ओखल्ढुङ्गामा बिरामीको चाप बढ्यो



लिला सुनुवार, ओखल्ढुङ्गा । उच्च बर्षा संगै मौसममा आएको परिबर्तनका कारण ओखल्ढुङ्गाको ओखल्ढुङ्गा सामुदायिक अस्पतालमा पानी जन्य रोगका बिरामीहरुको चाप बढेको छ । यहि असारको अन्तिम साता देखी साउनको पहिलो साता सम्म निरन्तर परेको अबिरल बर्षाका कारण अस्पतालमा बिरामीको चाप बढेको ओखल्ढुङ्गा सामुदायिक अस्पतालका तथ्याङ्गक अधिकृत फडिण्द्ध दानीले बताउनु भयो ।

मौसम परिबर्तनका कारणले फैलिने आउ,टाईफाइट, झाडापखाला जस्ता रोगहरुको बिरामीको चाप धेरै रहेको अधिकृत दानीले बताउनु भयो । साउनको पहिलो हप्ता ताका अस्पतालको बेड क्षमता भन्दा धेरै बिरामी भर्ना भएको र बिरामीहरु लाई भुईमा राखेर उपचार गरेको र क्रमिक रुपमा मौसममा सुधार आए संगै बिरामीको चाप अलि कम भएको अधिकृत दानीले बताउनु भयो ।

अधिकृत दानीले यसै साउन महिनाको १ गते देखी १२ गते सम्म १ सय ९३ जना बिरामीहरु उपचारको लागी अस्पताल भर्ना भएको बताउनु भयो । दैनिकरुपमा १५ देखी २० जना बिरामी अस्पतालमा भर्ना हुने गरेको र त्यस मध्य ५ देखि ७ जना पानी जन्य रोगको बिरामी हुने गरेको ओखल्ढुङ्गा सामुदायिक अस्पतालको तथ्याङ्गकमा उल्लेख छ ।

बर्षातको समयमा पिउने पानीमा पानी जन्य रोगका किटानु हरु प्रसस्त मात्रामा हुने भएकोले पानी पूर्ण रुपमा उमालेर वा फिल्टर गरेर मात्रै पिउनु पर्ने कुरामा अधिकृत दानीले जोड दिनु भयो ।

अस्पतालले बर्षातको समयमा फैलिन सक्ने पानी जन्य रोग र अन्य सरुवा रोगको औषधीहरुको मौज्दात प्रशस्त मात्रामा राखेकोले बिरामीहरुको उपचारमा कुनै कठीनाई नभएको र बिरामीहरुले पनी अन्यत्र गएर उपचार गर्नु पर्ने झनजट ब्यर्होनु नपरेको ओखल्ढुङ्गा सामुदायिक अस्पतालका तथ्याङ्गक अधिकृत फडिण्द्ध दानीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्