वर्षात शुरु भएसँगै बिरामीको संख्या बढ्दो



बैतडी । वर्षात शुरु भएसंगै जिल्ला अस्पताल बैतडीमा बिरामीहरुको संख्या बढेको छ । दैनिक एकसयको हाराहारीमा बिरामी आउने गरेको जिल्ला अस्पतालका अहेव विनोदप्रसाद भट्टले जानकारी दिनुभयो । धेरैजसो झाडापखालाका बिरामीहरु आउने गरेको उहाँले बताउनुभयो । यसका साथै छालाको रोग, भाइरल ज्वरोका बिरामी पनि पछिल्लो समयमा बढी आउने गरेको अहेब भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘केही दिन यता ज्वरोका बिरामी बढेका छन् । झाडापखाला र आउँका बिरामी पनि बढी आउने गरेका छन् ।’

दूषित खानेपानीका कारण झाडापखला, आउँ हैजा जस्ता रोगहरु लाग्ने भएकाले यो समयमा पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्नुपर्ने जिल्ला अस्पताल बैतडीका डाक्टर बसन्तराज जोशीले जानकारी दिनुभयो । बर्षातको समयमा पानीका मूहानहरु फोहर हुने भएकाले अन्य समयको तुलनामा बर्षातमा पानीजन्य रोगहरु बढ्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नभयो ‘हामीले सुरक्षित पानी प्रयोग नगरेकै कारण विभिन्न किसिमका पानीजन्य रोग लाग्ने गरेका छन् । त्यसैले हामीले उमालेको पानी प्रयोगमा गरेमा विभिन्न रोगबाट बच्न सकिन्छ ।’
यस्तै पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पनि पहिलाको तुलनामा हिजोआज बिरामीको संख्या बढेको हेल्थ असिष्टेन्ट प्रेमसागर भट्टले जानकारी दिनुभयो ।

यसैगरी केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्र मेलौलीमा पनि बिरामीको संख्या बढेको हेल्थ असिष्टेन्ट मुकेश दयालले जानकारी दिनुभयो । बर्षातको समयमा फोहर पानीको प्रयोगकै कारण विभिन्न रोग लाग्ने भएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । यसका साथै यो समयमा बालबालिकाको सरसफाईमा पनि बिशेष ध्यान दिन स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । पानी देखिनमा सफा भएपनि सुरक्षित नहुने भएकाले भरसक उमालेको पानी प्रयोग गर्न स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्