जागिर खाएर पूरा नभएको काम अवकासपछि गर्दैछु



चित्रकुमार सुनुवार
वागमती सफाइ अभियन्ता
काठमाडौं उपत्यकाभित्र बग्ने नदी–नाला अझै सफा हुनसकेका छैनन्, तर सबैले यसमा उल्लेख्यसुधार आएको भने धेरैले महसुस गरेका छन् । केही वर्षअघिसम्म दबदबे हिलो र धाप बनाएर बसेका नदीमा अब बहाब बढेको छ । नदी किनारमा बनेका धापमा मान्छे वा वस्तुभाउ पसेमा फसेर मृत्यु हुने हदसम्मको भयावह स्थिति अब छैन ।

यद्यपि वागमतीमा अझै मानव मलमूत्र त छ तर त्यसका बहाब देखिन्छ । जब बस्तीको ढल नदीमा मिसिन रोकिने छ, तब भने यहाँका नदी साँच्चिकै स्वच्छ हुनेछन् । यस प्रकारका स्वच्छताका लागि चित्रकुमार सुनुवारजस्ता समाजसेवी अभियन्ताहरुको निरन्तरको योगदानले महत्वपूर्ण भूमिका खेलेको छ । पढौं, सुनुवारसँग नेपाल समाचारपत्रका लागि कपिल काफ्लेले लिएको अन्तरवार्ता: 

परिचयबाट सुरु गरौं, नेपाल समाचारपत्रका पाठकले यहाँलाई कसरी चिन्ने ?
म २०१५ सालमा रामेछापमा जन्मेको कृषक–पुत्र हुँ । जागिरको सिलसिलामा २०३१ सालमा काठमाडौं छिरें र नेपाली सेनामा प्रवेश गरें । २०४९ साल माघ १६ गतेसम्म नेपाली सेनामा जागिर खाएँ । पेन्सन पाकिसकेपछि स्वेच्छिक राजीनामा दिएर विदेश जाने चक्करमा लागें । विदेश जाने योजना सफल नभएपछि २०५० सालमा काठमाडौं महानगरपालिकामा जागिर खाने मौका पाएँ । वातावरण विभागमा स्यानिटेसन शाखा थियो, सुरुमै त्यहाँ खटाइयो र पब्लिक प्रशासनको जिम्मा दिइयो । सम्पूर्ण सरसफाइमा काम गर्नेहरुको रेखदेख गर्ने जिम्मा मेरो भागमा प¥यो । २२ वर्ष निरन्तर त्यही शाखामा रही सरसफाइको क्षेत्रलाई बुझ्ने, गर्ने र गराउने मौका मिल्यो । दुईतिर गरेर ४० बर्ष राज्यको सेवा गरें । अवकासपश्चात् पनि सरसफाइमा निरन्तर लागिरहेको छु र लागिरहने छु ।

बागमती सरसफाइतिर चाहिं कसरी लाग्नुभयो ?
बागमतीको सफाइ २०७० साल जेठ ५ गतेबाट थालनी भयो । म सम्बन्धित नगरपालिकामा भएको हुनाले पहिलो हप्तादेखि नै उपस्थित भएँ, रिटायर्ड भएर बसे तापनि नगरपालिकाको काम अपुरो भएजस्तो लाग्थ्यो । आफूले सोचेजस्तो भएन, सम्पूर्ण कर्मचारी आफ्नो हातमा हुँदा पनि चित्तबुझ्दो सरसफाइ गर्न सकिएन । म सधैं नदीनाला सफा र स्वच्छ हुनुपर्छ भन्ने मान्छे हुँ । अवकास पछि पनि सामाजिक कार्यमा लाग्नुपर्छ, खालि राज्यको मात्र मुख ताकेर हुदैन, फुर्सदमा भएका व्यक्तिले सामाजिक कार्यमा आफूलाई समर्पित गर्नुपर्छ भन्ने मेरो मान्यता छ । हिजो शनिबार ३ सय २५ हप्ता सकियो, यस बीचमा १० हप्ता जति म मुलुकबाहिर गएको हुनाले उपस्थित भइनँ, नत्र सुरुको हप्तादेखि नै मेरो उपस्थिति निरन्तर छ । ज्वरो आउँदासमेत आराम नगरी सरसफाइमा जुटेको छु ।

बागमती सरसफाइमा नागरिक सहभागिता कस्तो छ ? सहभागिताको प्रक्रिया बताइदिनुस् न ।
सोचेजस्तो नागरिक संलग्नता छैन । म जहिले पनि भन्नेगर्छु, यो काठमाडौंको सरसफाइकोे लागि यहाँका नागरिकहरु नै उठ्नुपर्छ । जबसम्म स्थानीय व्यक्तिहरु आउँदैनन् तबसम्म सफाइको काम पूरा गर्न सकिंदैन । बागमती सफाइमा कर्मचारीहरु आउछन् जुन उनीहरुको कर्तव्य हो । सम्बन्धित नगरपालिका, महानगरपालिकाका कर्मचारी, नेपाली सेना, सुरक्षा निकाय र विभिन्न संघ–संस्थाका व्यक्तिहरु आफ्नो अभियानको क्रममा आउँछन् तर नागरिक सहभागिता भने निकै कम छ ।

नेपालमा परिवर्तनका लागि काठमाडौंको स्थानीय जनता सडकमा आउनैपर्छ । तर वागमती सफाइमा काठमाडौं उपत्यकामा बस्ने नेवार समुदायको उपस्थिति न्यून छ । जसरी गुठी विधेयकमा उत्रियो त्यसैगरी फोहोर व्यवस्थापन, बागमती सफाइमा पनि उत्रिने हो भने राम्रो परिणाम निस्कन्थ्यो । यो काममा त नागरिकले त्यति चासो दिएको जस्तो लागेन । सवै सरकारको मुख ताकेर बसेजस्तो देखिन्छ । आम नागरिकहरुलाई सके काममा जुट्नुहोस्, नसके फोहर चाहिं नगर्नुहोस्, आफ्नो घरको फोहर व्यवस्थापन आफैं गर्नुहोस्, खोलामा र सडकमा ल्याएर फोहोर फाल्ने काम नगर्नुहोस् ।

रुद्रमती, विष्णुमती र बागमतीमा ह्युम पाइप राख्नलाई ५ अर्बको व्यवस्था गरेको छ तर सफाइ भएको छैन विभिन्न कुराले अवरोध गरेको छजस्तो सुकुमबासीलाई स्थानान्तरण गर्न सकिएको छैन, यो पनि एउटा ठूलो अवरोध भएको छ । विकास निर्माणको लागि पाँच ठाउँमा ‘ट्रिटमेन्ट प्लान्ट’ राख्ने योजना छ, यो सफल भयो भने बागमतीको पानी खानयोग्य हुन्छ ।

यस अभियानमा मेयर, उपमेयर, वडा अध्यक्षलगायत जनप्रतिनिधिहरुले कसरी सहयोग गरिरहनु भएको छ ?
साच्चै भन्नुपर्दा, काठमाडौंका मेयर अहिलेसम्म बागमती सफाइमा आउनुभएकै छैन । ११ वडा अध्यक्ष कहिले काहीं आउनुहुन्छ । ललितपुर वडा नं. १ को वडा अध्यक्षले मेरो वडा म सफा गर्छु, तपाईं अभियन्ताहरुले पहल मात्र गरिदिनुहोस् भन्नुभएको थियो, तर भनेजस्तो काम चाहिं भएको छैन । गोदावरी खोलामा पनि यसैगरी सरसफाइ भैराखेको छ ।

म त्यहाँ पनि निरन्तर पुगिराखेको हुन्छु । त्यहाँ सुरुदेखि नै उपप्रमुख मुना अधिकारी निरन्तर तीन–चार हप्ता नै आउनुभयो, प्रमुखज्यू पनि बेला–बेलामा आउनुभएको छ र वचन पनि दिनुभएको छ । तर जनतामा चेतनाको कमी हो कि के हो, एक हप्ताअघि सफा गरेको ठाउँमा दोस्रो हप्तामा नै फोहोर गरिदिन्छन् । स्थानीय सरकार अलि कडा भएर नलागेसम्म केही लाग्दैन । नियम–कानुन त छ नि, त्यसको अनुगमन कसैले गर्दैन । फोहर–मैलासम्बन्धी ऐन, २०६८ र नियमावली २०७० ले जथाभावी फोहर गर्नेलाई ५ हजार देखि १ लाखसम्म जरिवाना र तीन महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ, तर त्यसको कार्यान्वयन कतै भएको पाइँदैन ।

तपाईं वागमती सफाइमा निरन्तर सहभागी हुनुहुन्छ, तर कुन हैसियतले सहभागी भइरहनुभएको छ ?
सरसफाइ स्वयम् सेवाको रुपमा मात्रै हो, बागमतीमा कुनै दल, क्लब, संस्था छैन निरन्तर जो अभियानमा लाग्छ, त्यो अभियन्ता हो । त्यहाँ कसैको पद हुदैन । विगतमा आफ्नो संघ–संस्थामा भएका उच्च स्तरीय व्यक्तित्वहरु पनि आउनुहुन्थ्यो । अवकास प्राप्त जर्नेल, राजदूत पनि आउनुहुन्थ्यो । विभिन्न संघ–संस्थाबाट अवकास व्यक्तित्वहरु पनि आउनुहुन्थ्यो । यसको थालनी गर्नेहरु धार्मिक संघ–सस्थाहरु हुन्, यसलाई उर्जा दिने काम तत्कालीन मुख्य सचिव लीलामणि पौडेलले गर्नुभएको थियो ।

यस सफाइमा आउन प्रेरित गर्ने कुनै रणनीति पनि छ कि ? आफ्नो प्रचारका लागि पनि मान्छे आउछन् नि हैन र ?
विगतमा चलचित्र अभिनेत्री मनीषा कोइराला पनि सफाइ अभियानमा सरिक हुनुभयो । सफाइ दूतका रुपमा उहाँलाई स्वागत गरियो । कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई पनि सफाइ दूत भनियो । तर अहिले व्यस्त भएर होला, आउनुभएको छैन । भर्खर मात्र अमेरिकाको सांगीतिक टोली (ब्याण्ड) आएर स्टेज प्रोग्राम गरेर गए । यसको व्यवस्था रिभर कन्जर्भेसनका अध्यक्ष मेघ आलेले गरिदिनुभएको थियो । बेला–बेलामा यस्ता सेलिब्रिटीहरु आइरहेका छन् तर विगतको तुलनामा धेरै पातलिएको छ ।

एकातिर बागमती सरसफाइ अभियानको रुपमा गैराखेको छ, अर्को चाहिं दायाँ–बायाँ पर्खालहरु बनेका छन्, ढलहरु बिच्छ्याइएका छन्, समन्वय कसरी भइरहेको छ ?
नेपाल सरकारको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले विकास–निर्माणका काम गर्दैआएको छ । यसको कार्यालय गुह्येश्वरीमा छ । अध्यक्ष नवराज बस्नेत, आयोजना प्रमुख आशिष घिमिरे हुनुहुन्छ । उहाँहरु सरकारी बजेटबाट नै परिचालित हुने हो । बागमतीको छेउछेउमा ह्युम पाइपहरु विच्छ्याइएको छ । पानीको भोलमको आधारमा पाइपहरु राखिएका छन् । ट्रिटमेन्ट प्लान्टहरु राखिएका छन् । तर विभिन्न अवरोधका कारण कामले पूर्णता पाएको छैन । जबसम्म ह्युम पाइपहरु जोड्न सकिंदैन तबसम्म वागमती सफा हुन सक्तैन ।

तपाईको घर पनि बागमती किनारमा नै छ, चोभारगेटमा । ३ सय २४ हप्ता बागमती सफा गर्नुभयो के परिवर्तन पाउनुभयो त ?
प्रत्येक पुलको मुनि फोहरहरु थुप्रिन्थे, तर अहिले त्यो कम भएको मैले पाएको छु । ठोस फोहर जम्मा भएको देखिंदैन । तरल फोहर यथावत छ । पहिला पानी बगेको देखिदैन्थ्यो । अहिले धमिलै भएपनि पानी बगेको देख्नुहुन्छ । खोलाले कटिङ गर्ने अवस्था छैन, तर चोभार क्षेत्रमा बागमतीको बहाब क्षेत्र ८० मिटर चौडा हुनुपर्नेमा ४०–५० मिटर मात्र छ । धोबीघाट क्षेत्रमा चाइनिजहरुको सामान नहटाएको हुनाले पर्खाल बनाउन पाइएको छैन, त्यसले गर्दा ठूलो पानी पर्दा चोभारक्षेत्र खतराबाट मुक्त छैन ।

बागमतीको अन्तिम फोहर जम्मा हुने प्लान्ट कहाँ हुन्छ ?
चोभारमा अहिलेसम्मको योजनाअनुसार मल–पोखरी उपत्यकाको तल्लो भेगको अन्तिम विन्दु हुनेछ । यो ललितपुरमा पर्ने हुनाले ललितपुरका प्रमुखले यसको निर्णय दिइसक्नु भएको छ ।
तपाई सरसफाइमा समर्पित भएर लाग्नुभएको छ । सरसफाइमा लाग्दा व्यक्तिगत लाभ, मानसिक सन्तुष्टि कस्तो छ ?
मेरो व्यक्तिगत सन्तुष्टि मेरो अवकासको जिन्दगी हप्तामा मात्र २ दिन बागमती सफाइमा लाग्दा मेरो फुर्सदको समयको सदुपयोग भएको मैले अनुभव गरेको छु । म जतिसम्म सक्छु निरन्तर लागिरहने छु । मेरो सबैमा अनुरोध छ, म जस्ता फुर्सदिला धेरै जनता छन्, हप्तामा दुई घण्टा समय दिएर सबै आइदिनुहोस्, सफा गर्नुहोस्, यदि सफा गर्नुहुन्न भने फोहोर चाहिं नगरिदिनुहोस् । आफ्नो घर आँगनको फोहोर आफैं व्यवस्था गर्नुहोस् । सडक र खोलामा ल्याएर फोहर नफाल्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्