दुबो फुल्यो सार्वजनिक



हिट सिरीज फिल्म कबड्डी कबड्डी कबड्डीको पहिलो गीत दुबो फुल्यो सार्वजनिक गरिएको छ। एसडी योगीको संगीत रहेको गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा र विल्सनविक्रम राईलाई फिचरिङ गरिएको छ।

सार्वजनिक गीतमा हर्क साउदको शब्द तथा हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर छ। गीतको निर्देशन रेनशा राई राणाले गरेकी छिन् भने, कोरियोग्राफी वाइल्ड रिपर्ज ग्रुपको रहेको छ। स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्दको कथा भनिएको फिल्ममा रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डिबि गुरुङ, राजेन्दै्र थापालगायतका कलाकारले पनि अभिनय गरेका छन्।

बाँसुरी फिल्म्स र सिनेमा आर्टको प्रस्तुति तथा माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्ट सहकार्यमा निर्माणाधिन फिल्म रामबाबु गुरुङ निर्देशन गरेका छन् भने आगामी भदौ १३ गते अल नेपाल रिलीज हुँदैछ। मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारको निर्माण तथा रुदेन सदा लेप्चाको सह निर्माणमा निर्माणाधिन फिल्ममा शैलेन्द्रध्वज कार्कीको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।

फिल्मको सार्वजनिक गीतमा निर्माण पक्षले डान्स कभर कम्पिटिसन पनि आव्हान गरेको छ। गीतमा कभर भिडियो बनाएर प्रतिस्पर्धा जनाउने मध्येबाट उत्कृष्टलाई आकर्षक उपहार पनि तय गरिएको छ। विजेताको लागि निर्माण टिमले १ लाख रुपियाँ छुट्ट्याएको छ। त्यसै गरी दोस्रोलाई ७५ हजार र तेस्रोलाई ५१ हजार नगद प्रदान गरिने निर्माण पक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्