बेलायती सत्तारुढ दलको नेतामा जोनसन

ब्रेक्जिट प्रक्रिया पुरा गर्ने प्रतिबद्धता व्यक्त



लन्डन (एजेन्सी) ।
बेलायतको सत्तारुढ दल कन्जरभेटिव पार्टीका नेतामा पुर्व विदेशमन्त्री तथा बे्रक्जिट समर्थक नेता बोरिस जोनसन निर्वाचित भएका छन् । यसले बेलायतको नयाँ प्रधानमन्त्री हुने उनको मार्ग प्रसस्त भएको छ ।

उनले पार्टी नेताका लागि भएको चुनावमा जेरमी हन्टलाई हराएका थिए । जेरेमी हन्ट हाल बेलायतका विदेशमन्त्री हुन् । जोनसनले नयाँ प्रधानमन्त्रीका रुपमा बुधबारदेखि पद सम्हाल्ने छन् । उनले टेरिजा मेको स्थान लिनेछ ।

पार्टी नेतृत्वको चयनका लागि भएको चुनावमा जोनसनले कुल मतको ६६ प्रतिशत अर्थात ९२ हजार १ सय ५३ र हन्टले मात्र ४६ हजार ६ सय ५६ मत प्राप्त गरेका थिए । कन्जरभेटिव पार्टीका कुल १ लाख ५९ हजार ३ सय २० सदस्यमध्य ८७ दशमलव ४ प्रतिशतले मतदान गरेका थिए । बेलायतका निवर्तमान प्रधानमन्त्री टेरिजा मेले उनलाई विजय भएकोमा बधाइ दिएकी छन् ।

५५ बर्षिय बोरिस जोनसन ब्रक्जिटका प्रबल समर्थक हुन् र उनले यसको पक्षमा ब्यापक अभियान चलाएका थिए । कन्जरभेटिव पार्टीका नयाँ नेता चुनिएपछि उनले अक्टोबर ३१ सम्ममा ईयुबाट बेलायत अलग हुने बे्रक्जिट प्रक्रियालाई पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

बोरिस जोनसनले भने– म आसंका गर्ने सबैलाई भन्न चाहन्छु , हामी यो देशलाई उर्जावान बनाउन गइरहेका छौं । हामी ब्रक्जिटलाई सम्भव गरी देखाउने छौ ।
एक प्रधानमन्त्रीका रुपमा देश भित्र ‘केही गरेर देखाउने भावना‘ जगाउने उनले बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोन्सलाई बेलायतको नयाँ प्रधानमन्त्री बनाउन लागेकोमा बधाइ दिएका छन् । उनी एक महान नेता प्रमाणित हुने ट्रम्पले आशा ब्यक्त गरेका छन् ।

बर्तमान प्रधानमन्त्री टेरिजा मेले अब महारानी एलिजाबेथ द्वितीयलाई आफनो राजिनामा बुझाउनु अगाडी हाउस अफ कमन्समा अन्तिम पटक प्रश्नको जवाफ दिनेछन् । मेले गत महिना नै ब्रेक्जिट मुद्दामा पार्टीमा विद्रोहपछि राजिनामाको घोषणा गरेकी थिइन् । बे्रक्जिटलाई लिएर युरोपेली संघसँग भएको सम्झौता बेलायतको संसदबाट पारित गर्न उनी असमर्थ बनिन् ।

युरोपेली संघबाट बेलायत बाहिरिने अर्थात ब्रेक्जिटका लागि भएको जनमत संग्रहपछि सत्तामा पुगेकी टेरिजा मे ब्रेक्जिट सम्झौता मस्यौदामा सहमति जुटाउन असफल भएपछि पदबाट राजिनामा दिन बाध्य भएकी हुन्् । ब्रेक्जिट सम्झौता अनुमोदन नभएको अवस्थामा बेलायतले युरोपेली संघबाट विना सम्झौता बाहिरिनु पर्ने अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस्