कलियुगमा आरती उतार्दा..



पर्यटनमन्त्री बन्न शितलनिवास, बालुवाटार, खुमलटार लगायत अन्य धेरै टारका नेकपा मठमन्दिर धाउनेहरु बुधवार दिउँसो झसङ्गै र खङ्ग्रङ्गै भए । दिनहुँजसो यस्ता शक्तिपिठ धाएर मन्दिरका मुख्य पुजारीले चाहे अनुसार आरती उतार्दा पनि मनोकामना पुरा नभएसी भक्तजन छाँगाबाट खसेझै हुनु स्वभाविकै हो ।

मठमन्दिर नधाउने र आरती उतार्नै नचाहने ताप्लेजुङे भट्टराईले फ्याट्ट मन्त्रीपद पठ्काएसी केही भक्तलाई स्लाइन समेत चढाउनुपर्ने अवस्था आएको चर्चा चुलिएको छ । समय कलियुग हो, यति बुझ्दा बुझ्दै पनि मन्दिर धाउने भगवान र पुजारीको मनोकामना पुरा गर्न मरिहत्तै गर्नेहरुलाई अरु धेरै के नै भन्न सकिन्छ र ?

भनिन्छ–राजनीतिमा बाऊले छोरालाई र छोराले बाऊलाई पनि विश्वास गर्दैनन् । तर मन्त्रीका आकांक्षी नेकपा नेताहरुले टाढाको गोरु बेचेको समेत साइनो सम्बन्ध नपर्नेहरुलाई साख्खै बाऊ र साख्खै आमा मान्दै मठ मन्दिर धाएसी यस्तै हो । अहिलेलाई भट्टराई फ्याट्ट हिरो भा’छन् । उनी हिट हिरो हुन्छन् या फ्लप त्यो आगामी दिनको अभिनय र कलाकौशलले देखाउने छ ।

भट्टराई मन्त्री भएसी मन्त्रीमण्डल पुनःगठन गर्ने, फ्लप भनिएका मन्त्रीहरुलाई किक आउट गर्ने भन्ने कुरो कुरोमै सीमित भएको आम नेपालीले अब प्रष्टै बुझ्या छन् । कुरो लुकेर लुक्दैन, फ्लप मन्त्रीहरुको जमात भएको मन्त्रीमण्डलले आगामी दिनमा ठूलो छलाङ मार्छ भनेर नसोचे भो । भट्टराई पनि फ्लप ग्याङ्मै पो पर्ने हुन् कि ?

प्रतिक्रिया दिनुहोस्