महिला नेतृत्व स्वीकार गर्न मानिसलाई निकै गाह्रो लाग्दो रहेछ



सल्मा खातुन

उपमेयर पोखरिया नगरपारिका पर्सा
पर्साका स्थानीय तहमा जनप्रतिनिधिहरुले अहिले धमाधम काममा जुटीरहेका छन । पर्साको पुरानो सदरमुकाम समेत रहेको र जिल्लाको दोश्रो ठूलो शहर पोखरिया नगरपालिकाको उपमेयरमा निर्वाचित पत्रकार समेत रहनु भएकी सल्मा खातुनले जनताको मन जित्दै काम गरिरहनु भएको छ । न्यायिक समितिकी संयोजक समेत रहनु भएकी खातुनसँग नेपाल समाचारपत्रका पर्सा संवाददता कृष्णउदास खनालले कुराकानी ।

सल्मा जी,तपाई जनप्रतिनिधि हुनु भएको पनि करिब दुई बर्ष पुग्नै लागेको छ, यो अवधिमा आफ्नो नगरमा के गरें जस्तो लाग्छ ?
यस अवधिमा हाम्रो नगरपालिकामा धेरै कामहरु भएका छन् । चुनाव अघिदेखि नै विशेष गरी नाला अभावका कारण पानी निकासमा समस्या भएको तथा गाउँमा सडक निर्माणको माग बढी भएका कारण भौतिक पूर्वाधार निर्माण तर्फ हामीले यसलाई प्राथमिकता दियौं । यसका अलावा सार्वजनिक सम्पत्ति संरक्षण, स्थानीय मठ, मन्दिर, पाटीपौवा अन्य स–साना तर आवश्यक निर्माण कार्य गरेका छौं ।

सामाजिक विकास तर्फ शिक्षा र स्वास्थ्य तर्फ बढी लगानी गरेका छौं । जिल्लाको ग्रामीण भेगकै महत्वपूर्ण पोखरीया अस्पतालमा ज्येष्ठ नागरिकहरुलाई सहज र सुलभ औषधि उपचारको व्यवस्था, डिजिटल एक्स रे, भिडियो एक्स रे, थप एम्बुलेन्स, नगरपालिकको तर्फबाट थप औषधिको व्यवस्था, अस्पतालमै फार्मेसीको व्यवस्था गरेका छौं। अस्पतालको स्तरोन्नति गरी २५ बेडको बनाउन पहल पनि भइरहेकोछ।त्यसै गरी नगरपालिकामा रहेका विभिन्न २४ वटा विद्यालयहरुलाई निरन्तर आर्थिक सहयोग गर्दै आएका छौं । शिक्षक अभाव भएका स्थानमा पठनपाठनमा बाधा नपुगोस भनी नगरपालिकाको तर्फबाट शिक्षकको व्यवस्था समेत गरेका छौं ।

त्यसमा पनि साना नानीहरुको पढाइलाई ध्यानमा राख्दै बालविकास कक्षाहरु तर्फ हाम्रो बढी ध्यान छ । जसका लागि हामीले त्यहाँका शिक्षिकाहरुलाई प्रोत्साहन स्वरुप पोशाक एवं अन्य सुविधाहरु दिँदै आएका छौं । दलित छात्रछात्रा एवं मुस्मि छात्राका लागि छात्रवृत्ति तथा पोशाकको व्यवस्था गरेका छौं । विद्यालयमा गुनासो सुनुवाइ संयत्रको स्थापना, खेलकुदका कार्यक्रमका लागि छुट्टै बजेट प्रदान गरी बालिकालाई प्रोत्साहित गर्ने हाम्रो प्रयास रहेको छ । यतिमात्र नभइ विद्यार्थी भाइबहिनीका लागि हरेक वर्ष लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै आएका छौं ।

यस वर्षदेखि एसईई तयारी कक्षा पनि सञ्चालन गर्ने योजना छ । साथै युवाहरुका लागि विभिन्न सीपमूल तालिमहरु तथा दर्जनौं दलित एवं विपन्न महिलालाई विभन्न सीपमूलक तालिमहरु प्रदान गरी उनीहरुलाई आर्थिक रुपमा सशक्त एवं आत्मनिर्भर बन्ने अवसर प्रदान गरेका छौं । त्यसै गरी न्यायिक समितिको संयोजकको रुपमा हामीकहाँ आउने विभिन्न खालमा विवादलाई मेलमिलापको माध्यमबाट समाधान गर्दै आएकी छु । घरेलु हिंसा, दाइजो प्रथा, बालविवाह विरुद्ध सचेतनामूलन कार्यक्रमहरु पनि गर्दै आएका छौं।

जनप्रतिनिधि आउनुअघि स्थानीय तहको अवस्था कस्तो रहेको पाउनु भयो यहाँले ?
लामो समयदेखि जनप्रतिनिधि विहीनताको अवस्थामा स्थानीय तहको अवस्था बेहाल थियो । जवाफदेहिताको कमी थियो । जनतालाई आफ्ना कुरा कसलाई राख्ने भन्ने अन्यौलता थियो । त्यसैगरी विकास निर्माणका कार्यमा समेत अन्यौलता थियो । जनप्रतिनिधि आएपछि यी समस्या पूर्णतः समाधान नभइसकेको भए पनि यसमा निकै सुधार भने आएको छ । वास्तवमै आम जनताले आफ्नो गाउँठाउँमा आफ्नो सरकार पाएका छन् ।

स्थानीय स्तरका विकास निर्माणका लागि अरुको मुख ताक्नुपर्ने अवस्था छैन । आफूबीच कै जनप्रतिनिधि भएका कारण आफ्ना समस्या राख्न सजिलो भएको छ । आफ्नो गाउँठाउँमै न्याय पाएका छन् । स्थानीय मुद्धाले प्राथमिकता पाएका छन् ।

पोखरिया नगरपालिकामा तपाई फरक पार्टीबाट र मेयर साप फरक पार्टीबाट निर्वाचित हुनु भएको छ । फरक पार्टीको हुँदा काम गर्न कत्तिको कठिनाइ भएको छ ?
काम गर्ने क्रममा विभिन्न कठिनाइ आउनु स्वाभाविक नै हो । कहिलेकाँही फरक विचारका कारण, बुझाइको कमीले गर्दा समस्या नआउने हैनन् तर हाम्रो पार्टी फरक हुनु त्यसको कारक तत्व हो जस्तो लाग्दैन ।

देशका कतिपय गाउँपालिका तथा नगरपालिकामा प्रमुख र उपप्रमुखबीच बोलचाल नै छैन,तपाइहरुको सम्बन्ध चैं कस्तो छ ?
हामीबीच बोलचालै नभएको अवस्था त छैन । तर जति हुनुपर्ने हो त्यो सम्वादको कमी छ । मलाई चित्त नबुझ्ने मुख्य कुरा चाहिँ यही हो । कुनै कार्य गर्नु अघि सुरुमै उपप्रमुखको सल्लाह लिएर गरे त्यसलाई सम्पादन गर्न सहज हुने थियो । तर, प्रमुख होस् वा कार्यालय समयमा सूचना प्रदान नगर्नु आपत्तिको बिषय भएको छ र यसका लागि मैले पटक पटक ध्यानाकर्षण पनि गराएकी छु जसकारण केही सुधार भएको छ तर समस्या यथावत छन । म सञ्चार र छलफलमा विश्वास राख्दछु तर त्यसकै अभाव देख्दछु । समग्रमा हाम्रो सम्बन्ध ठीकै छ ।

पुरुष जनप्रतिनिधिहरुले महिलालाई हेप्ने वा अधिकार बिहीन बनाउने सम्म गरेको गुनासो आउने गरेको छ,तपाइले यो समस्या झल्नु परेको छ कि छैन ?
यो समस्या सबै महिला जनप्रतिनिले झेल्नु परेको छ । म पनि त्यसको अपवाद होइन । प्रत्यक्ष रुपमै हेप्न सकेको अवस्था त छैन तर त्यस्ता प्रयास निरन्तर भइरहेकै हुन्छन् । यहाँ महिला नेतृत्व स्वीकार गर्न मानिसलाई निकै गा¥हो लाग्दो रहेछ । त्यसमा पनि पार्टीको बहुमत अल्पमतले ठूलो भूमिका खेल्ने रहेछ । त्यसको मारमा म पनि परेको छु ।

तपाई एक कुशल पत्रकार पनि हो । पत्रकार भएर समाज सेवा गर्न सजिलो कि जनप्रतिनिधि भएर ?
पत्रकार भएर काम गर्दा यति धेरै जवाफदेहिता, जिम्मेवारी हुँदैन जस्तो लाग्छ। आफूले देखेको, आफूलाई लागेको कुरा निर्धक्क भएर सजिलै राख्न सकिने रहेछ । तर एक जनप्रतिनिधिको रुपमा बोल्दा धेरै कुरा मिलाएर बोल्नुपर्ने हुन्छ, सोचेर मात्र कुनै पाइला चाल्नुपर्ने हुन्छ । जनप्रतिनिधिको व्यक्तिगत जीवन नै नहुने रहेछ । आफू जुनसुकै अवस्थामा भए पनि जनताको काम गर्नै पर्ने हुन्छ, बोलाएका ठाउँमा जानै पर्ने हुन्छ ।

अर्कोतर्फ जनप्रतिनिधि भएकोले समाजसँग सीधै जोडिने अवसर पाएकी छु। यहाँका जनताको आवश्यकता पूर्ति गर्न, उनीहरुका समस्या समाधान गर्न स्रोत, साधन र अधिकार पाएकी हुनाले त्यस अर्थमा सजिलो छ । आफ्ना जनताको समस्या समाधान गर्न अरुलाई गुहार्नुपर्ने स्थिति छैन । राजनीतिक खिचतानीले भने बेलाबेला समस्या उत्पन्न गर्ने गर्दछ । यी सबैका बावजुद आफुले पाएका जिम्मेवारी सकुशल निर्वाह गर्न प्रयत्नरत छु र खुशी छु ।

तपाई संबिधानले नै ब्यवस्था गरे अनुसारको न्यायिक समितिको संयोजक हुनुहुन्छ,न्याय सम्पादनको अवस्था कस्तो छ ?
न्यायिक समितिको संयोजक हुनु हामी उपप्रमुखहरुको लागि गर्वको कुरा हो । मैले खुशीका साथ भन्नुपर्छ हाम्रो न्यायिक समितिले सफलतापूर्वक काम गर्दै आएको छ । न्यायिक समितिको लागि कर्मचारी तथा पर्याप्त बजेट अभावका कारण केही समस्या छन् तर समिति माथि आम जनताको विश्वास बढ्दै गएको छ । हामीले ग्रामीण जनतालाई सहज र सुलभ तरिकाले निष्पक्ष तवरले न्याय दिएका छौं त्यो नै हाम्रो ठूलो उपलब्धि हो ।

न्यायका लागि इजलास बनाउनु भएको छ कि छैन ?
स्थान अभावका कारण इजलास नै त बनाइसकेका छैनौं । हामी कहाँ आउने अधिकांश मुद्धा हामीले मेलमिलाप नै गराउने गरेका कारण इजलास बस्नुपर्ने अवस्था पनि आएको छैन ।

अब अर्को निर्वाचनमा जनप्रतिनिधि नै भएर चुनावमा उठ्ने मन छ कि पत्रकारितामा सकृय हुन मन छ ?
हामीले सक्दो राम्रो गरेका छौं र गरिरहने छौं । अझै गर्नुपर्ने काम धेरै छन् । स्थानीय तह पुनर्संरचना पछिको हाम्रो प्रथम कार्यकाल कर्मचारी अभाव, शिक्षक अभाव, तीनै तहका सरकारबीच सामञ्जस्यको कमी लगायत विभिन्न कारणले कतिपय काम अपेक्षाकृत रुपमा उपलब्धिमूलक नदेखिएको गुनासा पनि बेलाबेला सुनिने गरेका छन् । तसर्थ जनप्रतिनिधि कै रुपमा सक्रिय भइ कमी कमजोरीलाई सुधार गर्दै अझै समर्पित भएर समाजको लागि कार्य गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्