भूकम्पको पीडाः जोखिमपूर्ण घरमै दैनिकी



मोतीराम तिमल्सिना, काभ्रे ।
नमोबुद्ध नगरपालिका वडा नम्वर ३ मेथिन्कोट भेडाबारी श्यामकृष्ण विश्वकर्माको पुरानो घर भुकम्पका कारण जोखिममा छ । भुकम्प पछि उनी लाभग्राहिको सूचीमा पनि परे । भर्खरै नयाँ घर निर्माण पनि गरेका छन् । तर उनको परिवार नयाँ घरमा बस्दैन । भुकम्पबाट क्षतविक्षत भएका घरमै उनको दैनीकी वितिरहेको छ ।

श्यामकृष्ण विश्वकर्मा एक उदाहरण मात्रै हुन् । पाँचखाल नगरपालिका ९ शिरिसघारीमा पनि त्यस्तै जोखिमयुक्त घर छन् । जिल्लाका अधिकांश स्थानमा जोखिम घरले सर्वसाधारण संकटमा छन् । नयाँ घर निर्माण भईसक्दा पनि पुराना घर नछोड्दा सर्वसाधारणहरु जोखिममा परेका हुन् । पुरानो घर भत्काउन र जोखिमपूर्ण घरमा नबस्न पटक पटक अनुरोध गरे पनि सर्वसाधारणहरुले अटेर गरेको पुर्ननिर्माण प्राधिकरणको भनाई छ ।

स्थानीय सरकार मार्फत जोखिमपूर्ण घर तत्काल हटाउन र त्यस्तो अवस्थामा स्थानीय सरकारले समेत सहयोग गर्न जिल्ला स्तरीय समितिबाट अनुरोध भए पनि न स्थानीय सरकारले चासो दिएको न स्थानीयले नै । असार अन्तिममा परेको अविरल वर्षातले जोखिमयुक्त घरमै बसेका तीनजनाको निधन भएको छ । नालामा पहिरोले जोखिमपूर्ण घर पुरेको थियो भने भिमखोरीमा टहरा पुरिएको थियो ।

जनगणना २०६८ अनुसार काभ्रेपलाञ्चोक जिल्लामा ६८ हजार घर धुरी भएकोमा २०७२ सालको भुकम्प पछि अनुदानका लागि घर धुरी लेखाउनेहरुको संख्या १ लाख ३ हजार ४ सय ५ पुगेको छ ।

सूचीमा थपिदै र हट्दै
भुकम्पको लाभग्राही सूचीमा परेर पनि सम्झौता नगर्ने भुकम्प पीडितहरुलाई सूचीबाट हटाउने निर्णय कार्यान्वयन भएको छैन । असार मसान्तसम्म सम्झौता नगर्ने लाभग्राहिहरुलाई सूचीबाट हटाउने निर्णय भएको थियो । प्राधिकरणले सस्पेण्डमा राख्ने निर्णय भए पनि जिल्लामा परिपत्र गरेको छैन । अन्तिम पटक गरिएको सर्बेक्षणबाट भने लाभग्राहिरुको संख्या थपिने भएको छ ।

६८ हजार घर धुरी भएको काभ्रेपलाञ्चोक जिल्लामा ९८ हजार १९ जनाले घर भएको भन्दै सर्वेक्षण गराएका छन् । पछिल्लो पटक ५ हजार ३ सय ८६ जनाको सर्बेक्षण भएको छ । १ लाख ३ हजार ४ सय ५ जना भुकम्प पीडितको सर्बेक्षण भएको छ । पहिचान भएका ८३ हजार ३ सय ६५ लाभग्राहि मध्ये ७५ हजार ६ सय ९१ लाभग्राहिले मात्रै असार मसान्तसम्म सम्झौता गरेका छन् ।

सम्झौता नगर्ने ७ हजार ५ सय ७४ भुकम्प पीडितलाई लाभग्राहिबाट हटाउन आलटाल भईरहेको छ । पटक पटक सूचना जारी गर्दा समेत लाभग्राहिमा परेकाहरुले सम्झौता गरेका छैनन । ति मध्ये केहिले प्राविधिक कारण सम्झौता गर्न सकेका छैनन । अधिकांश अन्य स्थानमा घर भएका लाभग्राहि हुन् । पहिलो किस्ता लिएर घर नबनाउनेहरुमा पनि त्यहि अवस्था भएको राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाईले जानकारी दिएको छ ।

पहिलो किस्ता लिने ७५ हजार ७ सय ९१ मध्ये ५४ हजार ४ सय ३८ जनाले मात्रै दोश्रो किस्ता लिएका छन् । २१ हजार ३ सय ५३ जनाले पहिलो किस्ता लिएर पनि निर्माण कार्य शुरु गरेका छैनन । दोश्रो किस्ता लिएर घर नबनाउने लाभग्राहिहरु पनि धेरै छन् । १३ हजार ५ सय २० जनाले दोश्रो किस्ता प्राप्त गरेर पनि घर निर्माण शुरु गरेका छैनन । ५४ हजार ४ सय ३८ जनाले दोश्रो किस्ता प्राप्त गरेका छन् भने ४० हजार ९ सय १८ जनाले तेश्रो किस्ता लिएका छन् । सम्झौता गरेर पहिलो किस्ता लिने ४७ जनाले रकम फिर्ता गरेका छन् । भुकम्प पछिको पुर्ननिर्माणका लागि लाभग्राहि सूचीमा नपरेका २५ हजार १ सय १७ जनाले गुनासो भरेका थिए । ति मध्ये २१ हजार ५ सय ३८ जनाको गुनासो फछर्याैट भएको छ । २४ हजार ८ सय ४९ जनाको गुनासो पुनरावलोकन गरिएको छ । नेपाल सरकार र केहि एनजिओ मार्फत लाभग्राहिहरुलाई रकम उपलब्ध गराईएको थियो ।

०७५ कार्तिक मसान्तसम्म प्रथम किस्ता लिई दोश्रो किस्ता २०७६ कार्तिक मसान्त भित्र सम्म लिईसक्न स्थानीय तहलाई जानकारी गराउने र उक्त समयावधी भित्र नलिएमा लाभग्राहि सूचीबाट हटाउने अर्काे निर्णय जिल्ला आयोजना कार्यान्वयन इकाईले गरेको छ । भूमिहिन लाभग्राहिका विषयमा नेपाल सरकारले गरेको निर्णय अनुसार लाभग्राहिको सूचीमा परेका भूमिहिन भुकम्प पीडितहरुले स्थानान्तरण हुन नचाहेमा परम्परादेखी भोग गर्दै आएको साविकको घडेरी जग्गामा नै नीजि आवास पुर्ननिर्माण गर्न चाहेको अवसरमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको काम कारवाहीमा समन्वय गर्न गठित जिल्ला समन्वय समितिको बैठकले ६४ जना भूमिहिन लाभग्राहिहरुलाई साविककै स्थानमा पुर्ननिर्माण गर्न दिने निर्णय गरेको थियो । समितिले २०७६ आषाढ मसान्तसम्म पहिलो किस्ता लिन अनुरोध गरेको थियो । उक्त समयावधीमा नलिएमा लाभग्राहि सूचीबाट हटाउने निर्णय गरेको थियो ।

२०७६ फागुन मसान्त भित्र घर निर्माण सम्पन्न गरी तेश्रो किस्ता लिई सक्नु पर्ने गरी स्थानीय तहलाई जानकारी गराउने र त्यो समयावधी भित्र घर निर्माण सम्पन्न नभएमा लाभग्राहि सूचीबाट हटाउन राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

लाभग्राहिबाट प्रवलिकरण र प्रवलिकरणबाट लाभग्राहिमा परिवर्तन गर्न चाहनेहरुलाई असोज मसान्तसम्मको समयावधी दिईएको छ । पूर्ण क्षतिमा लाभग्राहि भई घर निर्माण गरेको तर पुरानो घरमै बसिरहेकाहरुले जोखिमयुक्त घर तत्काल भत्काउन लगाउन स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ । जोखिमयुक्त घर पहिरोले पुरिँदा जिल्लामा तीन जनाले ज्यान गुमाएका छन् ।

लाभग्राही हुन पुनः सर्बेक्षण
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अन्तिम पटक भुकम्पबाट पीडितहरु लाभग्राहि हुनबाट छुटेकाहरुको सर्बेक्षण गर्न परिचालन गरिएका इन्जिनियरहरुले जिल्लाको १३ तहमा सर्बेक्षण गरी ५ हजार ३ सय ८६ जना थप गरेका छन् । मण्डन देउपुर नगरपालिकामा सय ७४, पनौती नगरपालिकामा ८ सय ५७, रोशी गाउँपालिका ७ सय ३, नमोबुद्ध नगरपालिका ४ सय ८६, धुलिखेल नगरपालिका ४ सय ५५, पाँचखाल नगरपालिका ४ सय ३२, चौरी देउराली गाउँपालिका ३ सय ५९, महाभारत गाउँपालिका २ सय ७४, बेथान्चोक गाउँपालिका २ सय ५५, खानिखोला गाउँपालिका २ सय ६, भुम्लु गाउँपालिका १ सय ८२, बनेपा नगरपालिका १ सय ४४ र तेमाल गाउँपालिकामा ५९ जनाले पुनः सर्वेक्षणमा फाराम भरेका छन् । सबै भन्दा धेरै मण्डन देउपुर नगरपालिकाका पीडितहरुले सर्बेक्षणमा नाम दर्ता गराएका छन् भने सबै भन्दा कम तेमाल गाउँपालिकामा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्