नवीन सोचयुक्त शक्तिशाली पार्टीको खाँचो



जसले जेसुकै भने पनि यो मुलुकमा लोकतन्त्र, गणतन्त्र, संघीयता र संविधान ल्याउने नेताहरु नै हुन्, तर व्यवस्थित भएन र मुलुक द्रुत विकासमा जान सकेन । कारण मुलुकमा भ्रष्टाचार हुन्छ, सरकार मुकदर्शक भएर बसेको हुन्छ ।

उदाहरणको लागि देशमा हालै वाइडबडी काण्ड भयो । साढे ४ अर्ब रुपियाँ नमचम भयो तर यही पैसा सही ठाउँमा लागेको भए मुलुकको विकास त हुन्थ्यो नि ! अर्को शब्दमा भन्ने हो भने यति पैसामा त देशको कुनाकाप्चामा सय–पचासवटा पुल त बन्थे होला । यसबाहेक राजधानीको सडकको खाल्टाखुल्टी त पुरिन्थे होला । खै त सरकारको सोच ? गफ र घमण्ड मात्र धेरै । यसरी मुलुक विकास हुँदैन । भनिन्छ, ‘आइडिया मेक्स मनी एन्ड डेभलप’, यो फर्मुलालाई हरेक सरकारले अपनाउने क्षमता हुनु जरुरी छ । हुन त नेताहरुले जुन मेहनत गरेर मुलुकमा केही परिवर्तन ल्याए, त्यसको लागि हामीले नकारात्मक भावना त्यागी सराहनीय नै मान्नुपर्दछ ।

यो मुलुकमा नेताहरुले सबै कुरा त ल्याए, केही नेपालीको जीवनस्तर पनि केही हदसम्म बढाए । तर साथसाथै केही गल्ती पनि गरे । यसको कारण शिक्षाको कमी र राजनीतिक कलह पनि हो । देश हाँक्नेहरुको विदेशप्रति झुकाव बढी नै देखिन्छ । कडा प्रधानमन्त्रीको आगमन नै नभएको पनि हो । यो कुरा भने सोचनीय छ । यत्रो योगदान भएर पनि नेताहरुमा यो सोच आएन कि अब हामीले अरु नयाँ–नयाँ पार्टीहरुलाई पनि मौका दिनुपर्दछ । अब यो मुलुकमा हामीदेखि अघाइसकेका छन्, त्यसकारण अब हामीले नयाँ पार्टीहरुलाई पनि केही मौका दिनुपर्छ भन्ने कुरा बुझ्नुपर्छ । यसबाहेक आफ्नो पार्टीमा पनि राम्रा व्यक्ति तथा नयाँ अनुहारहरुलाई चुनावको समयमा टिकट दिने हो, न कि सधैँ आफ्नो मान्छेलाई मात्र टिकट दिएर उम्मेदवार बनाउने हो ।

एक हिसाबले भन्ने हो भने, देश चलाउनेहरुको जीवन ८० प्रतिशतभन्दा बढी गइसक्दा पनि अझै यिनीहरु सत्ता र कुर्सीको लालच, स्वार्थको पछि दौडिराखेका छन् । सधैँ नेताहरुलाई मात्र औंल्याउनु राम्रो कुरा पनि होइन, मानिसले यो मुलुकमा अब नयाँ, राम्रा, कडा नेताहरुको अपेक्षा राख्नु राम्रो कुरा हो ।

जुनसुकै सरकार आए पनि प्रधानमन्त्रीहरु कडा हुन नसक्नु नै यो देशको विडम्बना हो । मुलुक द्रुत विकासमा जान नसक्नुको कारण पनि यही नै हो । हुन त प्रधानमन्त्रीले कुर्सी समात्नेबित्तिकै कैयौं झमेलाले घेरिने हुन्छ । यस्ता समस्यालाई सल्टाउनु नै प्रधानमन्त्रीको खूबी हो । जुन आजसम्म मानिसले हेर्न पाएनन् यो मुलुकमा, अन्यथा यो मुलुकमा भ्रष्टाचार, असुरक्षा, महँगी आदिको समाधान हुन्थ्यो होला ।

एकपल्ट फेरि भन्छु– अहिलेको परिप्रेक्ष्यमा मुलुकमा नयाँ–नयाँ नेता तथा नयाँ–नयाँ पार्टीहरुको खाँचो छ, चाहे कम नै किन नहोस् । हाम्रो देशमा शायद यही बाध्यताले ‘खाए खा नखाए घिच्’ भनेझैँ हामी सधैँ उही अनुहारलाई भोट दिन बाध्य हुन्छौं । अलिकति स्वार्थ भावना त्यागेर यो संस्कारलाई बदलौं न, कसरी हाम्रो देशको विकास नहोला त ?

हाम्रो जस्तो मुलुकमा जुनसुकै सरकार आए पनि भिजनको कमीले गर्दा नचाहिने कुराहरुमा अल्झिराखेको हुन्छ । यहाँ राम्रा–राम्रा विज्ञहरुको कमी छैन । यस्ता विज्ञहरुको परामर्श लिएर देशलाई अघि बढाउनु आजको आवश्यकता हो । अन्यथा सधैँ काण्ड नै काण्ड त हो नि, जुन आजभोलि हामी भोगिराखेका छौं ।

हाम्रो देशको अवस्थालाई हेर्दा हरसमय घमण्ड, कलह, द्वेष आदि कारणले गर्दा राजनीतिक अवस्था डामाडोल हुनु स्वाभाविक हो । अर्को कुरा, आफ्नो मान्छेले मात्र कुर्सीको लागि अवसर पाउनु, जान्नेसुन्ने बुद्धिजीवीहरु बेकार भएर बसिराख्नु, यो भन्दा लाजमर्दो कुरा अरु के होला देशका लागि ? त्यसकारण अब उप्रान्त हरेक सरकारी पदको पूर्ति खुल्ला प्रतियोगितामार्फत नै हुनुपर्दछ, चाहे त्यो आन्तरिक क्षेत्रमा नै किन नहोस् ।

देशमा ऋणभार, उद्योग–व्यापारमा घाटा, बढी निर्यात, बैंकमा तरलता आदि कुराले गर्दा सबैको कपाल दुखाइ भएको छ । यसबाहेक युवा पुस्ताको विदेश पलायनजस्ता कुरालाई सोच्नै पर्ने देखिन्छ । मुलुक हाँक्नेहरुले यो देशको अवस्था राम्रो गर्नको लागि भ्रष्टाचार, गुटबन्दीलाई त्याग्नुपर्छ । साथै कर्मचारी फेरबदल, विज्ञहरुको राय–सुझाव आदि कुरामा ध्यान पु¥याउनु जरुरी छ । समग्रमा भन्नुपर्दा देशमा जुन प्रणाली आए पनि सर्वप्रथम राम्रो सोचको विकास गर्ने हो । नकारात्मक र पुरानो सोच त्यागी एक–अर्कालाई सहयोग गर्ने हो, न कि एक–अर्कालाई लाञ्छना लगाई मुलुकको दु्रत विकासलाई रोक्ने हो । अहिलेको अवस्थामा जनता सक्षम हुनु पनि उत्ति नै जरुरी छ ।

रमेशकेशरी वैद्य, छत्रपाटी, काठमाडौं

 

प्रतिक्रिया दिनुहोस्