पचास कटेपछि सरिताका तीन सन्तान



यदुप्रसाद भट्ट
सशस्त्र द्वन्द्व सकिएको डेढ दशक बितिसक्यो तर अझैसम्म पनि त्यसको घाउ पुरिएको छैन । कति अपाङ्ग भएर बाँचिरहेका छन् भने कतिको आफ्नो इहलीला समाप्त भएको छ । युद्धमा होमिएकाहरु अहिले अपाङ्ग भएर मागेर खाइरहेका छन् । युद्धताका व्यक्त गरिएका ती जोसिला भाषण पानीका फोकाझैं किन बिलाए ? जनताले परिवर्तन अनुभूति गर्न सकेनन् ।
२०२१ चैत १९ गते जन्मिएकी सरिता अर्यालले पचास कटेपछि तीन कृति प्रकाशित गरिसकेकी छन् । पहिलो सन्तानका रुपमा उनको ‘फर्केर हेर्दा’ २०५९ मा आयो भने दोस्रो कृति पुरुष २०७३ मा अनि २०७६ मा तेस्रो सन्तानका रुपमा निस्कियो ‘मेरो अपहरण’ ।

माओवादी जनयुद्ध विरामको अवधिमा २०६० सालको वैशाखमा काठमाडौंबाट यात्रा थालेर कर्णाली अञ्चलमा कालीकोटजस्तो विकट जिल्लाको गाउँको भ्रमण गरी काठमाडौं नै फर्केसम्मका यावत् वृत्तान्तको चित्ताकर्षक ढंगले वर्णन गरिएको छ– मेरो अपहरणमा । पहाडका विभिन्न क्षेत्रमा माओवादी जनयुद्धबाट परेका सकारात्मक र नकारात्मक प्रभावबारे अध्ययन गर्ने उद्देश्यले प्रेरित भएर गरिएको साताव्यापी यात्रामा संगालिएका मर्मान्तक अनुभव अनुभूतिको प्रस्तुतिका साथै पत्तै नपाइकन लेखक स्वयम् स्थानीय माओवादीबाट अपहरित भएको अत्यन्त त्रासद, रोचक र रोमाञ्चक प्रसङ्गलाई यस कृतिमा सजीव ढंगले बर्णन गरिएको छ ।

उनले भूमिकामै भनेकी छन्– डेढ दशक अगाडि हिँडेका मेरा पाइलाहरुले जहाँजहाँ टेके, जोजसलाई भेटे, उनीहरुसँगका अनुभूतिको माला उनेर यहाँहरुलाई पहिराइदिन तयार भएर उभिएकी छु । समय बितेको थाहा नहुने रहेछ । समयसँगसँगै विगतका कुराहरु झन्झन् ताजा भएर मानसपटलमा आइरहेका छन् । विगत र वर्तमानको साक्षी हुन पुगेकी मैले आफ्नो कलमलाई रोक्न सकिनँ, त्यसैले अषरको संसारमा तेस्रो कृतिको रुपमा प्रस्तुत गरेकी छु– ‘मेरो अपहरण’ ।
पूर्वी तराईमा जन्मेर हुर्केकी भए पनि कालीकोटको स्थानीय भाषाले प्रभाव पार्छ कि भन्ने चिन्ता कृति अध्ययन गरेपछि हटेको छ । भाषा सम्पादमा केही ठाउँमा गलती कमजोरी देखिए पनि लेखाइ उत्कष्ट नै मान्नुपर्छ । २ सय २२ पेजको पुस्तकको मूल्य ३ सय ५० रुपियाँ महँगो होइन । पेज साजसज्जा उत्कृष्ट छ ।

तपाईंको जन्ममिति ?
–म २१ सालको हुँ । ठ्याक्कै भन्नुपर्दा २०२१ साल चैत १९ गते हो म जन्मिएको । कतिपय महिलाले सही उमेर बताउँदैनन्, तर मेरो हकमा यो नै मेरो सही उमेर हो ।

तपाईंका तीन सन्तानको नाम भनिदिनुहोस् न ?
–मेरा तीन सन्तानमा पहिलो (२०६९) फर्केर हेर्दा, दोस्रो (२०७३) पुरुष र तेस्रो (२०७६) मेरो अपहरण हुन् ।

तपाईंको तेस्रो सन्तान फर्केर हेर्दामा कुनचाहिँ पाटो बाहिर आउन पर्छजस्तो लाग्छ ?
–अहिलेसम्म पनि द्वन्द्वले देखाएको सपना पूरा भएको छैन । सपना पूरा गर्ने बाचाको नजिक पुगोस्जस्तो लाग्छ । निदाएको जस्तै भएको छ, ननिदाओस्, ब्युँझाओस्, सपना पूरा गरोस् ।

चौथो सन्तान जन्माउने रहर लागेको छैन यहाँलाई ?
–चौथो सन्तानको रुपमा अर्को पुस्तकको तयारीमा छु । दुईवटा नियात्राको पाण्डुलिपि तयार भइसकेको छ । एउटाको नामकरण पनि गरेको छु ‘बेइजिङदेखि बैंककसम्म’ । अर्को बाँकी छ । दक्षिण भारतको सन्दर्भमा यात्रा संस्मरण लेख्दै छु । यसका साथै अर्को एउटा कथासङ्ग्रह पनि तयार भइसकेको छ ।

अबको यहाँको बाँकी योजनाहरु के के छन् ?
– अब लेखनमै जीवन बिताउने योजनामा छु । कम्तीमा पनि वर्षको एउटा पुस्तक निकाल्ने तयारी गर्दै छु । विशेष गरी आख्यान विधामै केन्द्रित हुनेछु । पुरुष र फर्केर हेर्दाले आर्थिकरुपमा प्रोत्साहन गरेन तर पनि नामका लागि मात्र भने पनि बाँकी जीवन लेखनमै बिताउने योजना छ ।

प्रतिक्रिया दिनुहोस्