हवाई सेवा सम्झौता र अवसर



विनोद नेपाल
नेपाल र चीनबीच हवाई सेवा सम्झौता पुनरवलोकन भएको छ । दुई देशका प्रतिनिधिबीच गत हप्ता चीनको बेइजिङमा सम्पन्न बैठकले सम्झौता पुनरवलोकन गरेको हो । सम्झौताअनुसार नेपाल र चीनबीच यसअघिको व्यवस्थाभन्दा हप्तामा २८ वटा उडान थप गरी ९८ वटा पु¥याउने सहमति भएको छ । यसअघि सातामा ७० उडान गर्न सक्ने व्यवस्था थियो । थप भएका २८ उडान भने चिनियाँ हवाई सेवाप्रदायकले काठमाडौंबाहिरका विमानस्थलमा उडान गर्नुपर्ने सहमति भएको छ । सम्झौताबाट नेपाली हवाई सेवाप्रदायकले उडान गर्न सक्ने चिनियाँ विमानस्थलको सख्ंया पनि बढेको छ ।

अब चीनका १५ वटा विमानस्थलमा नेपालबाट उडान हुन सक्नेछ । यसअघि सातवटा विमानस्थलमा मात्र उडान गर्न पाउने व्यवस्था रहेकोमा आठवटा थपिएका हन् । चिनियाँ हवाई सेवाप्रदायकले नेपालमा नियमित उडान गर्दै आएको भए पनि नेपालबाट चीनमा नियमित उडान भइरहेको छैन । यसै गरी नेपाल वायुसेवा निगमलाई ग्वाङजाउ र हिमालय एयरलाइन्सलाई बेइजिङ उडाउनका लागि सहजीकरण गर्न सघाउने बचन दिएको पनि जनाइएको छ ।
बेइजिङमा दुई दिनसम्म चलेको नेपाल–चीन हवाई सेवा सम्झौता पुनरवलोकन बैठकपछि साउन १० गते समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार गन्तव्यसमेत नेपालले आफैं छान्ने अधिकार पाएको छ । स्मरणीय छ, सन् २००७ अघि निगमले संघाई हुँदै जापानको ओसाकासम्म बोइङ ७५७ बाट उडान गर्ने गथ्र्यो । हालै सम्पन्न सम्झौताअनुसार चीनले नेपालका दुईवटा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा साप्ताहिक २१ वटा उडान गर्ने गरी सहमति भएको छ । सम्झौताअनुसार अन्तर्राष्ट्रिय उडान अनुमति पाएका नेपाली वायु सेवा कम्पनीले १५ वटा चिनियाँ गन्तव्यमा उडान गर्न पाउनेछन् ।

वायु सेवा निगम, हिमालय एयर र बुद्ध एयर अन्तर्राष्ट्रिय उडान इजाजतपत्र प्राप्त नेपाली वायु सेवा हुन् । हाल चीनबाट चाइना साउदर्न, चाइना इस्टर्न, एयर चाइना, सिचुवान एयरलाइन्स र तिब्बत एयरलाइन्स तथा हङकङबाट ड्रयागन एयरसमेत गरी छवटा एयरलाइन्सले काठमाडांैका लागि उडान भर्दै आएका छन् । सबैभन्दा धेरै उडान गर्नेमा चाइना साउदर्न हो । यसले ग्वाङझाउ–काठमाडौं सातामा २१ उडान गर्छ । हाल चिनियाँ विमानहरुले कुनमिङ, छेन्दु, ल्हासा आदि गन्तव्यबाट उडान भर्दै आएका छन् । स्मरणीय छ, नेपाल र चीनबीच ०५५ सालमा पहिलोपटक हवाई सम्झौता भएको थियो । सो सम्झौता २०७१ सालमा पुनरवलोकन भएको थियो ।

चीनले विमान पहुँचको सुविधा विस्तार गर्नु नेपालका लागि यो एउटा अवसर हो । खासगरी विशाल मुलुक चीन जसको जनसंख्या विश्वमै सबैभन्दा बढी छ, त्यहाँका नागरिकलाई नेपाल ल्याउन सहज हुने र यसबाट मुलुकको पर्यटन क्षेत्रले राम्रो लाभ लिन सक्ने अपेक्षा गर्न सकिन्छ । तर विडम्बना के छ भने, हामीले अवसर पाएर पनि त्यसबाट लाभ लिन चुक्ने गरेका छौं । पहिले पाएका गन्तव्यमै हामीले उडान भर्न सकेनौं । अहिले पाएका अवसरबाट पनि हामीले लाभ लिन सकौंला भन्नेमा ढुक्क हुने अवस्था छैन । किनकि सरकारी वायु सेवा नेपाल वायु सेवा निगमको अवस्था बेहाल छ । व्यवस्थापकीय कमजोरीका कारण यसो भएको हो । आर्थिकरुपमा झन्डै–झन्डै टाट पल्टेको अवस्थामा रहेको निगमले आफूले खरिद गरेका ठूला जहाजको किस्ता भुक्तानी गर्न नै सकेको छैन । कुनै समय निगमसँग जहाज थिएनन्, अहिले जहाज हुँदा पनि उडान भर्न नसकेर जहाज थन्किरहेका वा छोटो रुटमा उडेर पुराना भइरहेका छन् ।

चीनका गन्तव्यहरुको हकमा हामीकहाँबाट खासगरी रोजगारी तथा पर्यटनका गन्तव्य भारत, मलेसिया, कोरिया, थाइल्यान्ड, सिंगापुर, हङकङ आदितर्फ उड्नेको संख्या धेरै भए पनि चीनतर्फ जाने यात्रुको संख्या नहुँदा पनि उडान अनुमतिबाट हामीले ठूलै लाभ लिन सक्छौं भन्ने अवस्था छैन । यस्तो अवस्थामा अनुमति प्राप्त हुनु ठूलो कुरा भएन, धेरै हौसिनुपर्ने अवस्था पनि भएन, कुन–कुन गन्तव्यमा कति उडान गर्न सम्भव होला ? हामीले कति लाभ लिन सकौंला भन्ने कुराको हिसाबकिताब र आँकलन अबको आवश्यकता हो । यताबाट उता जाने यात्रुको संख्या निकै कम हुने भएकाले हामीले दोहोरो सेवाका लागि चिनियाँहरुलाई नेपालमा आकर्षित गर्नेतर्फ ध्यान दिनुपर्छ ।

विश्वको एक पर्यटकीय गन्तव्यको रुपमा परिचित हामी विश्वकै सर्वाधिक जनसंख्या भएका दुई मुलुकको बीचमा अवस्थित छौं । यो हाम्रो लागि अवसर हो । हामीले भारत र चीनबाट त्यहाँको जनसंख्याको सानो हिस्सालाई मात्रै पनि पर्यटकको रुपमा नेपालमा आकर्षित गर्न सक्यौं भने त्यसबाट एकातिर हाम्रा हवाई सेवाले लाभ लिन सक्ने अवस्था हुन्छ भने अर्कोतर्फ पर्यटन क्षेत्रमा पनि उत्साहको सञ्चार हुन्छ । तर हामीले सो अनुरुप प्रवद्र्धनको प्रयास नै गरेका छैनौं । हामी बीच धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्ध पनि छ । यसैले पनि पर्यटन प्रवद्र्धन र आवतजावत बढाउन सहज छ ।

भारतको हकमा खुला सिमानाको कारण स्थलमार्गबाट पनि आउन सहज छ । तर चीनको हकमा त्यस्तो अवस्था नहुँदा हामीले अपेक्षा गरेअनुसारको संख्यामा पर्यटक भित्र्याउन सकिरहेका छैनौं । यस सन्दर्भमा अबको काम भनेको पर्यटक सम्भावित क्षेत्रहरुका विमानस्थलसम्म पहुँच पु¥याउनेतर्फ हाम्रो प्रयास आवश्यक छ । गन्तव्य चयनमा धेरै कुरा हेर्नुपर्छ । स्मरणीय छ, नेपाली वायु सेवाले हाल भारतको मुम्बई, बैंगलोर, नयाँ दिल्ली, वाराणसीसमेतका गन्तव्यमा उडान भरिरहेका छन् भने चीनतर्फ नियमित उडान छैन ।

उता तिब्बतको निर्माणाधीन गुन्सा विमानस्थल प्रयोग गर्न दिन चीन सकारात्मक भएको बताइएको छ । नेपालले यो विमानस्थल प्रयोग गर्न दिन चीनसँग अनुरोध गरे पनि चीनले हालसम्म चासो राखेको थिएन । यो मानसरोवर यात्राका लागि नजिक पर्ने विमानस्थल हो । हिन्दू र बौद्ध धर्मावलम्बीले साझा तीर्थस्थलका रुपमा लिने मानसरोवर आकर्षक धार्मिक तथा पर्यटकीय गन्तव्य हो । नेपालले कैलाश क्षेत्रमा नेपाली विमान उडाउन र आवश्यक परेमा गुन्सामा अवतरण गराउन अनुमति मागेको हो । चीनले सो विमानस्थल हाल अन्तर्राष्ट्रिय हुने गरी स्तरोन्नति भइरहेको र सन् २०२१ सम्म तयार हुने बताएको छ ।

चीनसँगको सम्झौताले हामीलाई अवश्य अवसर प्राप्त भएको छ । तर हाम्रो वायु सेवाको व्यवस्थापनले सेवाको शैलीमा पनि सुधार गर्नु आवश्यक छ । किनकि चिनियाँ वायु सेवा जसले हाल काठमाडौं उडान गरिरहेका छन्, ती भन्दा भरपर्दो र विश्वसनीय एवं सुरक्षित नभई हामीले चिनियाँ यात्रु ओसार्न पाउने छैनौं ।

चीनसँगको सम्झौताले हामीलाई अवश्य अवसर प्राप्त भएको छ । तर हाम्रो वायु सेवाको व्यवस्थापनले सेवाको शैलीमा पनि सुधार गर्नु आवश्यक छ । किनकि चिनियाँ वायु सेवा जसले हाल काठमाडौं उडान गरिरहेका छन्, ती भन्दा भरपर्दो र विश्वसनीय एवं सुरक्षित नभई हामीले चिनियाँ यात्रु ओसार्न पाउने छैनौं । हाल तेस्रो मुलुकमा उडान गर्ने नेपाली वायु सेवामा हिमालय एयर र नेपाल वायु सेवा मात्र हुन् । हिमालय एयरमा चिनियाँ लगानी रहेको छ ।

त्यसैले उसलाई चीनका गन्तव्यमा उडान भर्न सहज हुन सक्छ । तर नेपाल वायु सेवा निगमका लागि त्यति सहज छैन । यस सन्दर्भमा गन्तव्य पाएकोमा ठूलै उपलब्धि हासिल भएको ठान्ने मात्र होइन कि सम्बन्धित निकायहरुले पर्यटन प्रवद्र्धनका क्षेत्रमा पनि सक्रियता बढाउनुपर्छ । सम्भावित क्षेत्रबाट उडान प्रारम्भ गर्नुपर्छ । यात्रुलाई विश्वासमा लिन सक्नुपर्छ । सुरक्षित र नियमित सेवा दिनेतर्फ सजग रहनुपर्छ । नेपाल वायु सेवा निगमका लागि त यो अवसर नै हो । अस्तित्वको लडाइँमा रहेको र गन्तव्य नपाएको निगमले प्रतिस्पर्धी क्षमता वृद्धि गर्दै नयाँ ढंगमा आफूलाई अगाडि बढाउन सकेमा राम्रो लाभ लिन सक्ने तथा त्यतिखेर मात्र यो सम्झौताको अर्थ र औचित्य रहनेछ ।

नेपाल वायु सेवाका वाइडबडी जहाज यत्तिकै थन्किए जस्तो अवस्थामा छन् । तिनले जापानको उडान भर्ने योजना त बनेको छ तर असार १९ मै सेवा प्रारम्भ गर्ने भनिएकोमा सारेर भदौ १२ पु¥याए पनि टिकट बिक्रीको पछिल्लो स्थितिको तथ्यांक हेर्दा त्यो उडान पनि के हुने हो भन्न सकिने अवस्था छैन । एकपटक उडेर पनि उडान स्थगित गरेको हुँदा नेपाल वायु सेवाको विश्वसनीयता अझै आशंकाकै घेरामा छ । यसैले नेपाल वायु सेवाभन्दा यात्रुका लागि अन्य नै भर पर्दा र विश्वासिला लाग्नु स्वाभाविक हो । बजारमा एकपटक गुमेको विश्वास फिर्ता गर्न बडो कठिन हुन्छ । यसका लागि आक्रामक प्रयास गर्नुपर्ने हुन्छ । तर वायु सेवाले त्यस खालको प्रयास गरेको छैन । उता आइकाओ र युरोपेली युनियनको सुरक्षा चासोका कारण पनि वायु सेवाको विश्वसनीयता प्रभावित भएको सन्दर्भमा त्यसलाई फुकुवा गर्न आवश्यक पहल आवश्यक छ ।

हामी हवाई सेवा विस्तारमा लागेका छौं । हाल एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल रहेकोमा त्यो साँघुरो भएकाले अन्य विकल्पमा गएका छौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरामा निर्माणाधीन अर्को क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका काम अघि बढेका छन् । भैरहवाको विमानस्थलका त धेरै काम सम्पन्न भइसकेका र सन् २०२० को प्रारम्भमै सञ्चालनमा आउने सम्भावना पनि छ । यस सन्दर्भमा हामीले हवाई सेवाबाट धेरै लाभ लिन सक्ने अवस्था छ ।

नेपाल आउने पर्यटकहरुलाई हाम्रै विमानमार्फत ल्याउन हाम्रा वायु सेवाको विश्वसनीयता अभिवृद्धि गर्नुपर्छ । व्यावसायिकताविना त्यो सम्भव छैन । यसैले सर्वप्रथम व्यवस्थापन चुस्त हुनुपर्छ । तिनको कमी–कमजोरी सुधार हुनुपर्छ, खासगरी सरकारी स्वामित्वको नेपाल वायु सेवाको हकमा व्यावसायिकतासँगै जवाफदेहिता र जिम्मेवारीबोधको आवश्यकता छ । यस्ता पक्षमा सुधार गर्न केही प्रयास गरेमा सन् २०२० मा भ्रमण वर्ष मनाउने र २० लाख पर्यटक भित्र्याउने हाम्रो योजना सफल हुन सहज हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्