निर्मला प्रकरण सेलाउन सक्दैन



२०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी निर्मला पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो । पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष बितिसक्दा पनि अपराधी पक्राउ पर्न सकिरहेका छैनन् । पन्तको हत्यापछि प्रहरीको विरुद्धमा भएको प्रदर्शनमा गोली लागी एक युवकको समेत मृत्यु भएको थियो । निर्मलाको हत्यापछि एकपछि अर्को रहस्यहरु खुले पनि हत्यारा पक्राउ परेका छैनन् । गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्या प्रकरणमा राजनीति भएको अभिव्यक्ति दिँदै आएका छन् । उनले उक्त प्रकरणमा दिएका अभिव्यक्तिहरु सधैँ विवादित बन्ने गरेका छन् । पन्तको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले दुईजनालाई पक्राउ पनि गरेको थियो ।

हत्यामा संलग्न रहेकाहरुको डीएनए नमिलेपछि उनीहरु छुटेका थिए । बलात्कारपछि हत्या गरिएकी निर्मलाको प्रकरण निकै संवेदनशील बन्दै गएको छ । प्रकरण लम्बिएपछि झनै निर्मला हत्याकाण्ड रहस्यमय हुँदै गएको छ । एक वर्ष बितिसक्दा थुप्रै प्रमाणहरु सार्वजनिक हुँदै आएका छन् । पक्राउ परेका दुईमध्ये मानसिक सन्तुलन गुमाएका दिलीप विष्टप्रति फेरि शंकाको सुइ तेर्सिएको छ । निर्मला प्रकरणले फेरि नयाँ मोड लिएको छ । तसर्थ, यी घटनाहरुको सूक्ष्म तरिकाले अनुसन्धान हुन आवश्यक छ । प्रहरीले अनुसन्धानलाई तीव्र बनाएर हरेक कोणबाट प्रभावकारी ढंगमा कदम बढाउनुपर्छ । त्यसै गरी, निर्मला हत्या प्रकरणलाई निष्कर्षमा ल्याउन सबै पक्षबाट सहयोगको आवश्यकता छ । अतः ढिलै भए पनि निर्मलालाई न्याय दिन राज्य कतैबाट पनि चुक्नुहुँदैन ।
– सरस्वती पनेरु, पाल्पा ।

पोखरा विमानस्थलले ल्याउने अवसर
विकासले अवसर सृजना गर्छ । अवसरले समृद्धिको बाटो कोर्छ । पोखरा क्षेत्रीय÷अन्तर्राष्ट्रिय विमानस्थल गण्डकी प्रदेश र नेपालकै लागि अवसर बनेर आएको छ । अहिले विमास्थलको काम धमाधम भइरहेको छ । सोचेभन्दा अघि नै विमानस्थल बन्नेमा यसका पदाधिकारीहरु ढुक्क छन् । चीनको २२ अर्ब ऋण सहयोगमा पोखरा क्षेत्रीय विमानस्थल निर्माणले गति लिएको हो । त्यहीँको सरकारी स्वामित्वको कम्पनीले बितेको १८ महिनामा यसका धेरैजसो संरचना तयार पार्दै छ । सन् २०२१ को जुलाई १० तारिखका दिन निर्माण सम्पन्न हुँदा यो नेपालको हवाई उड्डयन क्षेत्रको लागि महत्वपूर्ण उपहार साबित हुनेछ ।

पोखराले हवाई मार्गबाटै अन्तर्राष्ट्रिय जगत्सँग जोडिने अवसर पाउनेछ । विमानस्थल बन्दै गर्दा मित्रराष्ट्र चीनले यहीँबाट चीनका केही शहरहरुमा उडान भर्ने अनुमति दिएको छ । यसले पोखराको आकाश फराकिलो भएको छ, पर्यटन उद्योगमा आशा पलाएको छ । चीनले एक कदम अगाडि बढेर पोखरा र गौतमबुद्ध विमानस्थलबाट हप्तामा २१ वटा उडान भर्न दिने भएको छ । यो पोखरा विमानस्थलको लागि अवसर हो । अवसरको सदुपयोग गर्ने पनि हामीले नै हो । अब नेपालमा चिनियाँ पर्यटक कसरी आकर्षित गर्ने भन्नेतर्फ हामीले ध्यान केन्द्रित गर्नुपर्ने भएको छ । चिनियाँहरुलाई सहज हुने पूर्वाधार निर्माण तथा उनीहरुसँग सहज बोलिचाली गर्न सक्ने जनशक्ति पनि तयार गर्नु छ । नत्र भने दिइएको सुविधा कागलाई बेल पाकेजस्तो हुने निश्चित छ ।

अर्कोतर्फ, नेपाली ध्वजावाहक नेपाल वायु सेवा निगम समस्यामा झेलिएको छ । ऊसँग जहाज नै छैनन् र भएका जहाजहरु पनि ग्राउन्डेड छन् । नेपाल एयरलाइन्सले अनुमतिप्राप्त गन्तव्यमा पनि उडान भर्न सकेको छ्रैन । आफूसँग विमान नै नहुने र अनुमतिप्राप्त गन्तव्यमा उडान भर्न नसक्ने हो भने विमानस्थलको उपादेयतामाथि नै प्रश्नचिह्न उठ्न सक्छ ।

पछिल्लो समय नेपालका केही विमानस्थलहरु सञ्चालनमा ल्याइए । उदाहरणको लागि बागलुङको बलेवामा विमान बस्ने र उड्ने तालिका बन्यो । नगरपालिकाले आर्थिक सहयोग दिएको यो उडान यात्रुको अभावमा रोकिन पुग्यो । भएका भौतिक पूर्वाधारहरुको उपयोग गर्न कसरी हामी चुकेका छौँ भन्ने यो गतिलो उदाहरण हो । पोखरामा अहिले मौजुदा विमानस्थल निजी हवाई कम्पनीको लागि आकर्षक गन्तव्य हो । यहाँ आउने र जाने पर्यटकहरुको संख्या बढी भएकाले नै यो निजी कम्पनीको रोजाइमा परेको हो । अब नयाँ विमानस्थल बन्दै छ । यहाँ ठूला विमान आउजाउ गर्छन् ।

विमान कम्पनीहरुले आफूलाई घाटा हुने विमानस्थलमा उडान भर्दैनन् । यस मानेमा पोखराले आफूले पाएका गन्तव्यहरुबाट कसरी बढी पर्यटक ल्याउने भन्नेबारे तयारीसँगै यो विमानस्थलबाट आफ्नै विमान कसरी चलाउने भन्ने सोच्नुपर्ने भएको छ । नत्र, पोखरामा बनेको विमानस्थलबाट विदेशीले नै नाफा लिने निश्चित छ । विदेशी विमान कम्पनीलाई आउनै नदिने भन्ने होइन तर ग्राउन्ड ह्यान्डलिङ गरेर केही आर्जन गर्नेभन्दा पनि नेपाली विमानहरुको क्षमता विस्तार अहिलेको आवश्यकता भएको छ ।

जे होस्, चीनले पोखराबाट आफ्ना शहरमा उडान भर्न दिएर नेपाल र पोखराको लागि एउटा अवसर अनि आशा प्रदान गरेको छ । पोखरा विमानस्थल सञ्चालनमा आउनुपूर्व नै अन्य गन्तव्यहरुको खोजीको जिम्मा नेपालीकै काँधमा छ । सन् २०२२ सम्म २० लाख पर्यटक ल्याउने सपना पालेको गण्डकी प्रदेश सरकारले यो दिशामा अब युद्धस्तरमा काम गर्नुपर्ने भएको छ । सबै कुरा विदेशीले गरिदिँदैनन् र हाम्रो आवश्यकता आफैंले पूरा गर्नुपर्छ, यो बह्मज्ञानबाट प्रदेश सरकार निर्देशित हुनै पर्छ ।
– सुदर्शन बास्कोटा, पर्वत, हालः कुवेत ।

बीपी राजमार्ग कहिले सुध्रने ?
बीपी राजमार्गको विभिन्न सडकखण्डमा पहिरोका कारण माटोको ढिस्कोले सडक बिग्रेको छ । राजमार्गमा थुप्रिएका माटोले गर्दा घाम लागेको बेला धुलाम्मे हुने र पानी पर्दा हिलोले यात्रा गर्न कठिन बनाएको छ । त्यसै गरी, ठाउँ–ठाउँमा पहिरो खसेपछि बीपी राजमार्गमा यात्रा गर्न डराउनुपरेको अवस्था छ । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका र सनुकोशी गाउँपालिका क्षेत्रका सडकमा धेरै क्षति पुगेको छ भने अन्य सडकखण्डमा पनि स–साना क्षति देखिएको छ । देशकै नमुना राजमार्गको अवस्था दयनीय छ ।

दिनहुँ हजारौँको संख्यामा बीपी राजमार्गमा गाडी गुड्ने गरेको छ । केही दिनअघि निरन्तर पानी पर्दा पहिरोका कारण सडक नै अवरुद्ध भएको थियो । समग्रमा, बीपी राजमार्ग दिनानुदिन असुरक्षित हुँदै गएको छ । पहिरोले राजमार्गका धेरै सडकखण्डमा क्षति पु¥याएको छ । आगामी दिनमा पनि पहिरोका कारण मानवीय र भौतिक क्षति नहोला भन्न सकिन्न । तसर्थ, राजमार्ग छेउछाउमा वृक्षरोपण तथा अन्य प्रविधिको प्रयोग गरेर राजमार्ग सुरक्षित बनाउन सम्बन्धित निकायले आवश्यक कदम चाल्न जरुरी छ ।

पहिरो नियन्त्रणका लागि कम खर्चिलो भू–संरक्षणसम्बन्धी प्रविधि अपनाउन सके ठूलो क्षतिबाट राजमार्ग जोगिनेछ । ग्याबिन जालीलगायत समुदायमा उपलब्ध स्थानीय स्रोत–साधन, सीप र प्रविधिको प्रयोग गरेर राजमार्ग जोगाउन जिम्मेवार निकाय गम्भीर हुन आवश्यक छ । त्यसै गरी, राजमार्गमा थुप्रिएका माटोको ढिस्कोको व्यवस्थापन गर्न पनि सम्बन्धित निकायले चासो देखाउन जरुरी छ । अतः बीपी राजमार्गलाई सुरक्षित र सफा बनाउन स्थानीय तहलगायत जिम्मेवार सबै निकायले बेलैमा ध्यान दिनुपर्छ ।
– भरत पाण्डे, हाल: काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्