विभाग हैन, स्कूल



सत्तारुढ दल (नेकपा)ले अब चाहिँ नेताहरुको कार्यविभाजन टुङ्गो लगायो भन्या त कुरो स्कूल विभागमा गएर अड्किएको छ । अन्य विभागमा अंशबन्डा मिलेपनि यो विभागमा अभिभावकद्धय ओली र प्रचण्डले भागबन्डा मिलाउन सक्या छैनन् । गोर्खाली काजी र काठमाडौंका ज्वाईँ ईश्वर पोखरेल वीच विभागको हेडसर हुन रस्साकस्सी चल्याचल्यै छ ।

‘म अरु भन्दा सिनियर हुँ, हेडसर हुन लायक त मै हो’ भन्दै अर्का बरिष्ठ नेता खनाल र बौद्धिक नेता भनेर चिनिएर घनश्याम भुसाल मैदानमा उत्रिएसी काजी र पोखरेल ‘रिङ आउट’ हुने संभावना बढ्या छ । पोखरेललाई ‘चिची पनि पापा पनि’ दिनुहुन्न भन्ने तर्क गर्नेहरुको जमात बढेसी उनी हेडमास्टर हुने अवसरबाट बञ्चित हुने बजार हल्ला निकै चल्या छ ।

खनाललाई हेडमास्टर बनाइएको खण्डमा अन्य नेताको दावी ‘कर्कलाको पानी’ हुने नेकपा नेतृत्वले ढिलै गरी बुझेको धरहराले बुझ्या छ । स्कूल विभागमा भइरहेको हानथापबारे धरहराको बुझाई फरक छ । अधिकांश नेताको शैक्षिक योग्यता ‘आइकम, वीकम दशमा दुई कम’ भएसी हेडसर हुनेको शान र मान चानेचुने हुने छैन ।

ऊ बेला पार्टीको नीति र सिद्धान्त घोकेर, अरुलाई पनि घोकाउँदै नेता भएकाहरुलाई लक्षित गर्दै विभागले छिटै ‘अध बैशे र पौढ शिक्षा कक्षा’ शुरु गर्न लाग्या त हैन ? यस्तो भएसी विभागलाई सोझै ‘नेकपा स्कूल’ भने हुन्न र भन्या ?

प्रतिक्रिया दिनुहोस्