डिएभी च्याम्पियन



नेपाल समाचारपत्र, काठमाडौं ।
डीएभी स्कूलले क्यानवस इन्डोर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बिहिवार भएको बिराटनगर बोडिङ स्कुल बिरुद्धको फाईनल खेल डिएभीले ७६ रनले जितेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको डिएभीले निर्धारित १० ओभरको खेलमा १ विकेट गुमाउदै १ सय ३२ रन बनायो । टोलीका लागि विस्फोटक ब्याटिङ गरेका आदित्य रोनियारले ३० बलमा ८० रनको नटआउट इनिङ खेलेका थिए । बलिङतर्फ बिराटनगरका राकेश चौधरीले २ ओभरमा ३० रन खर्चेर १ विकेट हात पारेका थिए ।

जवाफमा बिराटनगर बोर्डिङ ६.५ ओभरमै ५६ रनमा समेटिएको थियो । टोलीको निरासजनक ब्याटिङमा अशिम चौधरीले सर्वाधिक १३ रन प्रहार गरे । डिएभीका सुरज श्रेष्ठले उत्कृष्ट बलिङ गदै २ ओभरमा ७ रन खर्चेर २ विकेट लिदा रिसनमानले २ ओभरमा १५ रन खर्चेर २ विकटनै लिएका थिए । प्लयर अफ द म्याचको उपाधि आदित्यले पाए ।

प्रतियोगितामा अलराउण्ड प्रदर्शन गरेका डिएभीका रिशममान मलेखु म्यान अफ द सिरिज चुनिए । उनले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गदै ५ खेलबाट ९ विकेट लिदा ब्याटिङतर्फ ४९ रन बनाएका थिए । प्रतियोगिताको बेष्ट बलरमा वेबिलोनका इसान्त विक चुनिए । उनले ३ खेलमा ५ विकेट लिएका थिए । बेष्ट ब्याट्समानको उपाधि ओम नेश्नल स्कुलका सार्थक धितालले जिते । तीनै जना उत्कृष्ट खेलाडीलाई वाईवाई जिएचसीएले ६ महिनाका लागि निशुल्क तालिमको ब्यवस्था गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्