कार्यसम्पादन सम्झौताको स्वागत



प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुको कार्यसम्पादन सम्झौता गरेर नयाँ कदम चालेका छन् । जानकारहरुका अनुसार प्रधानमन्त्रीको नौलो कदम स्वागतयोग्य छ । तर प्रभावकारीरुपमा सम्झौता कार्यान्वयन नभएको खण्डमा कसरी अघि बढ्ने भन्ने नीति नियम बनाउन नसके उक्त सम्झौता प्रचारमुखी मात्र हुने एकखालको विश्लेषण गरिएको छ । २२ सदस्यीय मन्त्रिपरिषद् गठन भएको डेढ वर्ष बितिसक्दा पनि सरकारले गति लिन सकिरहेको छैन । २२ मन्त्रालयको एक वर्षको कार्यसम्पादन हेर्ने हो भने केहीलाई छाडेर अधिकांशले उपलब्धिमूलक कार्य गर्न सकेका छैनन् ।

सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कार्यहरु गर्ने सम्झौता भएपछि अनुगमनको पनि आवश्यकता पर्दछ । निश्चित समय तोकेर नियमित अनुगमन हुन सके मन्त्रालयको उपलब्धि, चुनौती र समस्याहरु केलाउन सजिलो हुनेछ । त्यसै गरी, मन्त्रीहरुको कार्यक्षमता र शैलीको मूल्यांकन गर्न पनि कार्यसम्पादन सम्झौता प्रभावकारी छ । केही समयअघि पनि प्रधानमन्त्रीको सचिवालयले मन्त्रीहरुको मार्कसिट बनाएको खबरहरु आएको थियो । उनीहरुको मूल्यांकन राम्रो नआए हेरफेर नै गर्नेसम्मको समाचार बाहिरिएको थियो । तर भनेजस्तो हुन सकेन ।

तसर्थ, अहिले प्रधानमन्त्री ओलीले गरेको सम्झौतालाई प्रभावकारीरुपमा सफल बनाउन धेरै गृहकार्यको आवश्यकता छ । त्यसै गरी, सरकारलाई सफल बनाउन पनि कार्यसम्पाद सम्झौताले महत्वपूर्ण भूमिका खेल्नेछ । अतः सरकारले लिएको सुखी नेपाली, समृद्ध नेपालको संकल्प पूरा गर्न कार्यक्रमको सफल कार्यान्वयनलाई विशेष प्राथमिकता दिन जरुरी छ ।
– प्रवेश नेपाल, रौतहट, हाल ः काठमाडौं ।

साउनमा हरियो किन ?
हुन त सकेमा साउन महिनाभरि नै व्रत बस्न सके राम्रो, नभए पनि साउने सोमबार व्रत बस्नु राम्रो मानिन्छ । साउनका प्रत्येक सोमबार भगवान् शिवको विषेश पूजा आराधना गर्ने चलन परापूर्वकालदेखि चलिआएको मान्यता छ । काठमाडौंलगायत पहाड, तराई सबै स्थानमा साउने सोमबार व्रत बस्ने चलन छ । हिन्दूलगायत सबै धर्मावलम्बीहरुले शिवपूजा गरी हरियो चुरा, पोते लगाउने गर्छन् ।

हुन त यो महिनामा धैरे वर्षा हुने भएकाले र गर्मीले गर्दा विषेश खाले किटाणुका कारण विभिन्न रोग लाग्ने सम्भावना बढी हुन्छ । त्यसैले पनि माछा, मासु, लसुन तथा जीउमा उत्तेजित हुने खाना खानुहुँदैन भनिने पनि चलन छ । साउने सोमबार देशभरिका शिवालयमा विषेश भक्तजन जाने गर्दछन् । साथै बोलबम जाने चलन पनि छ ।

नेपालको सबैभन्दा महत्वको पशुपतिनाथ मन्दिरमा विषेश भीड हुन्छ । तर त्यहाँ व्यवस्थापनमा पनि कमी भएको महसुस गर्न सकिन्छ । वृद्ध, अपांग, रोगी र बोलबम जानेहरुलाई विषेश ध्यान दिनुपर्ने देखिन्छ । साउने सोमबार विद्याका दृष्टिले पनि फलदायक मानिन्छ । महिलाले राम्रो वर पाउने, व्यापारीले राम्रो आम्दानी गर्ने, किसानको खेतीपाती सप्रने विश्वासले पनि साउनको महत्व हरेक मानिसमा उत्तिकै छ । परापूर्वकालमा सतिदेवीलाई प्रकृतिका रुपमा लिने भएकाले साउनमा हरियो रंगको बढी महत्व भएको मान्यता छ ।
– दामोदर पौडेल, त्रि.वि.शिक्षण अस्पताल, सी.एस.एस.डी.विभाग

मुख्य राजमार्गको समस्या
नारायणगढ–मुग्लिङ सडकखण्डमा साँघुरा तथा जीर्ण पुलहरू विस्थापित गरी जबसम्म सडकजत्तिकै फराकिला पुलहरू निर्माण गरिँदैन तबसम्म यो सडकले आशातीत उपलब्धि दिने अवस्था छैन । विस्तारको काम डेढ वर्षअघि सकिएको हो । दुईतर्फी सवारीसाधन गुड्न समस्या देखिएपछि साबिकको ९ मिटर सडकलाई ११ मिटर फराकिलो बनाइएको छ । तर, सडक फराकिलो बनाइए पनि साबिककै साँघुरा तथा जीर्ण पुलका कारण दुईतर्फी सवारी आवागमन सहज बन्न सकिरहेको छैन ।

सडक विस्तारको काम २४ महिनाभित्र सम्पन्न गर्ने गरी सन् २०१५ अप्रिलबाट बुरु भएको हो । करिब दोब्बर समयमा सन् २०१८ मेमा मात्रै काम सम्पन्न भयो । तर, साँघुरा तथा जीर्ण पुल विस्थापित गरी फराकिला पुलहरू कहिले निर्माण भइसक्ने हुन्, त्यसको कुनै टुंगो छैन । करिब ३२ किलोमिटर लामो उक्त सडकखण्डमा १८ वटा पुल छन् तर १४ वटा पुलको मात्रै निर्माण आरम्भ गरिएको छ । बाँकी १४ वटा पुलका लागि टेन्डर आह्वानसमेत गरिएको छैन । टेन्डर आह्वान गरेर यी १४ वटा पुल निर्माण भइसक्दासम्म सडक जीर्ण बनिसक्ने सवारीचालकहरू बताउँछन् ।

सडकको चौडाइ बढाउने काम र पुलनिर्माण गर्नेकाम सँगसँगै शुरु गर्नुपथ्र्यो । तर पुल निर्माणको काममा भने सरकार चुक्यो । राज्य संयन्त्रको नीति निर्माण तथा कार्यान्वयन तहको जिम्मेवारी लिनेहरू कति अदूरदर्शी रहेछन् ? भन्ने कुरा यो प्रकरणले छर्लंग पार्छ । सडक विस्तारसँगै पुलहरू निर्माणको काम पनि सम्पन्न गरेको भए सवारीसाधनहरू ३० मिनेटमा यो सडक पार हुन्थे तर पुल नबनेका कारण ४५ मिनेटदेखि १ घण्टा लाग्ने गरेको छ । १० हजार यातायातका साधन तथा तिनमा सवार एक लाख यात्रुको दैनिक १५ मिनेटदेखि आधा घण्टा समय खेर जानु भनेको ठूलो नोक्सानी हो ।

बजेटको अभावका कारण पुल निर्माणको काम अघि बढ्न नसकेको हो कि, भन्ने हो भने पनि त्यो अवस्था छैन । यी १४ वटा पुल निर्माणको अनुमानित लागत १ अर्ब रुपियाँभन्दा माथि छैन । यति महत्वपूर्ण सडकका लागि १ अर्ब रुपियाँ भनेको ठूलो कुरा होइन । मुख्य समस्या नीति निर्माण तथा कार्यान्वयन तहमा रहनेहरूको लापरबाही नै हो । यो सडकखण्ड विस्तारको मामिलामा शुरुदेखि नै चरम लापरबाही हुँदै आएको छ । ९० डिग्रीको भीर खोपेर बनाइएको यो सडकलाई फराकिलो बनाएर पहिरोको जोखिम निम्त्याउनुभन्दा त्रिशुली नदीको अर्को किनारबाट वैकल्पिक सडक निर्माण गरिनुपथ्र्यो । वैकल्पिक सडक निर्माण गरेर मात्रै यो सडक विस्तारको काम शुरु गरिएको भए निर्माण अवधिभर सर्वसाधारणले सास्ती बेहोर्नुपर्ने थिएन ।

वर्षायामसँगै पहिरोले अवरोध पु¥याउने गरेका कारण विकल्पका रूपमा त्रिशुली नदीको अर्को किनारबाट वैकल्पिक सडक निर्माण गर्नु जरुरी छ । साथै यो सडकखण्डको मध्यविन्दु घुमाउनेघाटबाट सीधै उत्तरतर्फ जम्मा ३२ किलोमिटर दूरीमा तनहुँ जिल्ला सदरमुकाम दमौली जोड्ने कच्ची सडक छ । त्रिशुली नदीमाथि पक्की पुल निर्माण गरी घुमाउनेघाटदेखि दमौलीसम्मको कच्ची सडकलाई ४ लेनको पक्की बनाउने हो भने भरपर्दो विकल्प बन्छ । गण्डकी प्रदेशका सबै जिल्लामा जाने सवारीसाधनले यही सडक प्रयोग गर्ने भएकोले घुमाउनेघाट–मुग्लिन सडकखण्डमा सवारीसाधनको चाप घट्छ । पहिरोले अवरोध पु¥याएको अवस्थामा काठमाडौं–नारायणगढ आवतजावत गर्ने यातायातका साधनलाई पनि भरपर्दो विकल्प तयार हुन्छ ।
– भोजराज पोख्रेल, नारायणगढ ।

प्रतिक्रिया दिनुहोस्