त्रिविको मनोमानी



ईश्वरराज ढकाल ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीन कार्यालयले गतवर्ष पुस २९ गते लिएको फिजिक्सअन्तर्गत सेमेस्टर प्रणालीमा सञ्चालित क्वान्टम मेकानिक्स आइको पहिलो सेमेस्टरमा कोर्षभन्दा बाहिरको प्रश्न सोधेपछि ३५ जना विद्यार्थीले परीक्षा बहिष्कार गरे। परीक्षामा ४७ जना विद्यार्थी मात्र सहभागी भएपछि परीक्षा स्थगित गर्न माग गरियो। ८२ जना विद्यार्थीमध्ये अधिकांश विद्यार्थी बाहिरिएपछि परीक्षाको मर्यादामाथि प्रश्न उठ्यो। विद्यार्थीले आन्दोलन गरे।

डीन कार्यालयले पुनः परीक्षा गर्ने सहमति गर्यो। विद्यार्थीलाई पुनः परीक्षामा सहभागी गराउने आश्वासनपछि आन्दोलन मत्थर भयो। तर, विद्यार्थीको मागको कुनै सुनुवाइ नगरी परीक्षा नियन्त्रण कार्यालयले परीक्षाफल प्रकाशित गर्यो। अख्तियार दुरूपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले परीक्षाफल प्रकाशित हुनुअघि सो विषयको छानबिन गर्यो।

छानबिनको क्रममै रहेको अवस्थामा परीक्षाफल प्रकाशित गरेपछि विद्यार्थीले पुनः आन्दोलन गरे। कुनै सुनुवाइ भएन। सो प्रक्रियाको विषयमा अहिलेपछि छानबिन भइरहेको छ। संस्थानको बदमासीका कारण ३५ जना विद्यार्थीको भविष्यमा गम्भीर असर पुगेको छ। उनीहरूको एक वर्ष खेर गएको छ। पुरानो कोर्षको प्रश्नपत्र पाठ्क्रमभन्दा बाहिरका सोधेपछि उब्जिएको समस्या हालसम्म समाधान हुन सकेको छैन। डीन कार्यालयले दर्जनौंपटक बदमासी गरेको विद्यार्थीको आरोप छ।

हामीले शिक्षाध्यक्ष, रजिस्ट्रार र डीन कार्यालयले गरेको बदमासीको प्रमाण फेला परेका छौं। सेमेस्टर सञ्चालन निर्देशिकाको परिच्छेद ४ मूल्याङ्कन र परीक्षा शीर्षकअन्तर्गत अनुसार सिमेस्टर प्रणालीमा विद्यार्थीको क्षमता मूल्याङ्कन ६० प्रतिशत अन्तिम बोर्ड परीक्षाबाट र ४० प्रतिशत आन्तरिक मूल्याङ्कनबाट गरिने व्यवस्था छ। आन्तरिक मूल्याङ्कनअन्तर्गत पर्ने उपसत्र लेखन, कक्षागत प्रस्तुति, इकाइ परीक्षा, आन्तरिक अन्तिम परीक्षा, प्रतिवेदन लेखन, परियोजना कार्य, गृहकार्यलगायत कुनैमा पनि सो प्रश्नहरू परेनन् तर तेस्रो सेमेस्टरमा भने परे जसका शीर्षक स्पष्टरूपमा तेस्रो सेमेस्टरको पाठ्यक्रममा देखिन्छन्। परीक्षामा भएका गतिविधिको विषयमा संकलन गरिएको काजगातसहितको घटनागत रिपोर्ट :

* एकपटक वितरण भइसकेको प्रश्नपत्र फिर्ता लिएर सोही प्रश्नपत्र साढे एक घन्टापछि पुनः वितरण। परीक्षाको गोपनीयता भंग। स्नातकोत्तर प्रथम सेमेस्टरको ४५ पूर्णाङ्कको परीक्षामा तेस्रो सेमेस्टरबाट ४० अंकका प्रश्न सोधिएको।

*विद्यार्थी बाहिरिएर पुनः परीक्षा गराउन माग गरी निवेदन दिएपछि त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीन कार्यालयले आकस्मिक बैठक बसी निर्णय गर्नुपर्नेमा त्यसको ८ दिनपछि अर्थात् २०७५ माघ ६ गते विषय समितिलाई राय माग गरी पत्राचार गरियो। त्यस बेला विषय समितिका विभागीय प्रमुख प्राडा विनिल अर्यालद्वारा करिब दुई महिना पछि २०७५ चैत १३ गते डीनको कार्यालयलाई पत्राचार। जब कि परीक्षा जस्तो संवेदनशील विषयमा तुरुन्त निर्णय गर्नुपर्ने थियो। गल्ती भेटिए परीक्षा रद्द गरी पुनः परीक्षा सञ्चालन गर्नुपर्ने पदीय दायित्व हुन्छ।

* अख्तियार तथा सतर्कता केन्द्रले छानबिन गरिरहेको विषयलाई प्रभावित पार्ने गरी रजिस्ट्रारकै संलग्नतामा विद्यार्थीको भविष्यमाथि गम्भीर खेलवाड। राष्ट्रिय सतर्कता केन्द्रले मिति २०७६ वैशाख ५ गते त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीनको कार्यालयलाई प्रतिक्रिया माग गरेको अवस्था हुँदाहुँदै मिति २०७६ वैशाख ११ गते परीक्षाफल प्रकाशन गर्ने निर्णय गरी सोही दिन परीक्षाफल प्रकाशित भयो। सो दिनको परीक्षा सञ्चालन समितिको बैठकमा सदस्यभन्दा आमन्त्रित सदस्यको सङ्ख्या बढी। सम्पूर्ण सहायक डीनलगायत रजिस्ट्रारलाई पनि आफूले गरेको गल्तीलाई जोगाउन डीन प्राडा रामप्रसाद खतिवडाले चलाखीपूर्ण तरिकाले सामेल।

* त्यसको भोलिपल्ट अर्थात् वैशाख १२ गते विभागीय प्रमुख र विषय समितिका सदस्यलाई कारबाहीको माग गर्दै नेपाल विद्यार्थी संघ त्रिवि इकाइले भौतिकशास्त्र विभागमा तालाबन्दी।

*वैशाख १७ गते शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीको निर्देशनमा तीन सदस्यीय छानबिन समिति गठन। अध्यक्षमा सीताराम ब्याहुत र सदस्यमा मुकुन्दमणि अर्याल तथा जीवनज्योति नकर्मी सदस्य रहेको समितिले वैशाख २४ गते शिक्षाध्यक्षसमक्ष प्रतिवेदन पेस गर्यो। छानबिन समितिको प्रतिवेदनमा विषयगत स्थायी समितिको रायलाई झूटो सावित गरिदियो।

* शिक्षाध्यक्ष प्राडा त्रिपाठीलाई आएको चर्को दबाबका कारण एक्लै निर्णय नगरी मिति २०७६ वैशाख २४ मा कार्यकारी परिषदमा छानबिन समितिको प्रतिवेदन पठाइयो। तर, वैशाख ३१ गते उपकुलपति प्राडा तीर्थराज खनियाले छानबिन समितिको प्रतिवेदन पुनः शिक्षाध्यक्षकोे कार्यालयमै फिर्ता पठायो।

*नेविसंघ र डीन कार्यालयबिच  विवाद बढ्दै गएपछि विभागीय प्रमुख प्राडा विनिल अर्यालले राजीनामा दिए (हालसम्म स्वीकृत भएको छैन)। २०७६ असार ६ गते परीक्षाको मर्यादामाथि उठेको प्रश्नलाई सम्बोधन गर्न अविलम्ब परीक्षा सञ्चालन गर्ने नेविसंघसँग सहमति भयो। आंशिक परीक्षार्थीलाई तत्काल परीक्षामा सहभागिता गराउने सहमति। त्यसो नगरी हस्ताक्षर भएको दुई दिन बित्न नपाउनै असार ८ गते नियमित परीक्षाको फाराम खुलाई सहमतिको उल्लङ्घन।

डीन कार्यालयले छानबिन गर्छ

प्राडा सुधा त्रिपाठी
शिक्षाध्यक्ष

मैले त डीन कार्यालयलाई सम्पूर्ण विषय छानबिन गर्ने जिम्मा दिएको छु। सबै कुरा मैले गर्न मिल्दैन डीन कार्यालयले के गरेको छ भन्ने विषयमा छानबिन भइरहेको होला। मैले गर्नुपर्ने सबै कर्तव्य पूरा गरिसकेको छु। यति नै हो।

अख्तियारले छानबिन गरिरहेको छ

डिल्ली उपे्रती
रजिस्ट्रार

तपाईंले भन्नुभएको विषय फिजिक्सको होला। त्यसको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। त्यसको केही गल्ती छैन। छानबिन समितिको प्रतिवेदनमा सबै ठीक छ भनेर पठाएको छ। यस विषयमा अहिले यति नै बोलांै।

विवाद गर्नु आवश्यक छैन

प्राडा रामप्रसाद खतिवडा
डीन

परीक्षा छाडेर हिँड्ने, अनि त्यस्ता विद्यार्थीलाई कसरी परीक्षामा सहभागी गराउने? हामीले परीक्षाफल प्रकाशित गरिसकेका छौं। अब यसको केही उत्तर हँुदैन। यस विषयमा विवाद गर्न आवश्यक छैन। मुद्दा हालेर हिँड्ने आशिष पौडेलले नै छानबिन गर्छन् होला।

कोर्सले बोल्छ डकुमेन्टले होइन

प्राडा विनिल अर्याल
विभागीय प्रमुख

कोर्सले छुट्याउने हो। डकुमेन्टले होइन। कोर्स बाहिरको प्रश्नपत्र सोधिएको छैन। अहिले म फोनमा सबै कुरा गर्न चाहन्न। बसेर गरौंला। धेरै पुरानो विषयको कुरा कसरी आयो? हामी र विषय समितिले जस्तो निर्णय गरेको छ, त्यो नै अन्तिम निर्णय हो। हामीले परीक्षाफल प्रकाशित गरिसकेका छांै। यस विषयमा अहिले धेरै नबोलौं।

सबै विवरण झूटो

आशिष पौडेल
विद्यार्थी हकहित संरक्षण समिति संयोजक

विषय समितिका अध्यक्ष प्राडा विनिल अर्यालले सो प्रश्नहरू पाठ्यक्रमभित्रैबाट छ भनी आफूले हस्ताक्षर गरेको विषय झूटो देखिएको छ। ती प्रश्नहरू न कहिल्यै प्रथम सिमेस्टरमा पढाउनुभयो न उहाँले आफ्नै हातले लेखेको नोटमा ती प्रश्न छन्। न उहाँले विद्यार्थीलाई नियमितरूपमा पठनपाठन गराउनुपूर्व विद्यार्थीलाई पठाएका इमेलका पाठ्यसामग्रीमा सो प्रश्नहरू पर्छन्। तर, तेस्रो सेमेस्टरको विद्यार्थीलाई पठाएको उनकै इमेलमा सो फेला परेका छन्।

कार्यकारी परिषद्बाट पारित त्रिवि सेमेस्टर सञ्चालन निर्देशिकाको परिच्छेद ३ अनुुुसार सम्बन्धित शिक्षकले पाठ्ययोजना तयार गरी विद्यार्थीलाई वितरण गर्नुपर्नेछ भन्ने स्पष्ट व्यवस्था छ। स्नातकोत्तर तहभरि पढाइ हुने किताब देखाएर प्रथम सेमेस्टरको पाठ्यक्रमभित्रबाट पर्छ भन्नु मूर्खता सिवाय केही होइन।

हाम्रो त एक वर्ष खेर गयो

विकास पराजुली
पीडित विद्यार्थी

हामीलाई आश्वासन मात्र दिइयो। पुनः परीक्षा नलिई परीक्षाफल प्रकाशित गरियो। अख्तियार र सतर्कता केन्द्रले छानबिन गरिरहेको विषयमा बेवास्ता गरी गरेको निर्णय सरासर गलत हो। कोर्स बाहिरबाट प्रश्शन सोधेपछि देखिएको समस्या समाधानको एउटा मात्रै उपाय पुनः परीक्षा नै हो। हाम्रो त एक वर्ष खेर गयो। फेरि फारम भरेका छौं। त्रिविले गल्ती गरेको हो। यस विषयमा यथार्थ छानबिन हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस्