विजेताले एक लाख पाउने



काठमाडौं, (नेस) ।
सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) को मुख्य प्रायोजन तथा ढोरपाटन क्लबको आयोजनामा पाँचौं सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगितामा १ सय १७ टिमको सहभागिता रहने सेबका संस्थापक प्रिन्सिपल युवराज थापाले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार, तेश्रोले २५ हजार र चौथोले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

गत संस्करण भन्दा पुरस्कार राशीमा शत प्रतिशत भन्दा बढी रकम बृद्धि गरिएको छ । गत संस्करणमा शीर्ष चार स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाएका थिए ।

प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख ५० हजार खर्च हुने सेबकी संस्थापक निर्देशक मधुमाया थापाले जानकारी दिइन् । तीनदिने प्रतियोगिताका खेलहरु नयाँ बसपार्कमा हुनेछ । गत संस्करणको उपाधि आर्मीका दिल सुनार र प्रकाश थापाको जोडीले जितेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्