्दा रिसिभ भएन । पछि ल्याण्ड लाइनमा फोन गर्दा रिसेप्सनबाट नर्सिङ स्टेशनमा दिइयो, तर विषय बताएपछि ‘उहाँ बिजी हुनुभएकाले फोन दिन मिल्दैन, एकछिनपछि कल गर्नुस्’ भनियो । मंगलबार बारम्बार प्रयास गरियो, तर डा. पाण्डे बोल्च चाहनुभएन ।

महाराजगञ्ज पुलिस कार्यालयका अनुसार यही साउन ६ गते मृत्यु भएको शिशुको लाश अझै उठेको छैन । अस्पताल पिडितपक्षसँग आन्तरिक छलफलबाटै मुद्दा टुग्याउने पक्षमा देखिन्छ । पीडित पक्षले मौखिक रुपमा न्यायको माग गरेको छ र अस्पतालको तर्फबाट मौखिक रुपमै शान्ति–सुरक्षाको माग भएको छ । प्रहरी शान्तिपूर्ण रुपमा समस्या समाधानको प्रयासमा छ ।

प्रतिक्रिया दिनुहोस्