ट्राफिक जाम



मानव सभ्यताको पहिलो सूचक सडक मानिन्छ । पहिला सभ्यताका सूचकहरु अरु नै थिए, तर आधुनिक सभ्यताले सडकलाई प्राथमिकतामा राखेको छ । सडकमा व्यक्तिको व्यवहार सभ्य छभने उसलाई सबैले सम्मानको भावले हेर्ने मान्यताको विकास भएको छ । अन्तर्राष्ट्रिय रुपमा विकसित भएको सभ्यताको यो नयाँ मानक पछिल्ला दिनमा नेपालका सडकमा पनि लागु भएको छ । तर, राजधानी काठमाडौंमा ट्राफिक जामले आम नागरिकहरु दिक्क देखिन्छन्, सभ्यतामा प्रहार भएको अनुभूत हुन्छ । पर्यटन वर्ष मनाउन तयार सरकारका लागि सभ्यतामाथिको यो प्रहार निकै महँगो हुनेछ ।

चक्रपथभित्रका अधिकांश सडकको चोक–चोकमा ट्राफिक जाम हुने बढेको छ । बढ्दो सवारी साधनको चाप र साँघुरो सडक नै ट्राफिक जामको कारण बन्दै आएको देखिएकोमा तुलनात्मक रुपमा फराकिलो सडक मानिने क्रपथ पनि जामको शिकार भैरहेको छ । उपत्यकाभित्र मात्रै दैनिक १२ लाखको हाराहारीमा सानाठूला सवारीसाधन सञ्चालन हुने गरेका छन् ।

सडकको अवस्था भने साँघुरो र जीर्र्ण बन्दै गएको छ । भएका सडकसमेत व्यवस्थित हुन नसक्दा खाल्डाखुल्डी बढेका छन् । हरेक आर्थिक वर्षको अन्तिममा खाल्डाखुल्डी पुर्ने परम्परा कायमै छ जसको कारण काठमाडौंका सडकमा सहज रुपमा यातायात सञ्चालन गर्नसमेत कठिनाइ छ । अर्कातिर सरकारले विस्तार गर्न लागेका सडक समयमा नै निर्माण हुन सकेको छैनन् । सडकको ठाउँठाउँमा ट्राफिक लाइट नहुनु, नागरिकहरुलाई सडक वारपार गर्न पर्याप्त आकाशे पुल नहुनु पनि ट्राफिक जामको कारण बनेको छ ।

ट्राफिक जामको समस्या न्यूनीकरण गर्नको लागि काठमाडौं प्रवेश गर्ने मुख्य नाका कलङ्कीमा अन्डरपास निर्माण गरिएको छ जसको कारण त्यहाँ हुने अत्यधिक ट्राफिक जाम घटेको छ । यसबाट सरकारले पाठ सिक्दै काठमाडौंको ठाउँठाउँमा अन्डरपास बनाउन आवश्यक छ । पुल निर्माण गर्नको लागि सडक किनारामा पर्याप्त जग नभएको कारण अन्डरपास नै राम्रो विकल्प बन्नसक्छ । कलङ्की चोकको ट्राफिक व्यवस्थापन सहज भएपनि राजधानी काठमाडौं जोड्ने वैकल्पिक राजमार्गको रुपमा रहेको वीपी राजमार्ग हुँदै काठमाडौं प्रवेश गर्ने मुख्य नाका कोटेश्वरमा भने केही वर्षयता ट्राफिक जामको नमुना नै देखिन थालेको छ । सरकारले गत बर्षको बजेटमा नै सुरुङ मार्ग निर्माण गर्ने योजना अगाडि सारेपनि कार्यान्वय हुन सकेको छैन ।

तत्कालको सर्भिस ट्रयाक खोल्ने कामले पनि प्राथमिकता पाउन सकेन । वैकल्पिक रुपमा अगाडि सारिएको दुई वटा सडक निर्माणको काम पनि सुस्त बनेको छ । सरकारले नारा र घोषणा भन्दा पनि तत्काल आवश्यकता भएको स्थानमा अन्डरपास वा आकाशे पुल निर्माणको काम अगाडि बढाउन ढिला गर्नुहुँदैन । घन्टौ जाममा बस्नुपर्ने बाध्यता हटाएर सरकारले यात्रुहरुलाई सहज रुपमा आवतजावत गर्ने वातावरण सृजना गर्नुपर्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अगाडि सारेको ट्राफिक व्यवस्थापनको कामलाई सरकारले पनि प्राथमिकता दिएर अघिबढ्नु आवश्यक छ । ट्राफिक व्यवस्थापन गर्न सरोकारवाला निकायहरुले दीर्घकालीन नीति र योजनाका साथ ट्राफिक व्यवस्थापनमा लाग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्