फेरिदै जकपुरको मुहार, तयार हुँदै समृद्धिको आधार



मधुसूदन रायमाझी ।
नेपालको धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक पवित्रस्थल जनकपुरधाम । धनुषा जिल्लाको जनपुरधाम ऐतिहासिक पौराणिक धार्मिक महत्वको दृष्टिकोणले देशभित्र मात्र होइन विदेशमा समेत परिचित छ । देशको पहिचानसँग जोडिएको जनकपुरधाम पौराणिक एंव रामायणकालीन महत्वले धार्मिक पर्यटकीय आकर्षण केन्द्र पनि हो ।

जनकपुरधाम ऐतिहासिक मैथली सभ्यताको केन्द्रविन्दुको रुपमा संसारभर परिचित छ । राजा महर्षि जनककी छोरी सीताको जन्मस्थल जनकपुरधामबाटै राम र सीताको विवाह समेत भएको थियो । विवाह भएको तिथिलाई आधार बनाएर परम्परागत रुपमा अहिले पनि राम र सीताको विवाहउत्सव भव्यताको साथ मनाउने कामले निरन्तरता पाउदै आएको छ । राजा जनकले खेतमा हलो जोत्दा, सीतालाई खेतमैं भेट्टाउनु भएको किंबदन्ती रहेको छ ।


प्राचीन जनकपुरको वर्णन रामायण, वेद, पुराणमा समेत उल्लेख गरिएको छ । जानकी मन्दिरको वास्तुकला अनुपम छ । तर पनि अहिलेसम्म जानकी मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेको छैन् । विश्व सम्पदा सूचीमा सृचिकृत गर्ने कार्यमा जनकपुर उपमहानगरपालिकाले सक्रियता अगाडि बढाएएको छ । जकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले जनकपुरधामको महिमालाई अगाडि बढाउने कार्यमा आफूहरु लागि परेको बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘जनकपुरको विकासको लागि योजनाबद्ध रुपमा विकास निर्माणको काम अगाडि बढाएको छौ, गुरु योजना निर्माण गरेर नै काम गछौं ।’ अव्यवस्थित शहरीकरणलाई व्यवस्थित बनाउने, भौतिक पूर्वाधार निर्माणको काम अगाडि बढाउनको साथ मिथिलाको धर्म संस्कृतिको सम्बद्र्धन र संरक्षणको लागि काम गरिरहेको नगर साहले बताउनुभयो ।

जानकी मन्दिरसँगै जनकपुरधाममा रहेका पोखरीहरू पनि जनकपुरको सभ्यताका जग हुन् । जनकपुरधाम हिन्दु धर्मावलम्बीहरूका लागि एक महत्वपूर्ण आध्यात्मिक तिर्थस्थल हो । जनकपुरधाममा भव्य जानकी मन्दिरले सुसज्जित छ । जुन मन्दिर निकै आकर्षक र भव्य पनि छ । यस मन्दिर १९११ ई.स.मा निर्माण गरिएको किम्बदन्ती छ । जानकी मन्दिर नेपालकै ठूलो मन्दिरहरू मध्ये एक हो । जानकी मन्दिरका महन्तका उत्तराधिकारी रामरोशन दास पवित्रभूमि जनकपुरधामलाई सरकारले नै प्राथमिकतामा राखेर विकास गर्न सके देशभित्र मात्र नभई बाहय पर्यटकको संख्यामा समेत बृद्धि हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो,‘पूर्वाधार निर्माणलाई व्यस्थित गर्दै जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्ने कार्यलाई सरकारले प्राथमिकता दिनुपर्छ ।’


जनकपुरधाम मैथली चित्रकलाका लागि पनि प्रख्यात छ । जनकपुरधाममा छठ, विवाह पञ्चमी राम र सीताको विवाह महोत्सवको चार्ड पर्व मनाइदै आएको छ । जनकपुरधाममा हरेक बर्ष लाखौको संख्यामा धार्मिक पर्यटकहरुको भीड लाग्ने गर्छ । विशेषतया माटोको भाँडा एवं घरको भित्तामा गरिने चित्रकलाको कलाको क्षेत्रमा पनि महत्वपूर्ण स्थान छ ।

जनकपुरधामको अर्को विशेषता यहाँ रहेका पोखरी एवं कुण्डहरू हुन् । ५२ कुटी ७२ कुण्डको नामबाट ख्यातिप्राप्त ऐतिहासिक, पौराणिक तथा सांस्कृतिक महत्व बोकेका मठमन्दिर र रामायणकालीन पोखरीहरुले जनकपुरको सौन्र्दय झन बढाएको छ ।

जनकपुरधाममा रहेका महत्वपूर्ण कुण्डहरू बिहार कुण्ड, अग्नि कुण्ड, मध्यमा सर, रत्न सागर, अंगराज सर, सूर्य कुण्ड, गंगा सागर, धनुष सागर, दशरथ तलाउ, पापमोचिनी सर, परशुराम कुण्ड, जनक सरोवर, गोपाल सर, रुक्मिनी सर, मुरली सर, विडाल सर, राम सर, कपाल मोचिनि सर, महाराज सागर, पाकवति सर लगायतका ऐतिहासिक पोखरीहरु रहेका छन् ।


ऐतिहासिक पोखरी, तलाउ, मठमन्दिरकै कारण जनकपुर धार्मिक पर्यटकको प्रमुख गन्तव्यस्थल बन्न सफल भएको छ । ऐतिहासिक पोखरीहरुको संरक्षण र सम्बद्र्धनमा सरकारले पनि दिर्घकालिन योजना अगाडि सारेको छ । जनकपुरधामको पहिचान बोकेका पोखरीहरु अतिक्रमण हुने क्रम बढेपछि सरकारले संरक्षण र सौन्दर्यकरणमा ध्यान दिएको हो । जनकपुरधाममा पोखरी अतिक्रमण हुने क्रम बढदो छ ।

स्थानीयको सक्रियताकै कारण गंगा सागर पोखरीले भने पुर्नजन्म पाएको छ । जुन पोखरीमा अहिले दैनिक रुपमा साँझ आरतीको सुरुवात भएपछि धार्मिक पर्यटकहरुको आकर्षण केन्द्रको रुपमाप विकास हुन सफल भएको छ । भौतिक पूर्वाधार निर्माणसँगै पोखरीमा पर्यटक तथा स्थानीयको आकर्षण दिनानुदिन बढदै गएको छ । दुई नम्बर प्रदेशका सांसद समेत रहनुभएका सामाजिक अभियन्ता रामआशिष यादव स्वच्छ र सफा जनकपुरधाम निर्माणको अभियान आफूहरु लागि परेको बताउनुहुन्छ । ‘सरकारको साथसँगै विकास निर्माणमा स्थानीयवासीको भूमिका पनि महत्वपूर्ण छ’, उहाँले भन्नुभयो,‘ऐतिहासिक धार्मिक र सांस्कृतिक महत्व बोकेका धरोहरलाई व्यवस्थित मात्र गर्न सके जनकपुरधाम प्रमुख धार्मिक पर्यटकीय गन्तव्यको रुपमिा विकास गर्न सक्छौं ।’ मिथिलाको राजधानी जनकपुर क्षेत्रमा २०८ भन्दा बढी पोखरीहरु भएकोमा हाल १५६ भन्दा बढी पोखरी लोप भइसकेका तथ्याङ पाइन्छ ।


जनकपुरधामभित्र रहेको अव्यवस्थिति शहरीकरणलाई व्यवस्थित बनाउने, सडक, नाला, ढल फुटपात लगायतका भौतिक पूर्वाधारलाई योजनाबद्ध रुपमा अगाडि बढाउने मुख्य उदेश्यको साथ सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाले विकास निर्माणको काम धमाधम अगाडि बढाएको छ । संघीय आयोजना कार्यान्वय इकाईले सघन शहरी विकास कार्यक्रम अन्तर्गत ऐतिहासिक विशहरि पोखरीको सौन्दर्यकरण र भौतिक पूर्वाधार निर्माणको काम अगाडि बढाएको हो । जानकी मन्दिरसँगै रहेको तेलहा र मडहा पोखरीको सौन्दर्यीकरणको काम अगाडि बढेको छ । आधुनिक र योजनाबद्ध रुपमा विकास निर्माणको काम अगाडि बढाएर जनकपुरको मुहार नै परिवर्तन गर्ने कार्यक्रम सरकारले अगाडि सारेको छ । .

जनकपुरधाममा रहेको महाराजसागर (दशरथ तलाउ) पोखरीको पहिलो चरणको काम सम्पन्न भइसकेको छ भने दोस्रो चरणको कार्यक्रम अन्तर्गत बगैचा सहितको सौन्दर्यीकरणको काम अगाडि बढेको छ । पोखरीहरूले वातावरणीय सन्तुलन बचाउने योजना सहित शहरी विकास मन्त्रालयले काम गरिरहेको छ । पोखरीहरुको संरक्षण र संरक्षण गर्ने कामले अधिकांश समय गर्मी हुने जनकपुरको तापक्रमलाई समेत केही हदसम्म नियन्त्रण गर्न मद्दत गर्ने विश्वास लिइएको छ । पोखरीहरू संरक्षण गरेर आकर्षक बनाउन सकिए पर्यटक तान्न थप सहयोग पुग्नुका साथै पर्यटन व्यवसाय फस्टाउन ठूलो माध्यम बनाउन सकिने स्थानीय बताउछन ।


राम र सीताको स्वयंवर भएको मणिमण्डको विकास गर्ने योजना पनि सरकारले अगाडि सारेको छ । मनिमण्डपमा स्वयंवर गर्नेस्थल, धर्मशाला, विवाहको लागि जन्ती आउदा बस्ने विश्रामस्थल, धर्मशालाको साथै आधुनिक भवन निर्माणको काम अगाडि बढेको छ । सीतापुष्प बाटिका निर्माण अन्तर्गत मणिमण्डपको विस्तृत प्रोजेन्ट रिपोर्ट तयार गरेर निर्माणको काम धमाधम अगाडि बढेको छ । यस मणिमण्डपलाई थप विकास गर्दै लैजाने नीति सरकारले लिएको छ ।

राजा जनकले सीतासँग विवाहका लागि स्वयंवर आयोजना गर्नुभएको स्थल शिवपुर गढीमा स्वयंवको क्रममा रामले शिवधनुषमा धनुषमा तांदो चढाउन लाग्दा अत्यधिक वजनले सो धनुष खण्डीत हुन पुगेको र धनुषको एक टुक्रा झरेको स्थानलाई धनुषाधाम भनिन्छ । यसैबाट जिल्लाको नाम धनुषा भनी नामाकरण भएको पुष्टि हुन्छ । धनुष भाचिएकोस्थल शिवपुर गढीलाई पार्कको रुपमा विकास गर्न स्वमीङ पुल सहितको सुविधा सम्पन्न पार्क बनाउने योजना पनि शहरी विकास मन्त्रालयले अगाडि सारेको छ ।

नेपालका पहिलोे रेलवे सेवा यसै स्थानमा पर्दछ । नेपाल र भारतको सिमानालाई रेलवाट जोडने यातायात सेवा जनकपुरमा रहेका कारणले पनि जनकपुरकोप्रति आकर्षण बढदै गएको छ । रेलवे सेवा पुनः सञ्चालनमा आउने भएपछि जनकपुरवासी थप उत्साहित भएका छन् ।

प्रदेश २ को अस्थायी राजधानी तथा प्राचिन मिथिलाको राजधानी जनकपुर मैथिली सभ्यताको केन्द्रविन्दु समेत हो । शहरको मध्य भागमा रहेको धनुषसागर, गंगासागर र अंगराजसर पोखरीहरू यहाँका पहिचान हुन् । जनकपुरधामभित्र रहेका पोखरी र मठ मन्दिर सबैका साझा सम्पत्ति हुन् । यस्ता ऐतिहासिक धरोहरहरुको संरक्षण, सम्बद्र्धन र व्यवस्थापनमा सरकारले पर्याप्त रुपमा ध्यान दिन जरुरी छ ।

शहरलाई व्यवस्थित बनाउन लागि परेका छौं


गंगा प्रसाद यादव
प्रमुख, संघीय आयोजना कार्यान्वय इकाई, धनुषा

जनकपुरधामभित्र रहेको अव्यवस्थित भौतिक पूर्वाधार निर्माणलाई व्यवस्थित बनाउने काम योजनाबद्ध रुपमा अगाडि बढाइएको छ । सडक, नाला, फुटपाथ, ढल निकास, पोखरीहरुको संरक्षणसँगै सौन्दर्यकरणको काम भइरहेको छ । अहिले मुख्य बजारको सडकलाई व्यवस्थित बनाउने कार्यक्रम सञ्चालन भइरहेको छ ।

जनकपुरधामको बोलबमदेखि जनकपुर अञ्चल अस्पताल हुँदै नेपाल टेलिकमको कार्यालसम्म जाने सडकको स्तरउन्नती काम धमाधम भइरहेको छ । त्यसैगरी एक शहर एक पहिचान कार्यक्रम अन्तर्गत मिथिला कला कृति सहितको सांस्कृतिक केन्द्र निर्माणको साथै ऐतिहासिक संस्कृतिको सम्बद्र्धन गर्ने काम पनि भइरहेको छ । जनकपुरमा हाल एकीकृत शहरी पूर्वाधार विकासको कामले गति लिएको छ । शहरी विकास मन्त्रालयले एकीकृत शहरी विकास आयोजना अन्र्तगत ३१ किलोमिटर नाली र १० किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ ।

संघन शहरी विकास कार्यक्रम अन्तर्गत १७ किलोमिटर सडक मध्ये पाँच मिलोमिटर सडक सम्पन्न भइसकेको छ । एक दर्जन पोखरीको सौन्दर्यकरणको काम पनि अगाडि बढेको छ । जस मध्ये ६ वटा पोखरीको सौन्दर्यकरण गर्ने काम सम्पन्न भइसकेको छ । जनकपुरधामलाई आधुनिक र सुविधा सम्पन्न बनाउने नीति अनुसार विकास निर्माणको कामले गति लिएको छ । विकास निर्माणको काम अगाडि बढाउनको लागि स्थानीयवासीको पनि साथ र सहयोगको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्