विकास संस्कृति र पर्यावरणमैत्री हुनुपर्दछ



कुलाल डंगोल
सांस्कृतिक अभियन्ता
कुलाल डंगोल सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशील एक जुझारु व्यक्तित्व हुनुहुन्छ । २०४३ सालमा २१ वडाको वडाअध्यक्ष हुँदा डंगोलले शक्तिको मुख्य केन्द्र राजदरबारको निर्देशन मानेको भए पाटनको पिम्बहालस्थित विशाल जगःमदु पुखूँ (पोखरी) इतिहासको पानामा सीमित भइसकेको हुनेथियो ।

दरबारको निर्देशन मान्न अनेक प्रलोभन र दबाबसंँगै तत्कालील पञ्चायत जाँचबुझ समितिले वडाअध्यक्ष डंगोललाई कारवाही गर्ने चेतावनी दिएको थियो । ‘जनप्रतिनिधिलाई जनताको मात्र डर’ हुने भन्दै उहाँले सो पोखरी मास्न दिनुभएन । ललितपुरको सार्वजनिक पोखरीको अतिक्रमणको विविध पाटाबारे नेपाल समाचारपत्रका लागि सुनील महर्जनले डंगोलसंँग गरेको कुराकानीको सम्पादित अंशः

पाटनका सार्वजनिक पोखरीहरु धमाधम अतिक्रमण हुनुको मुख्य कारण के हो ?
सार्वजनिक जग्गा, गुठीको जग्गा, सम्पदा र सार्वजनिक पोखरी अहिले मात्र अतिक्रमणमा परेको छ । पञ्चायतकालदेखि सार्वजनिक पोखरी र जग्गा मासिंदै आएको छ । राज्यको विभिन्न पदमा रहेका व्यक्ति, जनप्रतिनिधि, राज्यको आड र भरोसा पाएर पहुँचवालाले नै पोखरी र सार्वजनिक जग्गा अतिक्रमण गरेका हुन् । मूलतः राज्यको संलग्नताले नै पोखरी मासिएको हो ।

तपाईको सम्झनामा अहिलेसम्म कति पोखरी अतिक्रमण भइसकेको छ?
सर्वोच्च अदालतले भर्खरै लगनखेलको सप्तपाताल पोखरीको बचाउनुपर्ने पक्षमा फैसला गरेको छ ।सप्तपाताल पोखरी वरपर, हाल नमूना मच्छिन्द्र आवासीय मावि, नमूना मच्छिन्द्र मावि, नापी र मालपोत कार्यालय पशु सेवा कार्यालय, रहेको सबै पोखरी नै हुन् । यसलाई स्थानीयले ‘न्हूः पुख’ भनेर भन्ने गर्दथ्यो । अहिले ती पोखरी मासिसकेको छ ।

त्यसैगरी कुमारीपाटीको पोखरीहरु ‘तःपुखूूँ’ सबै माटोले पुरेर त्यतिबेलाका प्रधानपञ्चहरुले बेचेका थिए । अहिले हेर्ने हो भने घरैघर देखिन्छ ।
पाटन औद्योगिक क्षेत्र पनि पहिला जलभण्डार थियो । सुन्धारा (लुँ हिटी), थपाहिटीजस्ता कयौं ढुंगेधाराको मुहान त्यसको वरपर रहेको छ । ललितपुर महानगरपालिका, त्रिपद्म स्कुल पनि पोखरी मासेर नै बनाइएको थियो ।

त्यसैगरी व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको भवन पनि पोखरी बनाइएको थियो । यसरी पोखरी मासेर राज्यका विभिन्न कार्यालय, त कतै स्कुल बनाइयो । राज्यशक्तिमा रहेका व्यक्ति, प्रधानपञ्चको स्वार्थ, लोभले गर्दा पञ्चायतकालदेखि नै धमाधम पोखरीहरु मासिए । यसले पनि पोखरी मासिनुको मुख्य कारण राज्य नै रहेको स्पष्ट पार्दछ ।

बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि पनि पोखरी मासिने क्रमले निरन्तरता कतिको पायो त ?
पोखरी मासिने गतिमा कम त भयो, तर अन्त्य हुन सकेन । स्थानीयवासीको आन्दोलन, खबरदारीले गर्दा पोखरी मासिने गतिमा कमी आएको छ । विरोध गर्ने अधिकार, संगठित हुने अधिकारले गर्र्दा नागरिक खबरदारी बढेको छ । यसले पनि कमी आएको हुनुपर्दछ । स्थानीयको खबरदारी नहुँदा पोखरी मिच्ने, मालपोत, गुठी संस्थानसंँग मिलेर गुठीको जग्गा हडप्ने प्रवृत्ति भने पूर्ण रुपमा हटेको छैन ।

कुन अवस्थामा पोखरी मासिएका छन् ?
लेले, टीकाभैरव हुँदै बगेर आउने पानी लगनखेलको पोखरीमा मिसिने गर्दथ्यो । त्यहाँबाट भित्री बस्तीको ढुंङ्गेधारामा पानी बग्ने गर्दथ्यो । पञ्चायतकालमा नखिपोटमा बाटो बनाउँदा राजकुलो नष्ट गरियो । चक्रपथ बनाउँदा त्यस वरपरको ग्राभेल झिकेर माटो राखियो । यसले गर्दा राजकुलोको पानी लगनखेलको पोखरीमा बग्न पाएन । पानी बग्न नपाएपछि धमाधम पोखरीहरु सुक्दै गए । ती ठाउँमा फोहोर फाल्ने, दिसापिशाब गर्न थालेपछि दुर्र्गिन्धत हुन थाल्यो । त्यसपछि कति पार्क, त कतै पुरिएर बेच्ने, स्कुल, सरकारी कार्यालय बनाउन थालियो । पञ्चायतकालमा नारा, जुलुस गर्ने अवस्था पनि थिएन । सिडियो, प्रशासक, प्रधानपञ्च, राजदरबारले जे भन्यो, जे चाह्यो, त्यही हुने अवस्था भयो ।

राज्यको विभिन्न पदमा रहेका व्यक्ति, जनप्रतिनिधि, राज्यको आड र भरोसा पाएर पहुँचवालाले नै पोखरी र सार्वजनिक जग्गा अतिक्रमण गरेका हुन् । मूलतः राज्यको संलग्नताले नै पोखरी मासिएको हो ।

पोखरी मासिएपछि कस्तो प्रभाव प¥यो ?
पोखरी अतिक्रमणमा परेपनि प्रत्यक्ष प्रभाव इनार, ढुंङ्गेधारामा परेको छ । इनार र ढुंङ्गेधारामा पानी सुक्न थाल्यो । दोस्रो वातावरणमा असर पा¥यो । पोखरीवरिपरि जम्मै हरियाली हुन्थ्यो, वातावरण निकै मनोरम शीतल हुने गर्दथ्यो । अहिले जताततै ‘क्रंक्रिटको बिल्डिङ’ रहेका छन् । स्वच्छ हावा र शीतलताको वातावरणको साटो प्रदूषित वातावरण रहेको छ । तेस्रो कुनै कुनै पोखरी धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण रहेका छन् । पोखरी मासिएसंँगै ती धार्मिक, सांस्कृतिक महत्वका परम्पराहरु लोप हुँदै गए । यसले यहाँको मौलिक बस्तीमा नकारात्मक असर पारेको छ । रैथानेको पुरानो ज्ञान, मूल्यहरु हास्र हुँदै मौलिकता क्रमशः नष्ट हुँदै गएको छ ।

यसबीचमा अहिलेको जगःमदु पोखरी मासिनबाट बचाउन तपाई वडाअध्यक्ष हँुदा गर्नुभएको संघर्ष अहिले पनि स्थानीयले बिर्सिएका छैनन् । त्यतिबेला के कस्तो संघर्ष गर्नुभयो ?
मैले यसअघि भने पोखरी सुक्दै गएपछि फोहोर फाल्ने ठाउँमा परिणत हुने गरेको छ । अहिलेको पिम्बहाल पोखरी पनि फोहोर फाल्ने ठाउँको रुप लिएको थियो । फोहोरले गर्दा वातावरण निकै दुर्गिन्र्धत भयो । मानिसलाई आवतजावत गर्न निकै समस्या भएपछि पोखरीको पूर्र्वितरका बासिन्दाले त्यस स्थानमा पार्क बनाउन भित्रभित्रै लबिङ गर्नथाले । त्यतिबेला वडाको कुल बजेट २५ हजार थियो । पार्क बनाउन भन्दै राजदरबारको निर्देशनमा तत्कालीन कृषिमन्त्रालयबाट ६ लाख ५० हजार बजेट विनियोजित भएर आयो ।

त्यतिबेलाका प्रधानपञ्चले दरबारकै आदेशमा बजेट विनियोजित भएकोले पार्क बनाऔं भनेर धेरै सम्झाए, तर मैले मानिनँ । पञ्चायत जाँचबुझ समितिले कारवाही गर्ने भनेर भनियो । मैले जस्तो कारवाही गरेपनि पोखरी मासेर पार्क बनाउन नदिने अडान लिएँ । स्थानीय बुढापाका, बुद्धिजीवी सबैलाई बोलाएर बैठक राखें । त्यस ठाउँमा जलमण्डप रहेको भनेर मैले पत्रिकामा पढेको थिएँ । त्यही पढेको आधारमा भेलामा पार्क बनाउने निर्णय मलाई मञ्जुर छैन । बजेट फिर्ता गर्नुपर्र्छ भनेर अडान राखें । मैले यसो भनेपछि बिस्तारै अरुले पनि पोखरी रहेको ठाउँमा पार्क बनाउन नहुने पक्षमा उभिए । यसरी अनेक धम्की, त्रास, र प्रलोभनका बाबजुद स्थानीयलाई सचेत पार्दै पोखरी मास्नबाट जोगाएँ । स्थानीयवासीसँंग मिलेर पोखरीमा थुपारिएको फोहोर सफा गर्न थालें ।

अहिले त्यो घटना सम्झिंदा तपाईले त्यतिबेला अडान नराखेको भए के पोखरी जोगिन्थ्यो त ?
अडान नराखेको भए पोखरी मासिएर पार्क बनाइन्थ्यो । निर्णय नमानेकोले कारवाही गर्ने चेतावनी दिंदा जनप्रतिनिधिलाई जनताको मात्र डर हुने भन्दै अडानमै दृढ रहें । अहिले त्यो घटना सम्झिदा र पोखरीको कायापलट भएको देख्दा निकै गर्वको अनुभूति हुने गरेको छ ।

पोखरीको स्वरुप त अहिले निकै बदलियो । यसले कस्तो सकारात्मक प्रभाव पा¥यो ?
त्यो पोखरीले गर्दा अहिले पनि छाय्बहाल, पिम्बहाल र मिखाबहालका इनारमा पानी आइरहेको छ । यहाँको वातावरण रमणीय बनेको छ । पोखरी वरपरको पाटीमा स्थानीय बुढापाका, युवायुवती बसेर शीतल र आनन्दको अनुभव गर्ने गर्दछन् । पर्यटकको केन्द्रबिन्दु बन्दै गएको छ ।

सार्वजनिक पोखरी संरक्षणमा स्थानीय तहको भूमिका कस्तो हुनुपर्दछ ?
स्थानीय तहले आफ्नो क्षेत्रमा भएका पोखरीको तथ्यांक तयार गर्नुपर्दछ । त्यससंँगै विविध पक्षबारे अध्ययन अनुसन्धान गरेर अभिलेख बनाउनुपर्दछ । त्यसपछि त्यसको संरक्षण र प्रवद्र्धन गर्ने काम अघि बढ्दछ ।

पोखरी, सम्पदा नाश हुने गरी भइरहेका अहिलेको विकासलाई तपाईंले कसरी लिनुभएको छ ?
विकास जनताको लागि हो । विकास गर्दा पर्यावरण, प्रकृतिमा कमभन्दा कम क्षति हुनुपर्ने मान्यता छ । अहिले ठूलठूला भवन बनाउने, ठूलठूला बाटो बनाउनेलाई विकासको एक मात्र मानकको रुपमा लिइन्छ । वास्तवमा विकास भनेको संस्कृति, पर्यावरणमैत्री हुनुपर्दछ । पुरानो ज्ञान, सीपको महत्व कदर गर्दै विकासका कार्यहरु अघि बढाउनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्