ट्रेलरमा हजार जुनीसम्म



नामको आधारमा लोकप्रिय सिरिज फिल्म नाइँ नभन्नु लका निर्देशक विकासराज आचार्यद्वारा निर्देशित फिल्म हजार जुनीसम्मको ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक समारोहबीच हजार जुनीसम्मको ट्रेलर सार्वजनिक गरिएको हो।

फिल्मका अधिकांश कलाकारलाई समेटिएको ट्रेलरमा आर्यन सिग्देललाई दुई फरक गेटअपमा देखाइएको छ भने ट्रेलरले फिल्म प्रेमकथामा रहेको जनाएको छ। ट्रेलरमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, सञ्चिता लुइ“टेल, शिवहरि पौडेल, अखिलेश प्रधान र अनुभव रेग्मीलाई फिचरिङ गरिएको छ। फ्यामली ड्रामा भनिएको फिल्मको पटकथा निर्देशक आचार्य र सामिप्यराज तिमल्सेनले तयार पारेका छन्। पटकथाकार सामिप्यले हजार जुनीसम्म पूर्णरूपमा फ्यामली ड्रामा भएको बताए। ‘हामीले स्टारडमको आधारमा भन्दा पनि कथानुसार फिल्मका लागि कास्ट गरेका छौं।’ –उनले भने।

आर्यनले यसले नेपालको सुन्दरतालाई पनि समेटेको बताए। ‘हामीले पोखराबाट शुरू गरेको छायांकन सिक्किमसम्म पुगेको छ। त्यसैले यसले हाम्रो सुन्दरतालाई समेटेको छ’, आर्यनको भनाइ थियो– ‘यो फिल्मको रोल मैले गरिरहेको जस्तै भए पनि प्रस्तुतिका हिसाबले फरक छ।’ नायिका स्वस्तिमाले पनि फिल्मले दर्शकको मन छुने बताइन्। ‘यो फिल्ममा मैले निर्वाह गरेको भूमिका त सामान्य नै छ, तर यसले मन छुन्छ। नेसनल अवार्ड विनरले खेलेको फिल्म भन्न सुहाउँछ। यसमा मैले चुलबुले क्यारेक्टर नै गरेको छु, जुन ट्रेलरमा नै देखिएको छ। फिल्मले परिवार र मायाको महत्वलाई बुझाउँछ नै। ट्रेलर मन पराएका दर्शकलाई फिल्मले निराश बनाउँदैन।’ –स्वस्तिमाको दाबी थियो।

सलोनले आर्यनको अभिनयले आफूलाई ज्यादै नै प्रभावित बनाएको बताए। बाल कलाकार अनुभवले नाइँ नभन्नु ल सिरिजभन्दा बाहिर रहेर काम गर्दा छुट्टै अनुभव भएको बताए। ‘यसले माया प्राप्तिको कथालाई देखाउँछ।’ –उनले भने। कार्यकारी निर्मात्री कविता रेग्मीले फिल्म बिनासम्झौता तयार परिएको बताइन्। फिल्ममा कविराज गहतराजको नृत्य, उदयराज सोताङ, राजनराज शिवाकोटी, वसन्त सापकोटा र प्रवीण पौडेलको संगीत र अर्जुन जीसीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्