आधारातमा घाम लाग्ने मुलुकको सुशासन



हरिविनोद अधिकारी
मलाई एकजनाले काठमाडौँबाट सोध्नुभयो रसिक पारामा, कहीँ रातको १२ बजे पनि घाम लाग्छ ? समरमा त दक्षिणी धु्रवमा होस् कि उत्तरी ध्रुवमा । समयको फरक हुन्छ । एउटाको हिउँद एउटाको समर । उहाँको मसँग कुरा गर्ने बहानामात्र थियो तर भित्र मनको कुराचाहिँ पोख्नुभयो हँसिलो तरिकाले । वास्तवमा रातको १२ बजे भनेको मध्यरात हो । समरको मौसममा अर्थात् वैशाख, जेठ, असार, साउन, भदौको मौसममात्र घमाइलो हुने रहेछ नर्वेमा ।

अझ जुन र जुलाई महिनामा नै हो रातको १२ बजे पनि उज्यालो देखिने र उत्तरी नर्वेमा घाम कहिल्यै नअस्ताउने । यी हरफ लेख्दा रातको ११ बजेको छ ओस्लोमा र बाहिर उज्यालो नै छ, किनभने भर्खरै १० बजेर ६ मिनेटमा सूर्यास्त भएको छ । बिहान ४ बजेर ४१ मिनेटमा सूर्योदय भएको थियो । जुन २०, २१, २२ तिरभन्दा त दिन करिब ४५ मिनेट नै छोटो हुन थालेको छ । तर पनि अँध्यारोचाहिँ बाहिर देखिँदैन । सूर्य उत्तरायणमा छन्, उत्तरी धु्रवमा घाम अस्ताउँदैन भन्ने तथ्यको आधारमा रातको १२ बजे मध्यरात हुने बेलामा पनि सूर्यास्त नहुने यही नर्वे देशमा नै हो । अनि समीक्षकहरुले राति १२ बजे घाम लाग्ने देश भनेका रहेछन् ।

वसन्त, गृष्म र शरद ऋतु सबैलाई एकै स्वरमा समर भनिँदो रहेछ । तर यहाँ घाम लाग्ने मौसम र जाडो हुने मौसम गरी दुई मौसम माने हुन्छ । समर अर्थात् वसन्तको शुरुदेखि या अप्रिलदेखि सेप्टेम्बरको मध्यसम्म राम्रै घाम लाग्ने मौसम मानिने हुन्छ र अनि लाग्दो रहेछ पट्यार लाग्दो हिउँद वा विन्टर । कालो हिउँद, सेतो हिउँद अनि हरियो हिउँद ।

कालो हिउँदमा घाम देखिँदैन, धुस्सिएको हुन्छ । दिन र रात भन्ने नै हुँदैन भने पनि हुन्छ । जसरी समरमा रात नभए जस्तै हो कालो हिउँदमा घाम नै हुँदैन । घामको अनुहार पनि देखिँदैन ।

जब हिउँ पर्न थाल्छ, सेतो हिउँद शुरु हुन्छ । त्यस बेलामा नर्वे हिउँ नै हिउँले छपक्क छोपिएको हुन्छ । त्यो बेलामा सबै रुखबाट पात झरेर उजाड देखिन्छ । रुख सबै काठका कङ्कालजस्तै हुन्छन् । त्यो बेलामा नर्वे आउने कसैले कल्पनासमेत गर्न सक्दैन कि नर्वेमा हरियाली पनि हुन्छ, घाम पनि लाग्छ र न्यानो दिन पनि देखिन्छ, अनुभव गर्न सकिन्छ ।

त्यसपछि अर्थात् फेब्रुअरी–मार्चतिर जब हिउँ बिस्तारै पग्लेर धर्तीमा समाहित हुन थाल्छ, त्यसपछि धराभित्र लुकेर बसेका बिरुवाहरु अनि घाँसहरु बिस्तारै बौरिन थाल्छन् र घामको अनुहार देखेपछि आफ्ना रुपमा फर्कन लालायित भइहाल्छन् । संसारको अनुहार हेर्न पृथ्वीको गर्भमा लुकेर बसेका बिरुवाहरु यति छिट्टै लहलहाउँछन् कि छिट्टै नर्वेका जमिन हरियो देखिन थाल्छ तर हिउँद त रहेकै हुन्छ । त्यसलाई हरियो हिउँद भने पनि हुन्छ । कङ्कालजस्ता रुख बिस्तारै बौरिन थाल्छन् । नयाँ पालुवा पलाउन थाल्छ । केही दिनअघिसम्म उजाड नर्वेको जमिन हरियालीले ढाक्न थाल्छ । अनि समरको अन्त्यसम्म प्रकृतिको वरदान र नियमअनुसार फुल्ने, फल्ने गरिरहन्छन् ।

समरमा नर्वे आउने वा ओस्लो आउनेले हिउँको कल्पना पनि गर्न सक्दैन, उजाड शहरको कल्पना पनि गर्न सक्दैन । सबैतिर हरियाली, विभिन्न किसिमका फूलहरु जताततै फुलिरहेका छन् । शहर नै फूलको बगैँचाजस्तै छ । घर–घरमा, पार्कहरुमा, शहरका बीच–बीचमा फूलहरु सजाएर राखिएका ठूला–ठूला भाँडा छन्, रङ्गी विरङ्गी फूलले शहर, पार्क तथा सडककिनारा ढकमक्क छन् । नेपालको आफ्नो राष्ट्रिय फूल मानेको गुराँस पनि विभिन्न रङ्गमा पाइँदो रहेछ तर रातो गुराँस भने देखिएन । सेतो, गुलाबी, बैजिनी रङमा देखियो । जुन महिनामा फुलेको गुराँस, अहिले जुलाईमा मुर्झाएको रहेछ ।

बर्गेनको गुराँस बगैँचामा रातो गुराँस छ भनिन्छ । हरियाली शहर, वातावरणमैत्री शहर, युरो ५ को स्तरमा गाडीहरु गुड्छन्, झन् रेल, मेट्रो, ट्रिक बिजुलीबाट चल्छन् । बाटोमा कुनै जाम छैन । पैदल यात्रीहरुका लागि प्रशस्त बाटो छ सडकका किनारामा । ट्राफिक सङ्केतको कतै अवहेलना गरिँदैन । जेब्रा क्रसिङमा पैदल यात्रुको खुट्टा पर्नेबित्तिकै बाहनहरु स्वतः रोकिएका हुन्छन्, जहाँ ट्राफिक बत्तीको व्यवस्था गरिएको छैन ।

यहाँ संसदीय प्रजातन्त्र छ, संघीयता छ र त्यो पनि अत्यन्त प्रभावकारी छ । राजतन्त्रान्त्मक देश भए पनि राजा संविधानको धारामा मात्र सीमित छन्, जबकि राजाको असीमित अधिकारलाई न त कसैले चुनौती दिन सक्छन्, न राजा त्यो आलङ्कारिक अधिकारलाई नाक–कान दुखाउने गहनाको रुपमा प्रयोग गर्छन् । विकसित मात्र होइन कि धनी र सुसंस्कृत देश पनि हो ।

सार्वजनिक परिवहनको साह्रै राम्रो प्रबन्ध छ । यति बजेर यति मिनेटमा आउने भनेको सार्वजनिक परिवहनको साधनको टिकट लिएको व्यक्तिका लागि तोकिएको साधन २० मिनेटभन्दा बढी समयसम्म पनि आएन भने ट्याक्सी भाडाको रुपमा ५५० क्रोनर माग गर्न सकिन्छ, सामान्यतया त्यस्तो समस्या नै नआउला, आए र प्रमाण दिन सके ट्याक्सी खर्च दिएको प्रमाण पनि छ । एउटै टिकटले समयावधिभित्रमा बस, रेल, थिबान वा मेट्रो सबैका लागि त्यही टिकट मान्य हुन्छ । सामान्यतया नर्वेमा विनाटिकट कोही पनि चढ्दैन भन्ने मान्यता छ । टिकट कार्डको रुपमा किनेर चढ्ने बेलामा मेसिनमा सुँघाउनुपर्छ र त्यसले टिकटलाई कार्यावधिमा परिणत गर्छ, अनिमात्र त्यो टिकटको अवधि शुरु हुन्छ । त्यस्तो टिकट स्वचालित यन्त्रबाट लिन सकिन्छ, केही पसल र सीधै मोबाइलबाट पनि खरिद गर्न सकिन्छ ।

मोबाइलबाट खरिद गरेको बेलामा नै कुन समयबाट शुरु हुने भन्ने तोकिनुपर्छ अनि त्यही सेकेन्डबाट त्यो समयावधि शुरु हुन्छ र अन्त्य हुन्छ । सामान्यतया एकघण्टाको टिकट प्रचलितमा रहेछ । त्यो एकघण्टाभित्र जुन–जुन यातायात प्रयोग गरे पनि हुन्छ तर यातायातमा नै एकघण्टा बित्यो भने समयको आधारमा अर्को टिकट आवश्यक पर्छ । यसरी व्यक्तिको इमानमा नै सम्पूर्ण यातायातको प्रबन्ध र सञ्चालन भइरहेको रहेछ । ३० वर्षसम्मका विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई छुट दिइँदो रहेछ । त्यस्तो छुट नर्वेका कार्ड लिएका व्यक्तिहरुका लागि मात्र हुने रहेछ ।

कतिपयले आफ्नो सुविधाका लागि महिनाभरको टिकट लिने पनि गर्दा रहेछन् । कारका लागि पार्क गर्ने भाडा महँगो छ । कतिपय कार हुनेहरु पनि आवश्यकता हेरेर सार्वजनिक यातायातको प्रयोग गर्ने रहेछन् । व्यक्तिगतरुपमा कार चलाउनु त सामान्य कुरो भयो । कोही–कोही मोटरसाइकल, स्कुटर र साइकल सहजताका लागि चलाउनेहरु छन् । युवाहरुमा लौरोजस्तो साइकल वा स्कुटी चलाउने फेसन नै रहेछ, जुन पहिले स्केटिङको रहेछ । अहिले सडकमा स्केटिङ गुडाउने पनि छन् ।

नर्वे धनी राष्ट्र हो, जसको प्रतिव्यक्ति आम्दानी नै करिब ६५ हजार अमेरिकी डलरभन्दा बढी छ । तेलको उद्योग नै नर्वेको मुख्य व्यापार हो र विदेशी मुद्रा कमाउने मुख्य माध्यम हो । अरु कुरामा पनि नर्वे धनी छ तर हिउँको चपेटाले गर्दा खाद्यान्नमा परनिर्भर नै छ । शिक्षामा प्रयोगधर्मी शिक्षाको प्रचलन छ र अझै शिक्षालाई ज्ञानमुखी र जीवनमुखी कसरी बनाउने भन्नेमा बहस शुरु भएको छ । पहिले इसाई धर्मको मात्र बोलवाला भएको नर्वेमा अहिले धार्मिक स्वतन्त्रताले गर्दा पहिलेको भन्दा सामाजिक अवस्थामा धेरै परिवर्तन आएको महसुस गरिँदो रहेछ । यहाँ संसदीय प्रजातन्त्र छ, संघीयता छ र त्यो पनि अत्यन्त प्रभावकारी छ । राजतन्त्रान्त्मक देश भए पनि राजा संविधानको धारामा मात्र सीमित छन्, जबकि राजाको असीमित अधिकारलाई न त कसैले चुनौती दिन सक्छन्, न राजा त्यो आलङ्कारिक अधिकारलाई नाक–कान दुखाउने गहनाको रुपमा प्रयोग गर्छन् । विकसित मात्र होइन कि धनी र सुसंस्कृत देश पनि हो ।

प्रसङ्ग रक्सी र चुरोटको, कुनै रेस्टुराँ वा घरभित्र चुरोट खान पाइँदैन रे ! शायद त्यसैले होला, बाटाबाटामा पुरुष हुन् कि महिला, चुरोट तान्दै हिँडेका पाइन्छन् । अझ बिहानै बियर खानेहरु पनि देखिन्छन्, चुरोट पनि तानिरहेका अरु कुरामा सबैतिर सफा छ तर चुरोटका ठुटाहरु सडकको फुटपाथमा देखिन्छन् । तर १८ वर्ष नपुगी यहाँ चुरोट किन्न पाइँदैन । पसलेले दियो भने कार्वाही हुन्छ । कसैले चुरोट किन्न आयो भने शङ्का लागे परिचय पत्र हेरेर उमेरको निश्चित गर्न पाइन्छ, त्यो कानुनी प्रावधान नै हो । रक्सी पनि त्यस्तै हो । कुनै पनि रेस्टुराँ वा पसलमा रक्सी किन्नका लागि १८ वर्ष पुगेकै हुनुपर्छ, खान पनि १८ वर्ष पुगेकै हुनुपर्छ ।

अल्कोहलका बारेमा कडा नियम छ भन्छिन् स्तोलेन क्याफे एन्ड बारकी कार्यकारी प्रमुख रञ्जना परियार । उनी रेस्टुराँ व्यवस्थापनमा स्नातक उपाधि हासिल गरेकी, नेपाली राहदानी भएकी तर हाल नर्वेमा पिताजी प्रेमबहादुर परियारको रेस्टुरा सञ्चालन गरेकी बसेकी छन् । उनका अनुसार कुनै पनि नर्वेलीले मातेर हिँड्ने गरी अल्कोहल पिउन पाउँदैन, अरुलाई कुनै हानि हुने गरी बोल्न थालेमा वा मातेर लड्ने जस्तो भएमा उसलाई रेस्टुराँबाट निकालेर मात्र अरु ग्राहकलाई सेवा दिनुपर्छ । बाहिरबाट किनेर ल्याउन पनि पाउँदैन । १८ देखि २० वर्षसम्मको ग्राहकले रातको ११ बजेसम्ममात्र रेस्टुराँमा बस्न पाउँछ । तिनीहरुलाई दिइने अल्कोहलको मात्रा पनि निश्चित छ ।

बियरमा बढीमा ४.५ प्रतिशत हुन्छ अनि वाइनमा बढीमा १४ प्रतिशतमात्र अल्कोहलको मात्रा हुनुपर्छ । तिनीहरुलाई ह्वीस्की, ब्रान्डी दिइँदैन । त्यसपछि २४ वर्ष नाघेको ग्राहकले मात्र अनुमतिका आधारमा रातको बढीमा ३ बजेसम्म बस्न पाउँछ तर मातेर बसेमा, नटेरी बसेमा प्रहरीलाई जानकारी दिनै पर्छ । रञ्जनाका अनुसार एउटा टेबलमा यदि ज्येष्ठ नागरिकसँग युवाहरु पनि बसेर बियर, वाइन खाइरहेका छन् र ती युवाहरु मात्न थालेको देखियो भने या झुल्न थालेको देखियो भने तिनलाई निकालेर मात्र अरुलाई सेवा प्रदान गर्नुपर्छ । आँखा राता–राता पारेर, झुलेर र मातेर रेस्टुराँमा बस्न पाइँदैन, त्यस्तालाई कुनै पनि प्रकारको पेय दिनु पनि हुँदैन । नियम कडा छ ।

 

प्रतिक्रिया दिनुहोस्