३१ जनामा डेङ्गु सङ्क्रमण



चितवन । जिल्लामा ३१ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । गत आर्थिक वर्षमा एक हजार ९९१ जनाको रक्त परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार भेटिएका सङ्क्रमितमध्ये १५ चितवनका र अन्य बाहिरी जिल्लाका हुन् । भरतपुर महानगरपालिका–१, २, ३, १० र ११ का बासिन्दामा सो रोगको सङ्क्रमण भेटिएको थियो । ती क्षेत्रमा बढी सङ्ख्यामा सवारीसाधन मर्मत गर्ने स्थानमा लामो समयसम्म पानी जम्ने भएकाले त्यस्तो स्थान जोखिममा रहेको उहाँले बताउनुभयो ।

एजेप्टाई र एडिस एल्बोमेक्टस नामका पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग रत्ननगर र राप्ती नगरपालिकामा पनि देखिएको उहाँले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्ष जिल्लामा एक हजार ४८६ जनाको रगत परीक्षण गरिएकामा ५९मा डेङ्गुको सङ्क्रमण भेटिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्