पुष्पलालले देखाएको बाटो



हिजो मंगलबार नेपाली कम्युनिस्ट आन्दोलनका प्रणेता पुष्पलाल श्रेष्ठको जन्मदिनमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो । हरेक वर्ष साउन ७ गते पुष्पलाललाई छिन्नभिन्नरुपमा विभाजित भए पनि हरेक कम्युनिस्ट पार्टीहरुले सम्झने गरेका छन् । आजभन्दा ७० वर्षअघि खास उद्देश्य लिएर स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीलाई नेतृत्व दिनुभएका पुष्पलालका आकांक्षालाई अहिलेका कम्युनिस्ट पार्टीहरुले कति पूरा गर्न सफल भएका छन्, त्यसको निर्मम ढंगबाट समीक्षा गर्नुपर्ने बेला भएको छ ।

मुलुकमा अहिले उहाँले नै स्थापना गर्नुभएको कम्युनिस्ट पार्टीले सत्ता सञ्चालन गरिरहेको छ । उहाँले प्रतिपादन गर्नुभएको सिद्धान्तअनुरुप अहिले सरकार सञ्चालन नहुँदा मुलुकमा भ्रष्टाचार बढ्नुका साथै विधिको शासनमा समेत प्रश्नचिह्न खडा भएको छ । साम्यवादी लक्ष्यबाट समाजवादतर्फ उन्मुख नेपाली कम्युनिस्टहरुले आफूहरुलाई समयसापेक्ष परिवर्तन गरे पनि सत्ता सञ्चालनमा देखिएको बेथितिले भने कम्युनिस्टहरुले अंगालेको सिद्धान्तमा नै प्रश्न खडा भएको छ । जनताको शासनको परिकल्पना गरेका संस्थापक पुष्पलालको बाटोमा अहिलेका नेताहरुले आफूहरुलाई डो¥याउन सफल भएका छन् त ? भन्ने आमप्रश्न खडा भएको छ ।

पक्कै पनि उहाँले कल्पना गर्नुभएको शासन व्यवस्था नेपालमा अहिलेसम्म आउन सकेको देखिँदैन । नेताहरुले हरेक भाषणमा भन्ने गरेका छन्, ‘हामी पुष्पलालले देखाएको बाटोबाट दायाँ–बायाँ हुनेछैनौं ।’ तर उहाँले देखाएको बाटोमा अहिले कम्युनिस्टहरु हिँडेका छन् त ? यो गम्भीर विषय बनेको छ । हरेक निर्वाचनमा जनताले कम्युनिस्टहरुलाई कहिले सत्ता र कहिले प्रतिपक्षमा रहने गरी जनादेश दिएका थिए । ढेढ वर्षअघि भएको संसदीय निर्वाचनमा जनताले कम्युनिस्टहरुलाई निर्धक्करुपमा ५ वर्ष शासन गर्ने जनादेशसहितको दुई तिहाइ मत दिएका थिए । तर जनताको जनादेशलाई अहिलेसम्म सत्तारुढ कम्युनिस्ट पार्टीले सम्मान गर्न सकेको छैन । मुलुक झन्–झन् दलदलमा फस्दै गएको छ भने देशी–विदेशी तत्वहरु अहिले मुलुकमा अस्थिरता सिर्जना गर्न तल्लीन भएर लागेका छन् ।

सिद्धान्तअनुरुपको काम गर्न असफल हुँदै गएपछि संस्थापक पुष्पलालले कोर्नुभएको सिद्धान्त पनि कम्युनिस्ट पार्टीको सिद्धान्तमा नै सीमित हुने अवस्थामा पुगेको छ । कम्युनिस्ट सिद्धान्त कार्यान्वयन गर्ने पाटो अहिले ओझेलमा पर्दै गएको छ । कम्युनिस्ट सरकारको काम गर्ने शैलीलाई हेर्ने हो भने, अबको ५ वर्ष पनि जनताले दुःख–कष्ट नै भोग्नुपर्ने र अर्को निर्वाचनमा विकल्प खोज्नुपर्ने स्थिति सिर्जना हुने भय बढ्दै गएको छ । जनअपेक्षालाई सम्बोधन नगर्ने तर भाषणमा सधैँ आश मात्रै देखाउने हो भने मुलुक अझै दयनीय अवस्थातिर नजाला भन्न सकिन्न । यदि संस्थापक पुष्पलालले देखाएको बाटोमा हिँड्ने हो भने अहिलेको सरकार पूरै सुध्रनुपर्छ । उहाँले देखाएको बाटोलाई अंगिकार गर्दै अगाडि बढेमा मात्र उहाँलाई हरेक वर्ष साउन ७ गते दिइने श्रद्धाञ्जलि सच्चा श्रद्धाञ्जलि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्