सभामुखको पाकेट मार्ने थुनुवा भागेपछि दुई प्रहरी निलम्वित



बारा । प्रदेश २ का सभामुख सरोज यादवको पकेटबाट रकम चोरी गरी भाग्ने क्रममा पक्राउ परी थुनामा रहेका एक युवक प्रहरी हिरासतबाटै फरार भएपछि बाराका दुई प्रहरी निलम्बनमा परेका छन ।

प्रहरी लापरवाहीका कारण हिरासतमा रहेका व्यक्ति फरार भएको भन्दै जिल्ला प्रहरी कार्यालय बाराले सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत दुई प्रहरीलाई निलम्बन गरेको हो । निलम्बित हुनेमा प्रहरी हबल्दार शशिकान्त चौधरी र प्रहरी जवान अशोक साह रहेका छन । दुई प्रहरीलाई निलम्बन गरी घटनाको अनुसन्धान थालिएको बाराका प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिनुभयो ।

गत शुक्रबार सभामुख यादव सिम्रौनगढस्थित हाट बजार गएका बेला भारत मोतीहारी जिल्ला लिपनी ४ बेलवाका १९ वर्षीय फिरोज मियाले पकेटबाट ५० हजार रकम चोरी गरेका थिए । भाग्ने क्रममा स्थानीयले समातेर मियालाइ प्रहरीमा बुझाएका थिए ।

स्थानीयको सहयोगमा पक्राउ गरिएका मियालाई इप्रका सिम्रौनगढले नियन्त्रणमा लिइ कारबाही प्रक्रिया थालेको थियो । चोरी मुद्धामा कारबाही चलाइएका मिया थुनुवा कोठाबाट खाना खुवाउन बाहिर निकाल्ने क्रममा पर्खाल नाघेर फरार भएका हुन ।

फरार भएका मियाको खोजी भइरहेको प्रवक्ता राठौरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्