२ सय ८६ शिक्षक कारवाहीमा



बैतडी । समयमा सम्पत्ति विवरण नबुझाउने बैतडीका २८६ जना शिक्षक कारवाहीमा परेका छन् । आर्थिक बर्ष २०७४/७५ को सम्पत्ति विवरण नबुझाउने २८६ जना शिक्षकलाई ५ हजारका दरले जरीवाना बुझाउन शिक्षा विकास तथा समन्वय इकाइले आग्रह गरेको छ ।

विद्यालय किताबखानाको परिपत्र अनुसार सम्पत्ति विवरण नबुझाएका शिक्षकहरुलाई ५ हजार जरीवाना तिरेको रसीद शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउन आग्रह गरिएको इकाइका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिनुभयो ।

जिल्लामा रहेका प्रावि तहमा स्थायी ५१८ जना मध्ये २१८ जनाले आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् । यस्तै निमाविका १८६ जना मध्ये ३७ र माविका १६५ जना मध्ये ३१ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् ।

आर्थिक बर्ष शुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाई सक्नुपर्ने प्रावधान रही आएको भएपनि समयमा सम्पत्ति विवरण नबुझाएका शिक्षकहरुलाई जरीवाना गरिएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । गत आर्थिक बर्षको सम्पत्ति विवरण भदौ २६ गते सम्म बुझाईसक्न पनि इकाइले आग्रह गरेको छ ।

स्थायी शिक्षकहरुले विद्यालय किताबखानामा सम्पत्ति विवरण बुझाउने प्रावधान छ भने अस्थायी शिक्षकहरुले सम्बन्धित स्थानीय तहमा सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्