प्रहरी मेरो साथी



घुस नदिदा महिनौ काम अल्झिने, टेन्सन बल्झिने भएसी यस्तो रोगबाट मुक्त हुन मुलुकमा घुस खेती निकै फस्टाएको छ । जस्तोसुकै खडेरी होस या कठ्याङ्ग्रिने जाडो घुस खेती लहलह मौलाएकै हुन्छ । घुस खेतीको विकास र विस्तारमा महत्वर्पूण योगदान दिएको आरोपले च्यापिएसी प्रहरीले घुसमुक्त अभियान चलाएको छ ।

‘घुस दिए ठाउँको ठाउँ कार्वाही गरिन्छ’ भन्ने व्यहोराको कार्यक्रम अन्र्तगत धेरैलाई कार्वाही गरेको प्रहरी खवरमा सुनिन्छ । घुस विरुद्धको अभियान कति प्रभावकारी र कति पारदर्शी छ भन्ने कुरो पाठकवृन्दले आफैं अनुमान लगाएको राम्रो । उता अरनिको हाइवेको पाँचखालपारीका विभिन्न खण्डमा भने अभियान फरक ढंगले कार्यान्वयन भइरहेको देखिन्छ ।

लाइसेन्स विनाका मोटरसाइल र अन्य सवारी चालकप्रति ट्राफिक र सुरक्षाकर्मी निकै नरम देखिने ग¥या छन् ।

सहजै घुस स्वीकार्ने अनि निधक्क घुसको दररेट तोक्ने भनेसी सुरक्षाकर्मी कति लचक हुनु ? दन्तेलहर पटक पटक देखाउँदै ‘यसो मिलाएर दिनुस न’ भन्ने तर न्यूनतम पाँचसय र अधिकतम् दुई हजार माग्ने भनेसी सुरक्षाकर्मी निकै लचक हुन् भन्ने बुझ्नु प¥यो । कुरो यति मात्रै कहाँ हो र, तोकिएको दररेट लिए पश्चात चालकको नम्बर लिने अचम्मैको बानी छ भन्या ।

चालक फर्कने निधो भएपछि मोवाइलमा घन्टी बज्छ अनि नरम शैलीमा अनुरोध आउँछ–‘फर्कँदा यसो एउटा एउटा ओल्ड दरवार, सिग्नेचर अथवा त्यस्तै केही ल्याए हुन्छ है ।’ यस्तै कामका लागि भन्या होला–‘प्रहरी मेरो साथी ।’

प्रतिक्रिया दिनुहोस्