पहिरोमा परेर ११ को मृत्यु

पहिरोमाथि गाउँ, दुई सय घर रित्तै, विद्यालयमा बास



अनिल खत्री, गुल्मी । सत्यवती गाउँपालिको विभिन्न ठाउँमा मंगलबार बिहान गएको पहिरोमा परी ११ स्थानीयको मृत्यु भएको छ भने दुई व्यक्ति हराइरेका छन् । गाउँपालिकाको दुई वटा वडाको तीन घरमा पहिरोले घर पुरिंदा यो दुखद घटना भएको हो ।

मंगलबार दिनभर उद्धार तथा राहतका लागि केन्द्र तथा स्थानीय स्तरबाट विभिन्न प्रयास भए । काठमाडौंबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली हेलिकोप्टरमार्फत रातहसहित प्रभावित क्षेत्रमा पुग्नुभयो भने प्रदेश नम्बर ५ बाट सामाजिक विकास मन्त्री सुदर्शन बराल औषधि, टेन्ट र भाँडाकुडासहित सरिक हुनुभयो ।

मन्त्री ज्ञवालीका साथ गृह मन्त्रालयका सह–सचिव इन्दु घिमिरे, डक्टर रेशम ज्ञवाली, मन्त्रीका प्रेस सल्लाहाकार सुदन ज्ञवाली सहितको टोली राहतमा सहभागी छ । परराष्ट्रमन्त्रीका प्रेससल्लाहकार सुदन ज्ञवालीका अनुसार मन्त्रीहरु ज्ञवाली र बरालले जिल्लाको सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा पहिरोमा पुरिएर मृत्यु हुनेहरुप्रति दुख व्यक्त गर्दै राहत र उद्धारमा जुट्न सबैमा आग्रह गर्नुभयो ।

गुल्मी क्षेत्र नम्बर १ मा पर्ने उक्त स्थान ज्ञवाली र बरालको निर्वाचन क्षेत्र हो ।
मामाघर गएकाले बचे विक मृतकहरुमा अधिकांश विक छन् । सत्यवती गाउँपालिकाको लिम्घामा ८ जनाको र ठूलो लुम्पेकमा २ जना पहिरोमा पुरिए । एक जनाको भने पहिरोबाट बच्नका लागि भाग्ने क्रममा मृत्यु भएको हो । सत्यवती गाउँपालिका वडा नम्बर ४ को लिम्घाका मृतकमध्ये ६ जनाको शव बाहिर निकालिएको छ । अरु दुई जनाको शव निकाल्ने काम भइरहेको छ ।

पहिरोमा परेर मृत्यु हुनेहरुमा ६५ वर्षीय छल्ली बिक, २८ वर्षीय कम्बु बिक, २५ वर्षीय निर्मला बिक, १२ व्क्षर््ँीइ अंजली बिक, १० वर्षीय हेमन्त बिक, ७ वर्षीय शिवानी बिकको शब बाहिर निकालिएको प्रहरीले जनाएको छ । त्यस्तै सोही गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडाको पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९वर्षीय दर्शन त्रामु र पहिरोबाट बच्न भाग्ने क्रममा ६३ वर्षीय दुर्गाबहादुर सिंजालीको मृत्यु भएको हो ।

पहिरोमा ८ वर्षीय तारा बिक ६ वर्षीय सुमन बिकको शब निकाल्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रवीन्द्र खड्काले बताउनुभयो । एक जना वालक सन्दीप बिक मावली घरमा गएकाले बाँच्न सफल भएका छन् ।

ठूलोलुम्पेमा रुद्र बिकको घर पहिरोले पुरिएको छ । ४० वर्षीय माया बिक र १६ वर्षीय गबि बिक बेपत्ता भएका छन् । पहिरोका कारण दुई जना घाइते भएका छन् । यसैगरी, सत्यवती ४ का १० वर्षीय करिश्मा त्रामु र १३ वर्षीय धनी त्रामुको घाइते छन् । सोमबार रातिदेखि परेको अबिल वर्षाका कारण पहिरो गएको हो । मंगलबारको बिहान राति सुतिरहेका स्थानीयहरु यस प्रकोपमा परेका हुन् ।
उद्धारको लागि जिल्लाबाट प्रहरी नायव उपरीक्षक मिनबहादुर घले, सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश रामयमाझी सहितको टोली घटना स्थल पुगेर मंगलबार बिहानैबाट उद्धार कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।

पहिरोको त्रासमा दुई सय घर
गएरातिदेखि परेको वर्षातका कारण ठूलो लुम्पेकको करिब दुई सय घर जोखिममा रहेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताउनुभयो । सिङ्गो गाउँ नै पहिरोको प्रभावित रहेकाले संख्याको आँकलन गर्न सकिने अबस्था नरहेको अध्यक्ष ढकालले बताउनुभयो ।

घरहरु जोखिममा रहेकाले स्थानीय वासिन्दा विद्यालयमा बसेका छन् । कुनै पनि समयमा पहिरो खस्ने डरले स्थानीय त्रसित छन् । उनीहरुलाई खानपिनको लागि वडा कार्यालयले व्यवस्था गरेको छ । पहिरो प्रभावित क्षेत्रमा जिल्लाबाट रेडक्रम, जिल्ला समन्वय समिति, नेकपाका अरु राजनितिक पार्टीका नेता तथा कार्यकर्ता र स्थानीयहरु प्रभावित क्षेत्रमा उद्धारको लागि खटिएका छन् ।
घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ पर्दछ । घटना स्थल पुग्न सदरमुकामबाट करिब ३ घण्टा लाग्छ ।

प्रतिक्रिया दिनुहोस्