महानगरलाई विश्वसाम परिचित गराएका छु



चिरीबाब महर्जन
प्रमुुख, ललितपुर महानगरपालिका

ललितपुर महानगरको प्रमुखको हैसियतमा झण्डै २७ महिना अघिदेखि कार्यरत चिरीबाबु महर्जनले नगरको विकासका लागि दर्जनौं योजना अघि सार्नुभएको छ । विकासे संस्थाहरुमा रहेर लामो समय अनुभव सँगालेका महर्जनले बनाएका योजनाअनुसार काम भैरहेका छन् वा छैनन्, बाटो, ढल, हरियाली शहर, सम्पदा पुनर्निर्माण लगायतका क्षेत्रमा कति प्रगति भएको छ भन्ने जानकारी उहाँका मतदातालाई चाहिएको छ । प्रस्तुत छ, यीआदि विषयमा उहाँसँग नेपाल समाचारपत्रका ईश्वरराज ढकालले लिनुभएको अन्तर्वार्ताः

२७ महिनाको अवधिमा कति पटक विदेश जानुभयो ?
यो अवधिमा आठ पटक विदेश गएँ । आठ पटकमा नौ वटा देश पुगें । कोरिया, जापान यात्राको समय एकै पटक परेको थियो । त्यसैले पटक आठ, देश नौ भयो । मलाई विदेश यात्रा रहर छैन । धेरैवटा देश घुमिसकेकाले मलाई विदेश गइहालौंजस्तो लाग्दैन । नगरप्रमुख भएपछि नगरलाई उपलव्धि हुने कार्यक्रममा सहभागी हुन ती देश गएको हुँ ।

तर, तपाईंलाई धेरै विदेश जाने मेयर भन्ने आरोप पनि छ नि ?
निमन्त्रणा आएका सबै देशमा जाने हो भने त म ३ सय ६५ दिनमा तीन सय दिन त विदेशमा नै हुन्थें होला । जनवरीदेखि अहिलेसम्मको कुरा गर्दा मैले २६ वटा निमन्त्रणालाई रद्द गरें । जतिमा गएँ ती सबैमा मेरो उपस्थिति अनिवार्य थियो । मेरो अनिवार्य उपस्थिति नहुने ठाउँमा उपमेयर, वडा अध्यक्ष , कर्मचारीहरुलाई पठाएको छु । ललितपुर ऐतिहासिक नगरी भएर होला, यहाँका मेयरलाई निम्तो दिने देश बढ्दै गएका छन् । अहिले त ठूला देशले ललितपुर महानगरपालिकालाई सहयोग गर्छौं भनिरहेका छन्, निम्तो दिइरहेका छन् । तर म हचुवाको भरमा जसले बोलाएपनि निम्तो मान्न गैहाल्ने मेयर पक्कै होइन । धेरै सञ्चार माध्यमले विदेश दौडाहामा गैरहने मेयर चिरीबावु महर्जन हो भनेर आरोप लगाउने गरेका छन् तर विदेश गएपछि के ल्यायौ भनेर कसैले सोधेका छैनन् ।

साँच्चि विदेशीले तपाईंलाई किन त्यत्ति धेरै रुचाउँछन् ?
खै, त्यो त मलाई थाहा भएन । त्यो उहाँहरुलाई नै थाहा होला । तर, एउटा प्रसँग सुनाउँछु । वल्र्ड बैंकले जापानमा विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रम आयोजना गरेको थियो । त्यस कार्यक्रममा मेरो प्रस्तुति थियो । प्रस्तुति सकेपछि उनीहरुले मलाई बर्मामा हुने त्यस्तै अर्को कार्यक्रमको लागि पनि निम्ता दिए । एउटा कुरा के हो भने, म त्यस्ता कार्यक्रमहरुमा जाँदा प्रसँग र अवस्थाले गलत अर्थ नलाग्ने गरी देश र नगरपालिकाको बारेमा स्पष्ट कुरा भन्छु । लुकाउँदिनँ । नेपालको वास्तविक तस्वीर प्रस्तुत गर्छु । धेरैजसोले कुरा गर्दा ढाकछोप गर्ने गरेको पाउँछु, तर म त्यस्तो गर्दिनँ । मलाई वास्तविकता लुकाउनु हुँदैनजस्तो लाग्छ । त्यसैले मैले महानगरको विषयमा केही बोलें भने विदेशीले तत्काल मन पराउँछन् । त्यसलगत्तै विभिन्न योजनाहरु पठाउने गरेका छन् ।

त्यसो भए ‘मेयर विदेश मात्रै गए’ भन्नेलाई के भन्नुहुन्छ त ?
मेयर विदेश मात्रै गए भन्नेलाई मेरो एउटा अनुरोध छ, तपाईंहरुले कहिले काहीं मलाई विदेश गएर के ल्याउनुभयो भनेर पनि सोध्नुस् न । ललितपुर महानगरपालिकाको पैसा कति खर्च भयो भनेर सोध्नुस् । त्यस्ता प्रश्न पनि सोध्नुभयो भने मलाई न्याय हुन्छ । खालि विदेश मात्रै गयो भन्दा मलाई अन्याय हुन्छ भन्ने लाग्छ । मैले विदेश गएर आएपछि प्रत्येक भ्रमणको उपलव्धिको बारेमा जानकारी दिने गरेको छु । सबै भ्रमणमा तत्काल उपलव्धि हासिल गर्न नसकेपछि अधिकांश भ्रमण महानगरको लागि फलदायी बन्न पुगेको छ ।

तपाईं विदेश गएर नगरपालिकालाई के के उपलव्धि भए त ?
नगरपालिकालाई धेरै उपलव्धि भएको छ । कतिपय उपलव्धि देखिएका छन्, केही प्रक्रियामा छन् त केही उपलव्धि हासिल गर्न केही समय कुर्नुपर्ने अवस्था छ ।

सिटिनेटको कार्य समितिमा मैले खुल्ला प्रतिस्पर्धामा चुनाव जितें । सिटिनेटमा निर्वाचित भएपछि ललितपुर महानगरका ६ वटा स्कूलमा कम्प्युटर ल्याबको व्यवस्था गरिएको छ । समस्या समाधानका लागि रोबोटमार्फत् सिकाउन शिक्षकहरुलाई तालिम दिइएको छ । प्रत्येक वडामा विपद् व्यवस्थापनको तालिम दिइएको छ । यो तालिम लिएकाहरुको एउटा नेटवर्क नै निर्माण भएको छ । कुनै बेला विपद् भैहाले, यो नेटवर्क समस्या समाधानका लागि सहयोगी बन्नसक्छ ।

कतिपय कामहरु प्रक्रियागत कारणले समाधान भएका छैनन् । जापानमा भएको एउटा कार्यक्रममा विश्व विकास बैंकले २१ शताब्दीको दमकल दिने घोषणा ग¥यो । म त्यहाँबाट फर्कर्नुअघि नै काठमाडौं अफिसलाई चिठ्ठी लेख्यो । नेपाल सरकारसँग प्रक्रियागत झन्झटका कारण त्यो दमकल अहिलेसम्म नेपाल भित्र्याउन सकिएको छैन । यसको लागि महानगरपालिकाले निरन्तर प्रयास गरिरहेको छ । फोहोर व्यवस्थापन गर्न फिनल्याण्ड सरकारले सहयोग गर्ने वचनबद्धता जनाएको छ । तर नेपाल सरकारसँंग सो विषयमा पहिला नै सहमति भएर काम नभएपछि केही समस्या देखिएको छ । मैले फिनल्याण्ड सरकार र लगानी बोर्डसँग भएको सम्झौताको विषयमा सरकारका विभिन्न निकायसँग छलफल गरिसकेको छु । लगानी बोर्डका प्रमुखसहित उच्च अधिकारीसँग छलफल गरिसकेको छु । फिनल्याण्डले उपत्यकाको फोहोर व्यवस्थापनमा सहयोग गर्ने विषयमा गरेको हस्ताक्षरअनुसार काम भए तत्काल समस्या समाधान हुने देखेको छु ।

यहाँले नेतृत्व सम्हालेपछि महानगरले गौरव गर्ने कामहरु के के भए त ?
पोखरीहरुको संरक्षण भएको छ । पिम्बहा पुखु ः पूर्णचण्डी पुखुः लगायतका पोखरीहरु पुनर्निर्माण भएका छन् । पिम्बहा पुखुको काम त उदाहरणीय भएको छ ।

हामी निर्वाचित हुनुअघि विश्व बैंक पिम्बहा पुखुको संरक्षणका लागि काम गर्न आएको थियो । काम गर्ने वातावरण नहुँदा उनीहरुले उक्त प्रोजेक्ट फिर्ता गर्ने तयारी गरिसकेका थिए । तर, सहरको विकास चाहने साथीहरुले निर्वाचन हुँदैछ, जनप्रतिनिधि आएपछि काम गर्न सजिलो हुन्छ भनेछन्, त्ससपछि उनीहरुले नगरप्रमुखका उम्मेदवारहरुसँग छलफल गरे । त्यो छलफलमा म पनि सहभागी थिएँ, मैले उनीहरुलाई मेयर पदमा निर्वाचित भए यस प्रोजेक्टलाई सहयोग गर्ने वचन दिएको थिएँ ।

निर्वाचित भएपछि मैले सक्दो सहयोग गरें । यस प्रोजेक्टका लागि २५ लाख अमेरिकी डलर प्राप्त भएको थियो । यस रकमबाट पिम्बहा पोखरीको जीर्णोद्धार गरिएको छ । त्यस क्षेत्रमा ढुंगा छाप्ने काम गरियो । सम्पदा संरक्षणका लागि स्थानीयलाई तालिम दिइयो । विश्व बैंकले अन्य ३५ वटा देशमा पनि यस्तै परियोजनाका लागि लगानी गरेको रहेछ, ती प्रोजेक्टमध्ये नेपालको प्रोजक्टलाई राम्रो मानेर पुरस्कृतसमेत गरेको छ । त्यत्ति मात्रै होइन, यो प्राजेक्ट राम्रो भएकाले यस्तै खालको नयाँ प्रोजेक्ट महानगरलाई दिने प्रस्ताव पनि राखिएको छ ।

अर्को काम भनेको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्म शताब्दी महोत्सवको सुरुवात गरेका छौं । गएको वैशाख ३० गते बग्गीमा राखेर उहाँलाई सहर परिक्रमा गरायौं । त्यहाँ अपार जनसहभागिता भयो । उहाँको योगदानको सम्मान गर्दै उहाँको सम्मान गरेका हौं । उहाँलाई सम्मान गर्न पाउनु महानगरको गौरवको कुरा हो । खुला क्षेत्र संरक्षण गरेका छौं । खुला क्षेत्रमा घर होइन हरियाली प्रवद्र्धन गर्ने कामको शुरुवात गरेका छौं ।

जावलाखेलमा अनधिकृत रुपमा बनेका टहरा भत्काउन सफल भएका छौं । इन्जिनियरिङ अध्ययन संस्थानको मुख्यालय रहेको राणाकालीन दरकार आनन्द भवनको पर्खाल भत्काएर फलामको पर्खाल लगाउने कामको शु्रुवात गरेका छौं । ऐतिहासिक र अति सुन्दर सो भवनलाई सबैले सजिलै देख्नेगरी खुला बार लगाउन लागेका हौं । जावलाखेल फुटवल मैदानमा पनि खुला पर्खाल लगाउने योजना बनाएका छौं । विभिन्न स्थानमा आइल्याण्ड निर्माण गरेका छौं । नवदुर्गा, कार्तिक नाँचलाई व्यवस्थित गरिएको छ । जात्रा र पर्वको सुधार गरेका छौं । मतया जात्रालाई व्यवस्थित गर्न पाँच लाख रुपियाँ बजेट विनियोजन गरेका छौं । १६ किमि सडक पिच गरेका छौं । टेण्डरबाट भएका कामलाई कडाइका साथ अनुगमन गर्ने गरेका छौं ।

सार्वजनिक खरिद ऐनको संशोधनको लागि यहाँले धेरै वकालत गर्नुभयो ? किन आवश्यकता प¥यो ?
सार्वजनिक खरिद ऐनको संशोधन यहाँको सम्पदा जोगाउन र गुणस्तरीयता कायम गर्नका लागि हुनुपर्छ भनेको हुँ । सार्वजनिक खरिद ऐन, २०६३ अनुसार टेण्डर आह्वान गरी सम्पदाको पुनर्निर्माण गर्दा कम बोल कबोलकर्तालाई टेण्डर दिनुपर्ने हुन्छ । कम कबोल गर्नेको क्षमता र योग्यतामा प्रश्न गर्न सकिंदैन । ठेक्का पाउने ठेकेदारमा सम्पदा निर्माणको क्षमता नभएको हुनसक्छ । त्यसैले ऐन अन्तर्गत रहेर सम्पदा निर्माण हुनु हुदैन भनेको हुँ । आफूले गरेको वकालतमा सफल भएको मान्छु । उपलव्धि भएको छ । सरकारले पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनर्निर्माण गर्न स्वीकृति दियो । अहिले यो मन्दिरको पुनर्निर्माण तीव्र गतिमा भइरहेको छ ।

व्यापारीहरुको सहयोगमा यो मन्दिर निर्माण भएको छ । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षमा यो मन्दिर पुनर्निर्माणको लागि एक करोड रुपैयाँ छुट्याएको छ । एभरेष्ट बैंकका विकेश श्रेष्ठले व्यक्तिगत रुपमा एक करोड रुपैयाँ दिनुभयो । मन्दिर निर्माणका लागि आर्थिक सहयोग गर्नेहरु दिनप्रति दिन थपिंदै हुनुहुन्छ । यो मेरो वकालतको उपलव्धि हो ।
उद्योग वाणिज्य संघ ललितपुरका अध्यक्ष कृष्णलाल महर्जनको संयोजकतत्वमा बनेको समितिले मन्दिर पुनर्निर्माणको काम गरिरहेको छ । यसैगरी देगु तलेजुको निर्माण गर्न टेन्डर आव्हान भइसकेको थियो, टेन्डर सरकारले फिर्ता लियो । यो पनि वकालतको प्रतिफल हो । यस मन्दिरको पुनर्निर्माण अब छिट्टै उपभोक्ता समिति गठन गरेर सुरु हुन्छ ।
पटके निर्णयमार्र्फत् १० करोड सम्मको सम्पदा पुनर्निर्माणको लागि टेन्डर आव्हान गर्नु नपर्ने निर्णय सरकारले गरेको छ । सबैभन्दा महत्वपूर्ण त यो ऐन संशोधनको तयारीमा छ ।

भीमसेन मन्दिर पुनर्निर्माणको जिम्मा स्थानीयले कसरी पाए ?
पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर भूकम्पले भत्किएन । तर पूर्व उत्तर साढे तीन इन्च ढल्कियो । मन्दिरको भित्तामा ठूल्ठूलो चिरा परेको थियो । यसको तत्काल पुनर्निर्माण गर्नुपर्ने अवस्था थियो । सरकारले पुनर्निर्माणको काम थाल्ने हो भने बुङमतीको रातो मछिन्द्रनाथको जस्तै अवस्था हुने निश्चित थियो । त्यसैले, भीमसेन मन्दिरको पुनर्निर्माण स्थानीय तहबाट हुनुपर्छ भनेर त्यसको वकालत मेयरको हैसियतले मैले गरें । महानगरपालिकाले स्थानीय तहबाट पुनर्निर्माणको माग गर्दै पुरातत्व विभागसँग स्वीकृति लिन पहल ग¥यो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर लामो कुरा ग¥यौं । अमानतमा सम्पदा पुनर्निर्माणको काम हुनुपर्छ भनें । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग पनि यो विषयमा पटक–पटक छलफल गरें । प्रचलित नियम अन्तर्गत रहेर टेन्डर आह्वान ग¥यांै । टेन्डर परेकामध्ये कम बोल कबोल गर्नेलाई मन्दिर बनाउने जिम्मा दिइयो ।

तपाईंको सबै काममा प्रतिपक्षी पार्टीका जनप्रतिनिधिबाट पूर्ण सहयोग पाउनुभएको छ ?
केही छ, केही छैन । अहिलेसम्म सहयोग नपाएकै भन्न मिल्दैन । अर्कै पार्टीका वडा जनप्रतिनिधि भएकोले केही विरोध हुनु स्वाभाविक पनि हो । तर विकास, निर्माणका काममा असहयोगै भएको पनि छैन । पूर्ण रुपमा सहयोग गरेकै छन् भनेर भन्न मिल्दैन । कहिलेकाहीं विवाद हुनु स्वाभाविक नै हो । तर काम गर्ने बेलामा विरोध भएको छैन । कहिलेकाहीं एजेण्डामा विरोध भएको हुन्छ ।

काममा सन्तुष्ट हुनुहन्छ ?
किन नहुनु ! वडावासीले महानगरको विकास गर्ने मौका दिएका छन् । मौकाको सदुपयोग गर्न सदैव लागिपरेको छु । भन्नुपर्दा महानगरको विकासमा मैले गर्नसक्ने काम गरेको छुजस्तो लाग्छ । मेयर भएपछि महानगरलाई विश्वसामु परिचय दिन सफल भएको छु । महानगरको विकासमा सहयोग गर्न विभिन्न निकायलाई अनुरोध गर्नेगरेको छु । सोहीअनुसार विश्वबैंक, एसियाली विकास बैंकलगायत आधा दर्जनभन्दा बढी संस्थाले महानगरलाई सहयोग गरिरहेका छन् । यो नै मेरो सन्तुष्टिका आधार हुन् । सबैको साथ, सहयोग र सद्भावले खुलेर काम गर्ने मौका पाउनु नै मेरो सन्तुष्टि होजस्तो लाग्छ ।

प्रतिक्रिया दिनुहोस्