साथीहरूले नेतृत्वमा आउने चाहना प्रकट गरुन !



नरहरि आचार्य
कांग्रेस नेता
नरहरि आचार्य नेपाली कांग्रेसभित्रका निडर आचार्यका रुपमा सुपरिचित हुनुहुन्छ– समयअनुसार आफ्नै सभापतिको विरोधमा समेत उभिनसक्ने व्यवहारका कारण मात्र उहाँलाई निडर भनिएको होइन सिङ्गै पार्टीले राजतन्त्र फाल्नुहुन्न भनेर अडान लिइरहेका बेला गणतन्त्रका पक्षमा वकालत गर्ने उदाहरणले पनि उहाँलाई निडर सावित गर्छ, साथमा उहाँ आचार्य त हुनुहुन्छ नै, लामो समयसम्म प्राध्यापन पेशामा जो रहनुभयो र सैद्धान्तिक विषयमाथि निर्णायक मत दिनेगरी किताव वा आलेखहरु तयार पार्नुभयो ।

उहाँमा अन्तरनिहित निडरतालाई समयले शारीरिक रुपमा पनि परीक्षण ग¥यो– हिंड्दाहिंड्दैको व्यक्ति हृदयघात भएर ढल्नुभयो, साढे तीन वर्ष बित्यो, उहाँ दाहिने हात र गोडामा पक्षाघात भोगिरहनुभएको छ । तर, समयले उहाँको मस्तिष्कलाई सम्मान गर्नैप¥यो, उहाँ दिमागी पक्षबाट पूर्ण स्वस्थ हुनुहुन्छ, निरन्तरको उपचारले शारीरिक अवस्थामा पनि सुधार हुँदैछ, यद्यपि यसको गति मन्द छ । नेपाल समाचारपत्र श्रद्धेय व्यक्तित्व आचार्यलाई भेटेर पूर्ण स्वास्थ्यको कामना गर्न पुग्यो गएको बुधबार उहाँकै निवास चुनदेवी, चक्रपथमा– दूत थिए कपिल काफ्ले र रामकृष्ण चापागाईं । उहाँसँग आधा घण्टा सँगै बसेपछि आदरणीय पाठकहरुलाई केही कोसेली नल्याई फर्किने त कुरै थिएन, प्रस्तुत छ– अन्तर्वार्तारुपी कोसेलीः

नेपाली कांग्रेस मुलुकमा प्रजातन्त्र प्राप्तिको लागि लामो समय संघर्ष गरेको, ठूला–ठूला राजनीतिक परिवर्तनको नेतृत्वमा अग्रपक्तिमा रहेकोे पार्टी पनि हो । तर, गत निर्वाचनपछि थलिएको यो पार्टी माथि उठ्नै सकेन नि, किन होला ?
नयाँ संविधान जारी भएपछि पनि ठूला दुई कम्युनिष्ट पार्टी अलग–अलग थिए । चुनाव घोषणा भएपछि उनीहरुले छिटोछिटो गठबन्धन बनाए । त्यतिबेला एउटै पार्टी बन्न नसकेपनि राम्रो गठबन्धन बनाए । पछि एउटै पार्टी पनि भए । यस पार्टीमा समाहित नभएका पार्टीहरु पनि सरकारमा गए ।

उनीहरुको गठबन्धनले दुई तिहाईको हाराहारीको संख्या पु¥याएर सरकार पनि गठन गरे । पहिला कम्युनिष्ट भएका र पछि अन्य पार्टी गठन गरेकाहरु पनि मिसिए । उपेन्द्र यादव, अशोक राईहरु पनि मिसिए । अहिले डा. बाबुराम भट्टराईको पार्टी पनि त्यही गठबन्धनमा मिसिएको छ । यता, कांग्रेस नेतृत्वमा आकर्षण नहँुदा नहुँदै चुनाव भएको हुँदा असर परेको हो । चुनावमा नेतृत्वको आकर्षण पनि हुनुपर्छ । यो अहिलेको स्थिति हो ।

सधैंभरि यस्तै स्थिति हुन्छ भन्ने छैन । सधैभरि यस्तो नहुने भएपनि यो पाँच वर्ष सम्मको स्थिति भने यही हो । यसमा पनि कांग्रेस आपूm सच्चिएर अघि बढ्नुपर्ने थियो, त्यो भैरहेको छैन । जसको कारण आम जनतामा सरकारप्रति सामान्य प्रकारको असन्तोष भएपनि कांग्रेसप्रति आकर्षण बढ्न सकेको छैन । यो सही हो । कांग्रेसले आफ्नो कर्तव्य जसरी पनि पूरा गर्नैपर्छ, त्यो गर्न नसकेको हो कि भन्ने आम जनमानसलाई लागेको देखिन्छ ।

यस्तो अवस्थामा के गर्नुपर्छ त ?
कांग्रेसले सबैभन्दा पहिला पार्टीभित्रको सामान्य मनमुटावलाई बजारमा आलोचनाको बस्तु बनाउनु हुन्थेन । हुन त कांग्रेसको यस्तै परम्परा नै छ । आन्तरिक मनमुटाव बजारमा छताछुल्ल हुँदा कठिनाइ भएको देखिन्छ । पार्टी भित्रको मनमुटावलाई बाहिर बजारमा पस्कने होइन । अहिले आन्तरिक रुपमा एकजुट भएर संगठित हुने बेला हो । तर, फेरि विभाजित हुने कुरा मात्र बाहिर आइरहेको छ । यो ठिक भएन । अब कांग्रेस बलियो बन्न कि नेतृत्व परिवर्तन हुनुप¥यो कि त सच्चिनुप¥यो । अनि आन्तरिक गुट–उपगुट छोडेर एकढिक्का भएर अघि बढ्नुप¥यो ।

कांग्रेसप्रति आकर्षण बढाउन अझै अहिलेकै नेतृत्वप्रति आश गर्न सकिएला र ?
नयाँ नेतृत्व ल्याउन त्यति सजिलो छैन । तर पनि नयाँ नेतृत्व ल्याउन हामीले प्रयत्न त गर्नैपर्छ । प्रयत्न नै नगरे त झनै सकिंदै सकिंदैन । कोही न कोही त नयाँ नेतृत्व आउनुपर्छ । मलाई त नेतृत्वमा युवा पक्ति आउनुपर्छ भन्ने लाग्छ । तर, कामना गरेर, ईच्छा गरेर मात्र त युवा पत्तिबाट नेतृत्व आउँदैन । यसको लागि अरुले पहल गरेर मात्र हुदैन । नेतृत्वमा आउन चाहने युवा स्वयंले पहल गर्नुपर्छ । जबसम्म उपयुक्त युवा नेता आउँदैनन् तबसम्म पुरानै नेता दोहोरिन्छ । यसले पार्टीलाई फाइदा गर्दैन । कि त पुराना नेता सच्चिनु पर्छ । पुराना नेता सच्चिने सम्भावना देखिंदैन ।

पुराना नेतृत्व पनि नसच्चिने नयाँ नेतृत्व ल्याउन पनि नसकिने असहज अवस्था सृजना भएको देखियो । झन समस्या पो भयो त ?
हैन, अब कांग्रेस परम्परागत धारणाबाट हामी अलिकति हट्नुपर्छ । अहिलेको परिवर्तनअनुसार अघि बढ्नुपर्छ । मैले अघि पनि भनें, युवा पुस्ता तयार हुनुपर्छ अब । अहिले नेतृत्वमा बस्न चाहने सबै पुराना पुस्ता हुन् । सभापति भएका पनि सभापति नभएका पनि पुरानै पुस्ता हुन् । कोही उमेरले पुराना छन्, कोही विचारले पुराना छन् । यो कुरा हामीले भन्नुभन्दा पनि उनीहरुको गतिविधिले देखाउँछ । नयाँ युगलाई कसले समात्छ, आउनुप¥यो नि । हामीले अहिले यसले नयाँ युगलाई डो¥याउँछ भन्नुभन्दा पनि उहाँहरुले नै आफ्नो गतिविधिले देखाउनुपर्छ । त्यस कारण युवा पुस्ता नै नेतृत्वमा आउन अहिलेदेखि प्रयत्न गर्नुपर्छ ।

अब त्यो गतिविधि देखाउने बेला भएन र ?
भयो भयो । सभापतिले भनेअनुसार महाधिवेशन आउन दुई वर्ष हाराहारी छ । अरुले भनेअनुसार नौ महिना बाँकी छ । यो नौ महिना महाधिवेशन हुने लक्षण देखिदैन । महाधिवेशन दुई वर्षको हाराहारीमै हुन्छ । अब आउने नयाँ नेतृत्वले अहिलेदेखि गतिविधि नदेखाए उनीहरु नेतृत्वमा पुग्नै सक्दैनन् । किनकि अब दुईवर्षपछि महाधिवेशन भएपनि त्यति बेलासम्म नयाँ नेतृत्वले देखाउने गतिविधि पुगेस् पुगेस् मात्र हुन्छ ।

अहिले कांग्रेसभित्र नेताहरुले वर्तमान नेतृत्वको आलोचना गर्दै नयाँ नेतृत्वको माग गरिरहेका छन् । नेतृत्व परिवर्तन गर्न आन्तरिक गृहकार्य चाहिं भएको देखिन्न नि ?
एकले अर्कोलाई आलोचना गरेर हुदैन । कांग्रेसको विधानमा अकस्मात नयाँ नेतृत्व आउने कल्पना पनि गरिएको छैन । नेतृत्वमा केन्द्रीय समिति भित्रकै आउने हुन् । अहिले भएका केन्द्रीय सदस्यहरुले यो अवस्थालाई राम्रो देखे–बुझेका छन् । अहिले एक नेताले अर्को नेताको आलोचना गर्ने हैन । नेतृत्व लिन अग्रसरता देखाउने हो । आफ्नो कुरा स्थापित गरिसकेपछि मात्र त्यो हुदैन, म हुन्छु भन्न मज्जा आउँछ । आफ्नो कुरा स्थापित नगरी खालि अरुको आलोचना मात्र गरेर हुदैन ।

नेतृत्व परिवर्तनबारे छलफल भएको छैन ?
छलफल भएको होला । मेरो शारीरिक अवस्थाको कारण म कतै नजाने भएकोले थाहा नपाएको पनि हुनसक्छ । सामन्यतया मेरो औपचारिक कुराबाहेक अन्य कुरा थाहा नपाउने अवस्था छ ।

महाधिवेशनको कुरा उठ्यो । अहिले कांग्रेसले तल्लो तहको अधिवेशन गर्ने कुरा गरिरहेको छ । अब हुने तल्लो तहको अधिवेशन १३औं महाधिवेशनको बाँकी अवधिको लागि हो कि १४औं महाधिवेशन सम्मको लागि हो ?
यो १४औं महाधिवेशनको शुरुवातको अधिवेशन हैन । राज्यको नयाँ संरचनाअनुसार आवश्यक पर्ने अधिवेशन हो । अब हुने तल्लो तहको अधिवेशन १३औं महाधिवेशनको बाँकी अवधिको लागि मात्र हो, १४औं महाधिवेशनमा फेरि हुन्छ । पुराना प्रतिनिधिबाट चुनिने भएकोले बाँकी अवधिको लागि मात्र हुन्छ ।

संविधानमा पनि समाजवादतर्फ उन्मुख हुने भनिएको छ । कांग्रेसले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भन्दै आएको छ, कम्युनिष्टहरु पनि समाजवाद नै ल्याउनुपर्छ भनिरहेका छन् । सिद्धान्तमा कांग्रेस कम्युनिष्टमा के फरक भयो ?
संविधानमाा समाजवाद छ कि छैन भन्ने कुराले खासै फरक पार्दैन । किनभने भारतमा पनि संविधानमा त समाजवाद छ नि तर कस्तो पार्टीले चुनाव जित्यो त ? अनि श्रीलंकामा त संविधानको नाम नै समाजवाद छ । देशको नाम नै समाजवादी गणतन्त्र श्रीलंका छ । त्यसकारण कसरी समाजवाद रहेको हो त्यो पृष्ठभूमि पनि बुझ्नुपर्छ । भारतमा कसरी रह्यो, नेपालमा कसरी रह्यो, श्रीलंकामा कसरी रह्यो भन्ने कुरा मुख्य हुन्छ । पद्धतिको अलिअलि फरक त जहाँपनि हुन्छ तर मुलभूत रुपमा फरक हुन्छ भन्ने मलाई लाग्दैन । अहिले नेपालको संविधानको प्रस्तावनामा समाजवाद छ । भारतको संविधानमा पनि प्रस्तावनामै समाजवाद छ । त्यसकारण हामीले कस्तो पद्धतिको अभ्यास गरेका छौं र कस्तो पद्धतिको अनुशरण गर्दैछौं भन्ने कुरा नै मुख्य हो ।

सरसर्ति हेर्दा सबै पार्टीको दर्शन, सिद्धान्त राम्रै लाग्छ । आम जनतालाई कांग्रेसमा आकर्षित गर्ने चाहिं कसरी हो ?
सिद्धान्त दर्शनले आकर्षित गर्ने स्थिति सधैं आइरहनु पर्छ भन्ने कुरा हैन । केवल आफ्नो टिमवर्कको कारणले, आफ्नो कार्यक्रमको प्राथमिकताको कारणले मात्र आकर्षित गर्ने हो । पद्धति त उही हो नि हाम्रो । अलिअलि आफ्ना परम्परागत धारणा बोकेर पद्धति भिन्नै बोक्छौं भन्ने कुरा कसैले गर्लान् तर विचारशील मान्छेले अहिलेको सत्तारुढ पार्टीमै भएपनि त्यो गर्दैनन् । जे भएपनि हामी लोकतान्त्रिक व्यवस्था अन्तर्गत नै हौं ।

तर, हामीले प्राथमिकता चाहि हाम्रो टिम राम्रो छ, हाम्रो नेतृत्व राम्रो छ भन्ने हो र कार्यक्रमहरु केही अलग गर्न पनि सक्छौं । त्यस कार्यक्रमलाई आकर्षक बनाउने हो । बेलायतमा अहिले कन्जरभेटिभ पार्टी हुँदै छ । अब लेबर पार्टी पनि पार्टीगत रुपले शासनमा त्यत्रो भिन्नता ल्याउने त हैन । उसमा पनि नेतृत्वमा आकर्षण हुन्छ, कार्यक्रमको आकर्षण हुन्छ । पुरानो एउटै भैरह्यो भनेर त्यसको विकर्षण हुन्छ र अर्कोलाई छान्ने हुन् मान्छेले । जहाँ पनि त्यस्तै हो । त्यसकारण पार्टीलाई छान्ने आधार कार्यक्रम, कार्यटोली, नेतृत्व, त्यसको आकर्षण नै हुन् । अब सैद्धान्तिक कुरा गरेर मात्र हुने देखिन्न । अझैपनि सैद्धान्तिक कुराको धङधङी नेकपा पार्टीमा बाँकी नै छ भन्ने चाहिं देखिन्छ ।

जारी केन्द्रीय समिति बैठकबारेमा केही बताइदिनुस् न ?
मलाई केन्द्रीय समिति बैठक बस्ने कुरा थाहा हुन्छ । त्यो बैठकको एजेण्डा के के हो मलाई कसैले पनि भन्दैन । बैठकको एजेण्डाको पूर्व तयारीका बारेमा पनि मलाई केही थाहा हुदैन । पार्टीका कर्मचारी पदाधिकारी कसैले पनि मलाई बैठकको एजेण्डाका बारेमा जानकारी दिने र छलफल गरौं भन्दैनन् । बैठकभित्र पसेपछि मात्र त्यहाँ उठेका कुराहरु थाहापाउँछु ।

हजुरको स्वास्थ्यको बारेमा पनि कुरा गरौं । कस्तो छ अहिले ?
म गम्भीर बिरामी भएको तीन वर्ष पाँच महिना भयो । अहिले धेरै सुधार भएको छ । तर पनि यो सुधार पर्याप्त छैन । दायाँ हात चल्दैन । दाँया गोडा कम चल्छ । शरीरको दायाँ भागमा बढी असर छ । मेरो स्मरणशक्ति र दिमागी क्षमतामा भने केही असर पुगेको छैन । बोलीचालीमा पनि सुधार आएको छ ।

शारीरिक रुपमा पूर्ण सक्रिय हुन कति समय लाग्ला ?
अहिले पनि उपचारकै क्रममा छु म । त्यस कारण मलाई कति समयमा ठिक होला भनेर डाक्टरलाई पनि सोधेको छैन र म आफै पनि मानसिक रुपमा यति समयमा ठिक हुन्छु भन्ने सोचेको छैन । मैले विचार दिने लेख्ने काम चाहिं गरिरहेको छु । यसले राजनीतिमा तत्कालीन फाइदा गर्छ कि दीर्घकालीन फाइदा गर्छ भन्ने मात्र हो । यसमा चाहिं म सक्रिय नै छु । म दिनभरि पुस्तकका बीचमै बस्छु र राति सुत्ने कोठामा पनि केही पुस्तक मसंँगै रहन्छन् ।

अहिले कुनै नयाँ पुस्तक पढ्दै हुनुहुन्छ कि, अथवा केही लेख्दै हुनुहुन्छ कि ?
पुस्तक पढ्नेभन्दा पनि मैले आजसम्म लेखेका कुराहरुलाई सम्पादन गर्ने, हेर्ने, परिमार्जन गर्नेतिर लागेको छु । पुस्तक चाहिं जुनजुन अगाडि आउँछ त्यही त्यही पढिन्छ ।

प्रतिक्रिया दिनुहोस्