चर्चा सम्बन्ध–विच्छेदको



नेपालमा पछिल्लो समय हरेक जिल्लामा सम्बन्धविच्छेदका घटनामा वृद्धि भइरहेको छ । उमेर पुगेका युवायुवतीले आपसी समझदारीमा अदालती बिहे गर्न सक्ने कानुनी व्यवस्था छ । तर, अदालतमा सम्बन्धविच्छेदका लागि परेका निवेदनको चाङ हेर्दा वैवाहिक सम्बन्धहरु बलियो नरहेको देखिन्छ । अदालतमा सम्बन्ध विच्छेदको तथ्यांक हेर्दा एकजोडीको बिहे हुँदा आठ जोडी छुट्टिएको पाइएको छ । देशभर बर्सेनि आठ हजारको संख्यामा सम्बन्धविच्छेद हुने गरेकोमा मुलुकी संहिताको नयाँ कानुन कार्यान्वयनमा आएपश्चात् सम्बन्ध टुटाउनेहरुको संख्या बढ्दो छ ।

नयाँ कानुनले सम्बन्ध विच्छेदका लागि पुरुषले पनि सीधै अदालतमा मुद्दा हाल्न सक्ने व्यवस्था गरेपछि यही कानुनको प्रयोग गर्दै पुरुषहरु पनि अदालत धाउने क्रम बढिरहेको छ । नयाँ कानुन आउनुअघिसम्म सम्बन्ध विच्छेदका लागि श्रीमान्–पीडित महिलाले मात्र मुद्दा हाल्न पाउने व्यवस्था रहेकोमा पछिल्लो समय श्रीमती–पीडित पुरुषहरु पनि उत्तिकै अदालत धाउन थालेका छन् । अघिल्लो वर्षको बाँकी ९६ र गतवर्षमा ८४५ गरी ९४१ जनाले अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दिएका छन् । जसमा ६८५ वटा मुद्दा फस्र्योट भएको पाइएको छ । दैनिक औसत तीन जोडीले सम्बन्ध तोड्ने गरेका छन् । यही अनुपातमा हेर्ने हो भने चितवनमा वार्षिक १ हजार १४० जोडीले सम्बन्ध टुटाउने गरेको देखिन्छ ।

चितवन अदालतमा मात्रै गत आर्थिक वर्षमा ३ हजार ९२१ मुद्दा दर्ता भएकोमा २४ प्रतिशत अर्थात् ९४१ मुद्दा सम्बन्धविच्छेदको मात्र रहेको पाइएको छ । पछिल्लो समय दाम्पत्य जीवन जति कसिलो र विश्वासिलो बन्दै जानुपर्ने हो त्यसो हुन नसक्दा वैवाहिक सम्बन्ध परिवारबाट सीधै अदालतसम्म पुगेर टुंगिने गरेको छ । यसो हुनु चिन्ताको विषय हो । राजधानी काठमाडौँमा मात्रै दैनिक पाँचभन्दा बढी दाम्पत्य जीवनको अन्त्य भएको तथ्यांक छ ।

सम्बन्धहरु तोड्नका लागि गाँसिएको होइन, जोड्नका लागि हो । समाज सचेत बन्दै गइरहँदा परम्परागत पारिवारिक संरचनाहरु भने विघटनतर्फ अघि बढिरहेका छन् । हिजोआज बढ्दो शहरीकरणको प्रभावले गर्दा सामूहिक पारिवारिक संरचना संयुक्त परिवार हुँदै सूक्ष्ममा परिवर्तन हुँदै गएको छ ।

सामूहिक पारिवारिक संरचनाको बढ्दो विघटन र स्वतन्त्र जीवनशैलीको बढ्दो चाहनाले सम्बन्धहरु टुट्दै गइरहेका छन् । केही वर्षअघिसम्म अकल्पनीयजस्तो मानिने सम्बन्धविच्छेद पछिल्लो समय स्थायी नजिर नै बन्न पुगेको छ । यो सिंगो समाजकै लागि एउटा चुनौतीका रुपमा स्थापित भइसकेको छ । मुलुकमा राजनीतिक परिवर्तन भए पनि नेपाली समाजमा महिलाहरु अझै पनि आर्थिक, शैक्षिक एवम् सामाजिकरुपमा पछाडि नै रहेका छन् । विभिन्न खाले हिंसाबाट पनि उनीहरु नै प्रताडित छन् । सम्बन्धविच्छेदपश्चात् पनि महिलाहरु नै पीडित बन्ने गरेका छन् ।

नेपाली समाजमा अझै पनि एकल महिलाप्रति गरिने व्यवहार र दृष्टिकोणमा परिवर्तन आउन सकिरहेको छैन । छोरा नपाए दोस्रो विवाह गर्ने परम्परा अदृश्यरुपमा चलिरहेकै छ । समाजमा अझै पनि समतामूलक, समावेशी र सहअस्तित्वको संकट छ । सम्बन्ध टुट्नुमा एक पक्षको मात्र दोष रहेको हुँदैन, त्यसमा दुवै पक्ष जिम्मेवार हुन्छन् । समाजमा वैवाहिक जोडीको सम्बन्ध टुटे पनि नातागोतासँगको सम्बन्ध भने त्यति सजिलै टुट्दैन । त्यस कारण पनि सम्बन्धविच्छेद कुनै पनि मानेमा समाधान होइन, यो पीडादायक दुर्भाग्य नै हो ।

विवाहविच्छेद भए पनि सन्तानका कारण पूर्वदम्पतीको सम्बन्ध कुनै न कुनै रुपमा रहिआएकै हुन्छ । मानिसहरूमा धैर्य कम हुनु, बढ्दो आधुनिकता र उच्छृङ्खलतामा फस्दै जानु, आर्थिक हिनामिना, अनावश्यक दबाब, यौन दुव्र्यसन, हिंसाजस्ता अनेक कारण सम्बन्धविच्छेदका लागि जिम्मेवार मानिन्छन् । वैदेशिक रोजगारीको बढ्दोक्रम, सामाजिक सञ्जालले बढाएको दूरी, आत्मनिर्भर महिलाको संख्यात्मक वृद्धि, विश्वासमा संकटजस्ता कारण दम्पतीहरु स्वतन्त्र जीवन बिताउने निष्कर्षमा पुगिरहेका छन् । एक–अर्काको सहअस्तित्व र समझदारीबाटै दाम्पत्य जीवन कसिलो र रसिलो बन्न सक्छ । सम्बन्ध तोड्नु समाज, आफन्त, परिवार कसैका लागि पनि हितकर हुँदैन भन्नेतर्फ हरेक वैवाहिक जोडीहरुले मनन गर्नु आवश्यक देखिन्छ ।
– सुरज श्रेष्ठ, भरतपुर ।

व्यवसायीको कारण दुःख पाइयो
चितवनमा कुखुरा फार्म, औद्योगिक तथा व्यापारिक प्रतिष्ठानले व्यापार गर्ने नाममा सर्वसाधारणलाई बाधा–व्यवधान निम्त्याइरहेका छन् । चितवनको प्रतिष्ठित मानिएको अविनाश फार्म प्रालिको अटेरीपनले भरतपुर १८, गाँजीपुर, सिम्रिटाउन र भुवनबस्तीका स्थानीयले एक वर्षअघिदेखि फार्मबाट विसर्जन हुने सुलीको दुर्गन्ध र रसानका कारण पीडित बन्न पुगेका छन् । व्यापारका नाममा गाउँ समाज नै प्रभावित हुनेगरी दुर्गन्ध फैलाए पनि स्थानीय प्रशासन निरीह बन्न पुगेको छ ।

उसो त गाँजीपुरका स्थानीयले फार्मबाट निस्कने फोहोरले चार किलोमिटरसम्म दुर्गन्ध फैलाएको भन्दै एक वर्षअघि नै प्रशासनको ढोका ढकढक्याएका थिए । स्थानीयले पटकपटक फोहोर व्यवस्थापन गरेर वातावरण प्रदूषण कम गराउन आह्वान गरिरहे । तर, उनीहरुको गुनासो कहिल्यै सुनुवाइ भएन । अविनाश फार्मको मनोमानी बढेपछि वास्तविकता बुझ्नका लागि जिल्ला प्रशासन, साबिकको जिल्ला पशुसेवा कार्यालय, खाद्य निरीक्षक, पत्रकार, उपभोक्ता अधिकार संरक्षण मञ्चलगायतको अनुगमन टोली फार्म परिसर पुगेको थियो । स्थानीयले कुखुराको सुलीको गन्धले साँझ–बिहान खाना खानसमेत समस्या भएको, होमस्टेमा पाहुना बास बस्न नमान्ने परिस्थिति सिर्जना भएको गुनासो गरेका थिए ।

एउटा कुखुरा फार्मको दुर्गन्धका कारण स्थानीयले यस्तो ठाउँमा बस्नु नै दुर्भाग्य भयो, रातदिन दुर्गन्ध सहेर कति बस्ने, घर–जग्गा बेचेर अन्यन्त्र जान खोज्दा पनि बिक्दैन भन्नेजस्ता गुनासो पोख्दा पनि फार्मले फोहोर व्यवस्थापनमा ध्यान नदिनु बेइमानीको पराकाष्ठा हो । सो फार्मबाट निस्किएको दुर्गन्धले मानवबस्ती नै हटाउनुपर्ने स्थिति आएको भन्दै आक्रोशित स्थानीय बासिन्दा र महानगरसमक्ष अविनाश फार्मले गरेको लिखित सहमतिबमोजिम ६ महिनाभित्रमा फोहोरमैलाको उचित व्यवस्थापन गर्ने सहमति गरेको थियो । तर, सहमति गरेको एक वर्षसम्म पनि फार्मले अटेरी गरिरह्यो ।

प्रशासनले व्यावसायिक प्रतिष्ठा र व्यक्तित्व हेरेर लाचारी देखाउन मिल्दैन । सो फार्म एउटा मामुली किसानले सञ्चालन गरेको हुन्थ्योे भने उसको फार्म महिनौँअघि नै बन्द हुने थियो । व्यक्तिविशेष वा ठूला व्यवसायी कारबाहीको भागीदार बन्नु नपर्ने र स्थानीयवासीले वर्षौंसम्म सुली, मरेका कुखुरा र रसानको गन्ध सहन गर्नुपर्ने ? यस्तो अन्याय अझै कति समय चुपचाप सहनुपर्ने ?
दुर्गन्धले मानव र दुर्लभ वन्यजन्तुलाई समेत प्रत्यक्ष असर पु¥याउँदा स्थानीय निकाय किन मौन छ ? प्रत्यक्षरुपमा भरतपुरका १७, १८ र २६ नम्बर वडा तथा चार कि.मि. वरपर दुर्गन्ध फैलिँदा त्यसले पार्ने प्रतिकूल असरबारे फार्म सञ्चालक गम्भीर हुनैपर्छ ।
– दीपक सुवेदी, भरतपुर ।

महँगी खेप्न सकिन्न अब
केही समययता खाद्यान्न सामग्री, लत्ता कपडालगायत दैनिक उपभोग्य वस्तुहरुको मूल्य बढ्दा उपभोक्ताहरु मारमा परेका छन् । बेलाबेलामा मनपरि मूल्यवृद्धिले उपभोक्ताको ढाड सेकिने गरेको छ । उत्पादक कम्पनी, थोक व्यापारी र खुद्रा व्यापारी हुँदै उपभोक्तासम्म आइपुग्दा चर्को मूल्यको मारमा उपभोक्ता फसेका छन् । सरकारी नियमन हुन नसक्दा मूल्य आकाशिएको छ । मासुको मूल्य अहिलेसम्मकै उच्च रहेको छ ।

बर्डफ्लुका कारण किसानले थोरै कुखुरा उत्पादन गरेका कारण कुखुराको मूल्य आकाशिएको बताइएको छ । ठूला व्यापारीले बर्डफ्लुको हल्ला फैलाएर मूल्य बढाउने रणनीति अपनाएको आरोप लाग्दै आएको छ । समग्रमा, मूल्यवृद्धिका थुप्रै कारणहरु छन् ।यसको उचित अध्ययन हुन आवश्यक छ । खुद्रा व्यापारीलाई मात्र अनुगमनको दायरामा ल्याएर कार्वाही गर्ने भन्दा पनि सबै तहका व्यापारीहरुको उचित अनुगमन हुनुपर्छ । यसो हुन सक्यो भने मात्रै बजार मूल्य सन्तुलनमा आउने देखिन्छ ।

बजारमा कालोबजारीले प्रोत्साहन पाएको छ । स्थानीय तहलाई बजार अनुगमनको जिम्मेवारी दिएपनि स्थानीय तहले बजार अनुगमनलाई बेवास्ता गरिरहेको छ । अनुगमन नहुँदा कालोबजारीका कारण मूल्यवृद्धि भएको छ । समग्रमा, बजार मूल्य सन्तुलित नहुँदा उपभोक्ताहरु मारमा परेका छन् । तसर्थ, उपभोक्ताको हक–अधिकारको संरक्षण गर्दै मूल्यवृद्धिलाई नियन्त्रण गर्न जिम्मेवार निकाय गम्भीर हुनुपर्ने देखिन्छ । अतः महँगीको मारबाट उपभोक्तालाई जोगाउन सम्बन्धित पक्षले आवश्यक कदम चाल्न जरुरी छ ।
– नीलकण्ठ चुँदाली, पाल्पा ।

प्रतिक्रिया दिनुहोस्