महिला फुटबल टोलीलाई जनही १ लाख



????????????????????????????????????

सरोज यादव, विराटनगर ।
पाँचौँ महिला साफ च्याम्पियन्सिपको उपविजेता नेपाली महिला फुटबल टोलीलाई प्रदेश १ सरकारले जनही नगद एक लाख सहित खेलाडीलाई सम्मान गरेको छ ।

प्रदेश सरकारले बिराटनगरमा सम्पन्न भएको महिला साफ च्याम्पियन्सिपमा उपविजेता भएको सो टोलीका २६ जना खेलाडीका साथ टिम ब्यवस्थापक र प्रशिक्षकलाई पनि नगद एक लाख सहित सम्मान ग¥यो । त्यस्तै प्रदेश सरकारले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण, रजत र काश्य पदक ल्याउने प्रदेश १ का खेलाडीलाई समेत नगद सहित सम्मान गरिएको थियो । खेलाडी सम्मान कार्यक्रममा बोल्दै प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई खेलकुदको राजधानी बनाउने दाबी गर्नुभयो ।

त्यस्तै सुदुरपस्चिममा भएको अन्तरप्रदेश मुख्यमन्त्री खेलकुद प्रतियोगितामा बिजेता भएका खेलाडीलाई ४ हजार देखि २० हजारसम्म नगद सहित सम्मान गरिएको छ । आठौँमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ हजार, रजत जित्नेलाई ५ हजार र ५ सय तथा कांस्य जित्नेलाई ४ हजार नगद दिइयो । आठौैँका १ सय ३९ जना खेलाडी र २८ जना ब्यवस्थापक तथा प्रशिक्षकलाई सम्मान गरिएको मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ का १३७ पालिकामा खेल मैदान निर्माणको काम पुरा भएको बताउनुभयो । उहाँले प्रदेशका १४ जिल्लामा रंगशाला निर्माणको काम पनि भएको दाबी गर्नुभयो। उहाँले अहिले निर्माण भईरहेको बिराटनगर महानगरपालिका वडा नम्बर १९को बैजनाथपुर रंगशालालाई अन्तराष्ट्रिय स्तरको बनाउनको लागि काम भईरहेकोले त्यो प्रदेश सरकारको प्राथमिकतामा रहेको जानकारी दिनुभयो । खेलाडी सम्मानका लागि प्रदेश सरकारले ३८ लाख ५० हजार खर्च गरेको छ ।

प्रतिक्रिया दिनुहोस्