नेपाली फुटबलको बिडम्बना



फिरोज राजोपाध्याय, काठमाडौं ।
फुटबलको उत्थान गर्नै हो भने देशमा सुविधा सम्पन्न रंगशाला हुनुपर्छ । अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नका लागि पनि सुविधा सम्पन्न रंगशाला आवश्यक नै छ। यदि नभएमा कस्तो हुन्छ नेपालको अहिलेको हालतले प्रष्ट्याएको छ । नेपालमा एउटै मात्र रंगशाला छ त्यो हो त्रिपुरेश्वरस्थित रहेको दशरथ रंगशाला । यो रंगशाला हाल जिर्णोदारको प्रक्रियामा रहेको छ । २०७२ सालको भुकम्पछि बनिरहेको अहिलेसम्म बन्दै छ । यसले गर्दा नेपाली फुटबल दर्शकहरुले रंगशालामा फुटबलको स्वाद नलिएको कमसेकम ५ वर्ष भएको छ ।

यसैको परिणामले गर्दा नेपालले फिफा विश्वकपको दोस्रो चरण छनोटको होम म्याच खेल्न नपाउने पनि भयो । नेपालले सेप्टेम्बर ५ मा कुवेतसँग, सेप्टेम्बर १० मा चिनिया ताइपेइसँग, १५ अक्टोबरमा जोर्डनसँग घरेलु मैदानमा खेल्नु पर्ने हो । तर दशरथ रंगशाला सो समयमा पनि हस्तान्तरण नहुने हुँदा नेपालले यी सबै खेल अवे मैदानमा खेल्नु पर्ने भएको छ । यो भनेको नेपाली फुटबलको लागि बिडम्बना हो ।

१९८६ देखि विश्वकपको छनोट चरण खेलेको नेपालले पहिलो पटक सीधै दोस्रो चरण खेल्न पाएको छ । फिफा वरियताको एसियातर्फ नेपाल शीर्ष ३५ स्थानभित्र परेकोले यो मौका आएको हो । नेपालको समूहमा कुवेत, जोर्डन, चिनिया ताइपेइ र अस्टे«लिया रहेका छन् ।

एन्फाले जनाएअनुसार दशरथ रंगशालामा नोभेम्बरमा मात्रै राष्ट्रिय खेलकुद परिषदलाई हस्तान्तरण हुनेछ । यसैले विश्वकप छनोटका होम खेलहरु त्यहाँ हुन नसक्ने भएको हो । एन्फाले हाललाई होमलाई अवे र अवेलाई होम म्याच गर्न दुइपक्षीय सम्झौता गरिसकेको पनि जनायो । नोभेम्बरका रंगशाला उपलब्ध भएपछि नेपालले आगामी वर्ष चिनिया ताइपेइ, अस्टे«लिया र जोर्डनविरुद्धका खेल दशरथ रंगशालामा खेल्ने एन्फाले विश्वास लिएको छ ।

एसियन क्षेत्रको ड्र हुँदा नेपालको प्रतिनिधित्व गरेका एन्फाका महासचिव इन्द्रमान तुलाधरले सम्बन्धीत राष्ट्रसँग छलफल भएको बताउनुभयो । तुलाधरले नेपाल समाचारपत्रलाई बताउनुभयो—फिफाले पहिल्यै शेड्युल निकालिसकेको हुन्छ । फिफाले जो जो टीम खेल्ने हो ती दुई टिमबीच दुइपक्षीय सम्झौता गर्न भन्यो । हामीले त्यही अनुसार हाम्रा प्रतिद्वन्द्वीसँग कुरा ग¥यौ । उनीहरु सकारात्मक छन् । यही अनुसार भयो भने अर्को वर्ष नेपालले दशरथ रंगशालामा तीन खेल खेल्न पाउनेछ ।

अहिले दशरथ रंगशालाको भीआईपी प्याराफिट बनिरहेको छ । अर्कोतिर प्याराफिट सबैमा छाना राख्ने काम भइसकेको छ । नोभेम्बरमा उपलब्ध भएपनि १३औं साग फुटबल डिसेम्बरमा संचालन गर्न कठिन हुने पनि एन्फाले जनाएको छ । तुलाधरले बताउनुभयो—हामीले विश्वकप छनोट चरण खेलाउने कोसिस गरेका हौं । तर रंगशाला नोभेम्बरमा मात्रै उपलब्ध हुने भनेपछि विश्वकपका खेलहरु बाहिर खेलाउन बाध्य भयो । यो समयमा रंगशाला प्राप्त भए पनि साग फुटबल (डिसेम्बरमा हुदैछ साग) पनि हुने देखिँदैन ।

नेपालमा वैकल्पिक रंगशाला नभएर पनि यस्तो हालत सिर्जना भएको हो । नेपाल सरकारले सात प्रदेश सात रंगशाला भनेर नारा लगाए पनि यो अहिलेसम्म कागजमै सीमित भइरहेको छ । नेपालगञ्ज, बुटवल, पोखरा रंगशालामा खेलाउने पनि नमिल्ने भएको महासचिव तुलाधरले बताउनुभयो । तुलाधरले भन्नुभयो—पोखरामा रंगशाला बनिरहेको अवस्था छ । बुटवलमा मिल्दैन, विराटनगर र नेपालगञ्जमा पनि खेलाउन मिल्दैन । किनभने विश्वकप खेल खेलाउन रंगशाला सुविधा सम्पन्न हुनैपर्छ ।

विश्वकपका खेल खेलाउन त्यही अनुसारको सुविधा पनि हुनुपर्छ । फिफाको नियमअनुसार कमसेकम रंगशाला निकट २ वटा पाँच तारे होटल हुनुपर्छ । जुन २ वटा टिम र अफिसियलाई सुविधाका साथ राख्न सकियोस । उनीहरुकै लागि सुविधा सम्पन्न वा लक्जरी बसको जरुरी छ । रंगशालामा खेलाडीको लागि कमसेकम ३२ जना अट्ने ड्रेसिङ रुम उपलब्ध हुनुप¥यो । मिडिया सेन्टर हुनुपर्छ । भौतिक पूर्वाधार हुनुपर्छ । नेपालमा यस्तो सुविधा सम्पन्न रंगशाला बन्ने कुरा मात्रै भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्