इतिहासको विद्रोही पाठ



परिवर्तनका लागि भएका विगतका विद्रोहले नेपालीलाई पूर्ण सन्तुष्टि दिन सकेको छैन । खासगरी राजनीतिक रुपान्तरका लागि भनेर गरिएका विद्रोहमा सत्ता परिवर्तनको ठूलो स्वरुप पनि देखाउने गरिन्छ, सात सालको जहानिया राणा शासन हटाउनेदेखि बयसठ्ठीको राजतन्त्र फाल्ने सशस्त्र विद्रोहसम्म आउँदा पनि सत्ता परिवर्तन हुन नसकेको विश्लेषण विज्ञहरुको छ ।

जसरी आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वमा दुई–तिहाइको सरकार छ, तर पनि सत्ता चाहिं कतिपय कोणबाट हेर्दा राजा कालीन सामन्ती स्वरुपकै छ । हिजो, राजालाई प्रभाव पार्ने व्यापारी, पूँजीपति, सुरक्षा क्षेत्र, भ्रष्टाचारी र कमिसनयुक्त सञ्जाल आज पनि प्रभावमा छ । राजाको जस्तै रबाफ राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुमा पनि देखिएका उदाहरण सत्ता नफेरिएकै दृष्टान्त हो । अर्थात्, पूर्ण रुपले सत्ता परिवर्तन भएको छैन, मुलुकमा केबल शासकहरु फेरिएका मात्र हुन् । तर, के यही कारणले मात्र जनता नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीतिर लाग्लान् त ?

त्यसमाथि, विद्रोही समूह सत्ता परिवर्तन गर्ने बहानामा चन्दा आतंक मच्चाउँदैछ । साँच्चिकै सत्ता परिवर्तन हुनेहो भने सायद नागरिकले चन्दा पनि दिनेथिए, तर एक दशक लामो माओवादी विद्रोहको अनुभव रगतको मूल्य तिरेर आर्जन गरेका छन् उनीहरुले । प्रचण्डको नेतृत्वले नसकेको सत्ता परिवर्तन विप्लवको नेतृत्वमा सम्भव हुने कसैलाई लागेको छैन । प्रचण्डसँगै विद्रोहमा लागेका विप्लवलाई थाहा छ, सेना–प्रहरीलगायतका सुरक्षा संयन्त्रका साथ बनेको सत्तालाई उखेलेर फाल्ने सामथ्र्य उनीसँग छैन, न त क्रमशः शान्तिपूर्ण रुपमै लोकतान्त्रिक परिवर्तनमा आउँदै गरेको सत्तालाई उखेलिहाल्नु आवश्यक छ ।

भ्रष्टाचार एउटा बिझाउने विषय हो, तर नेपालको संविधान, २०७२ ले देखाएको शान्तिपूर्ण बाटो हिंडेरै पनि यसको संवोधन हुने ठाउँ बाँकी छ । विप्लवले पुरानो अनुभवको प्रयोग गर्दै लोकप्रिय हुने अभ्यास पनि गरेनन् । बहुविवाह गर्ने, यौन हिंसा मच्चाउने, घूस खाने, सार्वजनिक सम्पत्ति मास्नेआदि सामाजिक तथा आर्थिक विकृतिमा सरिक व्यक्तिलाई सार्वजनिक कारबाही गर्दासम्म प्रचण्ड नेतृत्वको नेकपा निकै लोकप्रिय थियो कुनैबेला, पछि व्यक्ति हत्यामा पुगेपछि उसले पनि आलोचना खेप्नुपरेको हो । विप्लवले लोकप्रिय हुन यो इतिहास पनि दोहो¥याउन चाहेनन् ।

सरकारले गत २८ फागुनमा विप्लव समूहलाई विध्वंसात्मक शक्तिका रूपमा परिभाषित गर्दै राजनीतिक रूपमा प्रतिबन्ध लगाएपछि दुई पक्षबीच कटुता बढेको छ । विप्लव समूहबाट चन्दा आतंक र भौतिक सामग्रीमाथि आक्रमण हुन थालेपछि नागरिकमा पनि यसप्रति वितृष्णा बढेको छ । आइतबारसम्म यस समूहका ६ सय ६१ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने विप्लव नेता–कार्यकर्तावरुद्ध ६ सय ४८ थान मुद्दा दर्ता भएको र १ सय १८ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीको रिपोर्टमा जनाइएको छ । जनधनको सुरक्षा सरकारको कर्तव्य पनि हो, यही कर्तव्य पूरा गर्ने क्रममा उसले चालेका कदमलाई नागरिकले स्वागत पनि गर्नेछन् । तर, विप्लवको कुन कदमलाई स्वागत गर्ने, नागरिकले अझै देख्नसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्