भेरी नदीको उच्च जोखिममा रजेला बस्ती, सुरक्षित स्थान खोज्दै स्थानीय



धनवीर दाहाल,रुकुम ।
सानीभेरी गाँउपालिका वडा नं १ रजेलाका चित्रबहादुर आले मगरको परिवार रातभर घर बाहिर बस्नुपर्ने बाध्यता छ । बर्षातको समयमा पनि घर भित्र आनन्दले बस्न नसक्नु बाढीको त्रास हो । भेरी नदीले बस्ती कटान गर्न थालेपछि उहाँ लगाएत रजेला बस्ती उच्च जोखिममा रहेको छ ।

रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नं १ को रजेला वस्ति भेरी नदिको उच्च जोखिममा रहेपछि स्थानीय त्रासपुर्ण वातावरणमा बस्न बाध्य भएका हुन् । मध्यपहाडी लोकमार्गको छेउमा रहेको रजेला वस्ती तथा आसपासका खेतहरु नदिले कटान गर्न थालेपछी रजेला बासी चिन्तित बनेका छन ।

सानीभेरी नदी र ठुलीभेरी नदि मिलेर बनेको भेरी नदीको बहाव आफ्नो बस्ति तिर मोडिदा रातिमा निन्द्रा समेत लाग्न छाडेको स्थानीय आलेमगरले बताउनुभयो । ‘हाम्रो अन्तै जाने र बस्ने कुनै ठाउँ छैन नदिले जग्गा जमिन र घर सबै लिन आँट्यो’ – चित्रबहादुरले भन्नुभयो, ‘धेरै जमिन नदिले कटान गर्दै घरहरु सम्म पुग्न थालिसक्यो सुकुम्बासी भइने हो कि भन्ने डर छ ।’

निर्माणाधिन मध्यपहाडी लोकमार्गमा आवश्यक पर्ने गिट्टी, बालुवा र ढुंगा ठेकेदार कम्पनीले उठाउदा नदी आफ्नो बस्ति तिर ढल्किएको रजेलाबासीको आरोप छ । ठेकेदार कम्पनीले गिट्ठी बालुवा निकालेका कारणले नदि बस्ति तिर आएको र डोजर प्रयोग गरी नदी अर्काे क्षेत्रमा ढल्काउन रजेला बासीले आग्रह गरेको वडा अध्यक्ष टेकबहादुर पुनले बताउनुभयो ।

सोही आग्रह अनुसार कम्पनीले डोजर लिएर नदी ढल्काउने प्रयास गरेपनि पानीको बढ्दो बहाबका कारण ढल्काउन नसकेको वडा अध्यक्ष पुनको भनाई छ । नदी कटान रोक्न यो भन्दा पहिले नै तटबन्धन निर्माण गरिएको भएता पनि सानो खालको तटबन्धन भएकाले नदिलाई छेक्न सकेको छैन ।

नदि कटान रोक्ने प्रयास पछी कर्णाली प्रदेश सरकारबाट रु १ करोड बिनियोजन गरीएको वडा अध्यक्ष पुनले बताउनु भयो । तटबन्धनका लागि रकम बिनियोजन त गरियो तर तुरुन्त काम अघि बढाइएन भने यस वर्षको वर्षामै नदिले वस्ती बगाउने जोखिम देखिएको पुनको भनाई छ ।

करिब २ रोपनी खेत नदिले बगाएपछी करिब १ विगाहा जग्गा नदिले कटान गर्ने डरले धान नै नरोपेर जग्गा बाझो राख्ने बाध्यता रहेको रजेला बासीको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्