प्रदेश प्रेस रजिष्ट्रारको शाखा काठमाडौंमा



हेटौंडा । प्रदेश ३ को प्रेस रजिष्ट्रारको शाखा कार्यालय काठमाडौंमा राखिने भएको छ । काठमाडौं उपत्यका र आसपास जिल्लाका रेडियो, टेलिभिजन, अनलाइन र पत्रिकाको सेवा नजिकबाट उपलब्ध गराउने उद्धेश्यले शाखा कार्यालय खोल्ने अन्तिम तयारी भएको हो ।

कार्यालयबाट हेटौंडा जत्तिकै सेवा दिने गरी काम गर्न लागिएको छ । पत्रपत्रिकाको अभिलेख र प्रेसपास दुवै स्थानबाट उपलब्ध गराइने छ ।
काठमाडौंको तीनकुनेमा शाखा कार्यालय राख्न लागिएको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले बताउनुभयो । शाखा कार्यालयको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले साउन १५ गते उद्घाटन गर्ने कार्यक्रम छ ।

रेडियो, टेलिभिजन, अनलाइन र पत्रिकाको इजाजत, नवीकरण, नियमनका कामहरु हेटौंडा र काठमाडौंका दुवै कार्यालयबाट गरिने प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्