ओझेलमा तिम्बुपोखरी



टीका बन्धन
लेकको चिप्लोबाटोमा छिनछिनमा चिप्लिनुपर्ने, जतिअघि बढ्यो उती लेकाली जुकाले सताउने अनि बासबस्ने भरपर्दो ठाउँ नभेटिएपछि तिम्बुपोखरी नपुगी फर्कने मनस्थितीमा पुगे इलाम सदरमुकाम गोलवस्तीका प्रकाश अधिकारी । एक्लै फर्कने आट नभएपछि करैले साथीहरुसँगै अघि लम्किए । तीनदिनको पैदल यात्रापछि जब उनी तिम्बुपोखरी पुगे त्यसअघिका पीडा र तनाव सबै भूले । पोखरी र आसपासको दृश्य नियालेपछि अधिकारी मात्रै होइन सो टोलीमा रहेका नौं जनाले थकान बिर्सिए ।

सुनेको र प्रत्यक्ष देखेको तिम्बुपोखरी फरक भएको बताउँदै अधिकारीले भने–‘सुने र सोचे भन्दा धेरै सुन्दर रहेछ सो ठाउँ, यात्रा केही कठिन भएपनि त्यहाँ पुगेपछि सबै थकान मेटिन्छ, अर्कै संसारमा पुगेको अनुभूत हुन्छ ।’ गत साताको यात्राको मेलोमेसो मिलाएको थियो, मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले । समुद्र सतहबाट चार हजार चार सय ८० मिटरको उचाईमा रहेको तिम्बुपोखरी पूर्वको गोसाईगुण्डका रुपमा समेत चिनिन्छ । नेपालको नक्सा आकारमा फैलिएको पोखरीले ६० रोपनी भन्दा बढी क्षेत्रफल ओगटेको अनुमान गरिएको छ ।


सो गन्तव्य पाँचथर र ताप्लेजुङको सीमा क्षेत्रमा छ । सो क्षेत्रको पदयात्राका लागि वर्षा शुरु भएपछि र हिउँदयाम शुरु हुनु अगावैको मौसम उपयुक्त मानिन्छ । पाँचथरको याङ्वरक गाउँपालिका–२ र ताप्लेजुङको सिदिम्वा गाउँपालिका–१ को सीमामा अवस्थित तिम्बुपोखरी पर्यटकीय र धार्मिकदृष्टिले महत्वपूर्ण गन्तव्यका रुपमा चिनिएको छ । तिम्मुपोखरीमा भगवानको बास रहेको विश्वास गरिन्छ, त्यसैले यो मौसममा भागल गर्ने र भाकल पुरा भएपछि दर्शन गर्न जानेहरु निकै हुन्छन् ।

मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक खण्डको गणेश चोकबाट तिम्बुपोखरी जाने बाटो छुटिन्छ । गणेश चोकबाट करिव तीनघन्टाको दुरीमा रहेको बेतैनीसम्म मोटर साइकल र अन्य सवारी चलेपनि त्यहाँबाट भने पैदलयात्रा शुरु गर्नुपर्ने हुन्छ । बेतैनीबाट करिव तीनदिनको पैदल यात्रापछि मात्रै तिम्बुपोखरी पुग्न सकिने स्थानीय बताउँछन् । पदमार्गमा बस्ती नभएकाले चौरी गोठमा आश्रय लिनु पर्ने र आफूले लिएर गएको चामल, सातु र अन्य खाद्यान्न गोठालाहरुसँग सहकार्य गर्नुपर्ने बाध्यता रहेको अधिकारीले बताए ।

पाँचथरको गणेशचोकबाट थर्पु, ओयाम, फलैंचा, च्याङथापुको बेतैनी र ताप्लेजुङको कालीखोला, थामडाँडा, देउराली र माबु जस्ता भेग छिचोल्दै सो गन्तव्य पुग्न सकिन्छ । तिम्बुपोखरी र आसपासका भेगमा माइकोपिला, शर्मागुरु, पाँचऔले, पदमचाल, कुढकी बिखुब्मा जस्ता जडिबुटी प्रशस्तै भेटिन्छन् । सो भेग दर्जनौ जडीबुटी र जैविक विविधताको भण्डार मानिएपनि यसबारेमा विस्तृत अध्ययन अनुसन्धान नभएको समितिका कार्यकारी निर्देशक केशव द्यौराली बताउँछन् । यो मौसममा पदमचाल प्रशस्तै फुलेको देखिन्छ, पदमचालको दृश्य देख्दा पोखरीलाई सुरक्षाकर्मीले सेन्ट्री दिएझै लाग्छ, उनी भन्छन्–‘अन्य बहुमूल्य बनस्पतिबारे अध्ययन अनुसन्धान भएको छैन ।’


तिम्बुपोखरी आसपासमा हाडी पोखरी राम–लक्ष्मण पोखरी, लक्ष्मीपोखरी, मयुरपोखरी, दुध पोखरी जस्ता अन्य पोखरी भएपनि तिम्बुपोखरीको आर्कषण बेग्लै भएको द्यौरालीको भनाई छ । मौसम खुलेको समयमा कञ्चनजंगा सहित अन्य हिमश्रृंखला प्रष्टै नियाल्न सकिने र यात्राका क्रममा हिमाली जनजिवनसँग प्रत्यक्ष साक्षात्कार गर्न सकिने भएकाले सो क्षेत्र आगामी दिनमा बाह्य पर्यटकको रोचाईमा पर्यटनकर्मीको ठहर छ । तिम्बुपोखरीबाट एक दिन एक विहानको यात्रा पश्चात कञ्चनजंगा आधार शिविर पुग्न सकिने बताइएको छ ।

सरकारले गत वर्ष सार्वजनिक गरेको एक सय नयाँ पर्यटकीय गन्तव्यमा तिम्बुपोखरी समेत समेटिएको छ । त्यसपश्चात ताप्लेजुङको सिदिम्वा गाउँपालिकाले गत आर्थिक वर्षमा गाउँपालिकाले पोखरीमा मन्दिर निर्माण गरेको छ, सोही गाउँपालिकाको पहलमा पर्यटकलाई लक्षित गरी शौचालय र आराम गर्ने ‘हिलस्टेसन’ पनि तयार भएको छ । बाटोमा ढुंगा विच्छ्याउने र अन्य मर्मत सम्भारका कार्य पनि शुरु भएका छन् ।

सो क्षेत्र भारतीय धार्मिक पर्यटकको समेत रोजाईको गन्तव्य भएपनि पूर्वाधारको अभाव रहेको द्यौराली बताउँछन् । ‘स्थानीयले बताए अनुसार सिक्किमको देन्तामबाट एक दिनको पैदलदुरीमा तिम्बुपोखरी आउन सकिन्छ, बास बस्ने आधारभूत पूर्वाधार विकास गरिएको खण्डमा सोही रुट हुँदै भारतीय पर्यटक भित्र्याउन सकिन्छ’–उनले भने । पदमार्गमा हिलस्टेसन निर्माण गर्ने र पदमार्गको स्तरउन्नती गर्नेबारेमा सिदिम्वा गाउँपालिका र समिति वीच यही साता सहमति भएको छ ।


तस्वीर सौजन्य: मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति ।

प्रतिक्रिया दिनुहोस्