करातेमा ३४ खेलाडी छनोट



काठमाडौं, (नेस) ।
नेपाल कराते महासंघले १३ औं सागका लागि टिम कुमुते तर्फ पहिलो चरणमा ३४ खेलाडी छनोट गरेको छ । बिहिबार सातदोवाटोस्थित कराते कभर्डहलमा भएको पहिलो चरणमा २४ पुरुष र १० महिला खेलाडी छनोट भएका हुन् । पुरुष तर्फ लेखनाथ मैनाली, सुमन श्रेष्ठ, मुकुन्द्र महर्जन, राजेन्द्र कार्की, आशिष थापा, डिगम्बर पन्त, विजय लामा, विप्लब श्रेष्ठ, शेखर श्रेष्ठ, सुशिल पौड्याल र विरबहादुर रनेनी रहेका छन् । साग पदकधारी बिनोद शाक्य, बिनोद महर्जन र राम लिम्बु पनि छनोट हुँदै टिममा पुनरागमन भएका छन् ।

यस्तै महिला तर्फ विभुषा थापा, सुनिता महर्जन, कृपा शेर्पा, सुष्मिता वाईवा, रोजिता ढुंगेल, बिनिता श्रेष्ठ, पुजा पुलामी मगर, जिन सुब्बा र सरिता श्रेष्ठ छनोट भए । अमृता शाक्यको पनि राष्ट्रिय टिममा पुनरागमन भएको छ । करातेको टिम कुमुतेमा पुरुष तर्फ ७ र महिला तर्फ ५ खेलाडीहरुको सहभागिता रहने छ । पहिलो चरणमा पुरुष तर्फ ३५ खेलाडीमा २९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

बास्केटबल
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी प्रशिक्षणका लागि बास्केटबल टोली बिहीबार सुनसरीको धरान प्रस्थान गरेको छ । पुरुष टोली र महिला टोली कम्तीमा १ महिनासम्म धरानमै रहेर प्रशिक्षण गर्ने नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जनाएका छन् । सागमा नेपालले ५ अन ५ तथा ३ अन ३ स्पर्धामा प्रतिस्पर्धा गर्ने छ । अन्तिममा पुरुष÷महिलातर्फ ५ अन ५ मा समान १२–१२ तथा महिलामा समान ४–४ खेलाडी छनोट गरिने बास्केटबल संघले जनाएको छ । प्रशिक्षणमा ५ प्रशिक्षक संलग्न छन् ।

साग कुस्ती बन्द प्रशिक्षणमा

१३ औं साग खेलकुद प्रतियोगिताका लागि कुस्तीको बन्द प्रशिक्षण हेटौंडाको कभर्डहलमा सुरु भएको छ । नेपाल कुस्ती संघको आयोजनामा सागमा सहभागिता जनाउने खेलाडी छनौटका लागि बन्द प्रशिक्षण सुरु गरिएको हो । पहिलो चरणमा २ महिना प्रशिक्षण हुनेछ । दुई चरणमा हुने प्रशिक्षणमा महिला र पुरुष गरी ४० कुस्तीबाजले प्रशिक्षण गर्नेछन् । महिला र पुरुषका १० वटा तौल समूहमा विभाजन गरी प्रशिक्षण गराइने कुस्ती मुख्य प्रशिक्षक व्रह्मदेवप्रसाद यादबले बताउनुभयो । पहिलो चरणको बन्द प्रशिक्षणबाट प्रतिष्पर्धा गराएर प्रथम हुने खेलाडीलाई दोस्रो चरणको प्रशिक्षण प्रदान गरिने यादबले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्