माग्ने काममा निरुत्साहित



 

बागलुङको कालिका मन्दिर परिसरमा बसेका माग्नेहरुलाई उद्धार गरिएको छ । प्रस्ट भाषामा भन्दा अशक्तहरुलाई मानव सेवा आश्रमको जिम्मा लगाइएको छ भने मन्दिर परिसरमा माग्ने कामलाई निरुत्साहित गरिएको छ । मानव सेवा आश्रम र कालिका मन्दिर व्यवस्थापन समितिको संयुक्त प्रयासमा स्थानीय प्रशासनले सहयोग गरेको छ । मन्दिरमा आश्रित भएर कोही बाँच्न नपरोस् र अशक्तहरुको जीवनयापन मागेर नै नहोस् भन्ने उद्देश्यले यो अभियान थालिएको हो ।

मन्दिर परिसरमा मागेर बस्ने अशक्तहरुको जीवनयापनमा मन्दिर व्यवस्थापन समितिले सघाउने भएको छ । यो सराहनीय पक्ष हो । मन्दिरको प्रवेशद्वारदेखि नै मगन्तेहरुको भीड लाग्दा मन्दिरमा जाने भक्तजनलाई पर्ने अप्ठेरो त छँदै थियो, मन्दिरको सौन्दर्यमा पनि असर पुगेको थियो । कम्तीमा कालिका मन्दिर परिसरमा गरिएको यो व्यवस्थापनले अब मन्दिर मगन्तेविहीन हुने आशा पलाएको छ । भक्तजनहरुलाई सुबिस्ता पुग्ने देखिएको छ । अर्कोतर्फ जो विभिन्न कारणले अशक्त र असहाय बनेकाहरुको उद्धारले मानवीय संवेदना पनि झल्किएको छ । मन्दिर व्यवस्थापनले यो कार्यलाई निरन्तरता देओस् अनि बागलुङलाई सडक आश्रितविहीन बनाउन सफलता मिलोस् ।

तर मन्दिरमा यस्तो सराहनीय कार्य भइरहँदा धर्मको नाममा खडा भएका नक्कली साधुहरुप्रति पनि संवेदनशील र कठोर बन्नुपर्ने देखिएको छ । किनकि, धर्मको नाममा यति बेला नक्कली साधुको बिगबिगी छ । खूबै चल्तीको गीत हो, ‘मन थिएन जोगी बन्नलाई ।’ सांसारिक जीवनबाट विरक्तिएकाहरुलाई जोगी भनिन्छ । उनीहरु सन्यस्त्र हुन्छन् । सिद्ध जोगीहरुलाई संसारको लोभ हुँदैन । त्यसैले जोगीको जात हुँदैन । उनीहरु आममानिसको चाहभन्दा माथि उठेका हुन्छन् ।

सिद्ध पुरुष÷महिलाहरु आममानिसको दैनन्दिन जीवन बाँच्दैनन् । जहाँ जे पाइन्छ, त्यही खान्छन्, परमात्मामा लीन हुन्छन् । त्यसैले उनीहरु समाजमा पूज्य हुन्छन् । पूज्यहरुलाई पूजा गर्नेहरुले रक्षा गर्छन् । जोगीहरुको यही पवित्रतालाई यति बेला बदनाम बनाउन खोजिएको छ । शहरदेखि गाउँसम्म जोगीको नाममा भोगीहरुको बिगबिगी छ । जोगीको नामका भोगीहरु जहाँ पनि हात पसार्ने र जोसँग पनि मागेर हिँड्ने गरेका छन् । उनीहरुसँग जोगीमा हुनुपर्ने कुनै गुण छैन । उनीहरु जोगी हुनलायक पनि छैनन्, जोगीको आचरणमा नबस्नेहरुलाई दान दिनु भनेको जोगीको अपमान गर्नु मात्रै होइन, आफ्नो पनि अपमान हो । नक्कली जोगी नामधारीले गरेका कुकृत्यहरु पनि बाहिर आएका छन् । ती कुकृत्यहरुको अनुसन्धान हुनुपर्छ ।

नेपालमा मठाधीशदेखि धर्मको नाममा आडम्बर मच्चाउनेहरुले गरेका फेहरिस्तबारे सार्वजनिक चर्चा भए पनि उनीहरु कारबाहीको दायरामा आएका छैनन् । कतिपयले सार्वजनिक जग्गा हडपेका छन्, कतिपयहरु बलात्कार र हत्याको आरोपित छन् । केहीले मानव तस्करको काम गरेका गुनासा सुनिन्छन् भने केहीले धर्मको नाममा लुट मच्चाएका घटना पनि रहेका छन् । यी र यस्ता धर्मको नाममा ठगी गर्नेहरुलाई कानुनी दायरामा ल्याउनु राज्यको कर्तव्य हो ।
धर्म संवेदनशील विषय हो । यो संवेदनशील विषयमा राज्य चनाखो बन्नै पर्छ । धर्मको आडमा हुने हरेक गलत क्रियाकलापविरुद्ध राज्य कडारुपले प्रस्तुत हुनै पर्छ ।
– भरोसा पौडेल, बागलुङ ।

 

यौनकर्मी र प्रहरी छापा
चितवन प्रहरीले पेसेवर यौनकर्मीको आशंकामा असार ३० गते विभिन्न होटलमा फिल्मी शैलीमा छापा मा¥यो । होटल सञ्चालकसहित ९७ जनालाई पक्राउ पनि ग¥यो । विभिन्न सञ्चारमाध्यममा यौनजोडी पक्राउ परेका खबर फैलियो । उसो त होटल, लजहरुमा छापा मारिएको यो पहिलोपटक भने होइन । जुनसुकै प्रहरी कार्यालयमा प्रमुख बदलिँदा हल्लीखल्ली मच्चिने गर्छ । प्रहरीको छापा मार्ने शैलीले व्यवसायीमात्रै होइन पक्राउ पर्नेहरुको समेत सातो जान्छ ।
प्रहरीले होटलहरुमा यौनधन्दा नियन्त्रण गर्ने नाममा छापा मार्दा प्रेमी–प्रेमिका र श्रीमान–श्रीमती मर्कामा पर्ने गरेका छन् । छापा मार्नेक्रममा होटलमा बस्ने सबैलाई उस्तै व्यवहार प्रदर्शन गर्दा उनीहरुको आत्मसम्मान र वैयक्तिक स्वतन्त्रतामा आघात पर्ने गरेको छ । यतिसम्म कि हामी श्रीमान्–श्रीमती हौँ भन्दाभन्दै पनि जबर्जस्ती धरपकड र दुव्र्यवहार गरिनु अमानवीय कार्य हो । प्रहरीले गुण्डागर्दी, जुवातास, कालोबजारी, यौन व्यापार, चन्दा असुलीजस्ता गैरकानुनी क्रियाकलाप नियन्त्रणका लागि चलाउने अभियान सराहनीय छ । तर, यौनकर्मीको आशंकामा सेवाग्राही पक्राउ गरेर चरित्र हत्या गर्नु कुनै पनि मानेमा उचित होइन । यस्तो प्रवृत्ति सामाजिक आतंक हो ।

सबैलाई थाहा छ, होटल तथा लजहरु यौनजोडीविना चल्दैन । आपसी समझदारीमा यौनसम्बन्धका लागि पुग्ने थलो भनेकै होटल तथा लज नै हो । कतिपयले यौनकर्मी पालेका होलान्, यौनधन्दा सञ्चालन गर्लान्, त्यो छुट्टै पाटो हो । यौन व्यापार नै चलाइरहेका होटल तथा लजहरुमा अनुगमन गरिनुपर्छ । प्रहरीका गुप्तचर परिचालन गरेर अनुसन्धान गरिनुपर्छ । त्यसमा कसैको विमति नहोला । तर, प्रहरी प्रमुख परिवर्तन हुँदैमा सस्तो प्रचारबाजीका लागि होटल व्यवसायीलाई अनावश्यक दुःख दिने, होटलमा बास बसेका पाहुनाहरुलाई यौनजोडी नै देख्ने प्रवृत्तिले प्रहरीमाथिको विश्वास घटाउँछ ।

यस्तै प्रवृत्तिको पुनरावृत्तिका कारण प्रहरीलाई गम्भीर अपराधका चाङ छोडेर चर्चा कमाउने काममा हात हालेको भनेर आलोचना चुलिने गरेको छ । होटल व्यवसायी संघ तथा विभिन्न संघसंस्थाले प्रहरीले अनधिकृतरुपमा होटल सञ्चालक र सेवाग्राहीको मानवअधिकारको उल्लंघन गरेको जनाएका छन् । व्यवसायीले स्थानीय प्रशासनलगायत विभिन्न संघसंस्थाका प्रमुखहरुको सहमतिमा जारी गरिएको होटल तथा रेस्टुरेन्ट सञ्चालनसम्बन्धी आचारसंहिताको समेत उल्लंघन भएको आरोप लगाएका छन् । होटलहरुमा छापामार शैलीमा अनुगमन गरेर चितवन असुरक्षित बासको क्षेत्र हो भन्ने सन्देश गएको उनीहरुको ठहर छ ।

संविधानले हरेक नागरिकलाई व्यक्तिगत स्वतन्त्रता र गोपनीयताको हकको प्रत्याभूति गरेको छ । संविधान कार्यान्वयन गर्ने निकायले नै होटलहरुको अनुगमनका नाममा नागरिकको अधिकार हनन गर्नुहुँदैन । प्रहरीले व्यवसायीलाई नैतिकवान् बन्न, आचारसंहिताको पालना गराउन, होटल, लजहरुका अवैधानिक क्रियाकलाप रोक्न, कानुनसम्मत व्यवसाय गर्न अभिप्रेरित गर्ने हो । व्यवसायीलाई बैरीको व्यवहार गरेर होइन, शंकास्पद व्यक्तिबारे सूचना दिने मित्रका रुपमा व्यवहार गर्न सके शान्तिसुरक्षामा खलल पुग्ने क्रियाकलाप न्यूनीकरण गर्न सकिन्छ ।

होटलमा छापा मारेरमात्रै यौनकर्मी नियन्त्रण गर्न सकिँदैन । कि यौनकर्मीहरुको तथ्यांक संकलन गरेर परिचयपत्र बाँड्नुप¥यो, कि यौन व्यवसाय गर्नेहरुका लागि छुट्टै लाइसेन्स दिनुप¥यो । होइन भने होटल, लजहरुमा छापा मार्ने बहानामा जन्मदिन मनाउने, खाना खाने व्यक्तिहरुलाई समेत धरपकड गर्नु अन्याय हुनजान्छ । सडक, पार्क, पुल, नदी किनारजस्ता सार्वजनिक स्थलमा हुनसक्ने यौन क्रियाकलाप र बन्द कोठामा आपसी समझदारीमा हुने शारीरिक सम्बन्ध एकै खालको होइन ।

सरकारले पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा प्रहरीको अस्वाभाविक छापा मार्ने शैली फेरिनुपर्छ । शंकास्पद गतिविधि वा यौन व्यवसाय सञ्चालन भएमात्रै गोप्य सूचनाको आधारमा अनुगमन गरिनुपर्छ । आगामी दिनमा अनुगमनका नाममा व्यवसायीलाई आतंकित पार्ने र बास बस्ने सबैलाई एकै नजरले हेरेर व्यक्तिगत जीवन प्रभावित पार्ने कार्य रोक्नु जरुरी देखिन्छ ।
– रुपा मगर, चितवन, हालः पुल्चोक ।

प्रतिक्रिया दिनुहोस्