निजी क्षेत्रका डाक्टरले धान्दै डोटी जिल्ला अस्पताल



विमल विष्ट, डोटी । चारजना सरकारी चिकित्सकको दरबन्दी रहेको अस्पताल डोटीमा पछिल्लो समय गैह्र सरकारी संस्थाले खटाएका चिकित्सकका भरमा काम सञ्चालन हुँदै आएको छ ।

अस्पतालमा नवौ र दशौँ तहका दुईजना र मेडिकल अधिकृत दुईजना गरी कुल चार जनाको दरबन्दी भएपनि एकजना मेडिकल अधिकृत डा. भुषण मिश्र मात्रै कार्यरत रहेका छन् । उहाँले निमित्त मेडिकल सुपरिटेन्डेण्ट भएर अस्पताल चलाईरहनु भएको छ । अस्पतालमा सरकारी डाक्टर नभएपछि गैह्र सरकारी संस्था निक साईमन ईन्टरनेशनलले दुईजना चिकित्सक उपलब्ध गराएको छ । जसमा एमडिजिबी डा. गिरिश अवस्थी र एमविविएस डा. खुसिद आलम खान रहेका छन् । अस्पतालमा दरबन्दि अनुसारका डाक्टर नहुँदा निकै समस्या भएको निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. भुषण मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा दरबन्दिका डाक्टर छैनन,संस्थाले खटाएका साथीहरु भएकाले केही सहज भएको छ,नत्र मलाई नै हम्मे हम्मे पथ्र्यो ।”

अस्पतालमा दरबन्दि अनुसारका चिकित्सक अभावका कारण स्वास्थ्य सेवा विस्तारमा समस्या अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा दरबन्दि अनुसारका डाक्टरको संख्या कमी भएपनि स्वास्थ्यकर्मीको दरबन्दी भने अहिले पुर्ण रहेको छ । त्यस्तै अस्पतालाई ५० सैयामा स्तरोन्नती गर्न पर्याप्त संरचना बनेका भएपनि अस्पतालमा अहिले सम्म जम्मा १५ सैया मात्रै स्वीकृत छ । सरकारले ५० सैयाका अस्पताल बनाउने निर्णय गरेपनि उक्त निर्णय कार्यान्वयन हुन नसकेको स्थानियको आरोप छ ।

उनिहरु भन्छन्, “सरकारले ५० सैयाको अस्पताल बनाउने भनेको छ तर यहाँकसैले चासो देखाएन र बनेन पनि ।” भौतिक पूर्वाधार तयार भएको रिपोर्ट सहितको ५० सैयाको अस्पतालको माग सहितको फाईल स्वास्थ्य मन्त्रालय पुगेको वर्षौ भएपनि सरकारी निकाएबाट नै कार्यान्वयन गर्ने भन्ने आदेश नआएकाले ५० सैयाको अस्पताल बनाउन नसकिएको अस्पताल प्रशासनको दाबी छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा अझैपनि एउटा राम्रो रेफरल हस्पीटल नभएकाले सरकारको तत्कालै ध्यान दिई अस्पतालको स्तरोन्नती गर्नुपर्ने जिल्ला अस्पताल डोटीमा कार्यरत डा. गिरीश अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “संरचना तयार भईसकेको अस्पताललाई स्वीकृती प्रदानगर्न हिच्किचाउनु हुदैन,स्वीकृती दिदा राम्रो हुनेछ ।’ उहाँका अनुसार जिल्लामा राम्रो अस्पताल नभएकै कारण ९० प्रतिशत हाडजोर्नीका बिरामी भारत र नेपालगञ्ज रेफर गर्नुपर्ने अवस्था छ ।

त्यस्तै आईसियूमा राख्नुपर्ने सम्मका बिरामीले मृत्यूवरण गरिरहेको उहाँ बताउनु हुन्छ । संरचना तयार भईसक्दा अस्पताललाई स्वीकृती नदिनु दुखद भएको दिपायल सिलगढी नगरपालिकाका पूर्व नगर प्रमुख पूर्णराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “संरचना तयार भईसकेपछि यहाँको यहाँको स्वास्थ्य समस्या अनुसारको चिकित्सकीय सेवा दिनु राज्यको दायित्व हो र स्वीकृति पनि दिनु पर्छ ।” यतिमात्र नभई डोटीमा क्षेत्रीय अस्पताल निर्माणका लागि खरिद गरिएको जग्गा वर्षौ देखी अलपत्रमा परेको छ ।

दिपायल सिलगढी नगरपालिकाको बागठाँटामा रहेको उक्त क्षेत्रीय अस्पताल निर्माणका लागि खरिद गरिएको जमिन प्रयोगमा नआउदा वर्षेनी गौचरणमा परिणत हुदै आएको छ । स्थानियहरुले आफुहरु संग माग गरिएको जग्गामा अस्पताल नबनाए जग्गा र्फिता गर्नुपर्ने आवाज उठाउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्