प्राध्यापकको अधिवेशन तीन सातादेखि ‘चलेको चल्यै’

प्राज्ञिक क्षेत्रमा दलीय ‘म्याच फिक्सिङ’



रामकृष्ण चापागाईं, काठमाडौं ।
असार १९ गते शुरु भएको नेपाल प्राध्यापक संघको अधिवेशनले अहिलेसम्म पनि नेतृत्व चयन गर्न सकेन । अधिवेशन चलेको चल्यै छ कि बन्द भयो औपचारिक जानकारी दिइएको छैन ।

विभिन्न विश्वविद्यालयमा पदाधिकारी हत्याउने दाउमा रहेको वैचारिक संगठनको चंगुलमा परेका कारण प्राध्यापक संघ ‘निकम्मा’ बनेको टिप्पणी यसको व्यावसायिक विकास चाहनेहरुको छ ।

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको निर्देशनमा चल्ने र विधानले चिन्दै नचिन्ने प्राध्यापकहरुको वैचारिक संगठनहरुसँग साँठगाँठ गरी प्राध्यापन संघको नेतृत्व चयनको प्रक्रिया सार्ने काम भइरहेको छ । प्राध्यापकहरुको एकमात्र आधिकारिक संगठन नेपाल प्राध्यापक संघ राजनीतिको नग्न चंगुलमा फसेका प्रमाणित भएको छ ।

संघमाथि राजनीति गर्नेहरुले महाधिवेशनमा भाग लिन देशभरबाट आएका ३ सय २२ प्राध्यापकलाई रनभुल्लमा परेका छन् ।

प्राधापक संघको असार १९ देख २१ सम्म महाधिवेशनको मिति तोकेको थियो । यो तीन दिनको अवधिमा विधानअनुसार महाधिवेशन उद्घाटन बन्दसत्रलगाएका सबै कार्यक्रम भए । विभिन्न प्रस्तावहरु पनि पारित भए । नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया शुरु भएपछि वैचारिक संगठनहरु सलबलाउन थाले । निर्वाचन समितिले तीनै वैचारिक समूहहरुको इच्छाअनुसार कार्य गर्दा अहिलेसम्म नेतृत्व चयन हुन सकेन ।

विभिन्न राजनीतिक दलहरुको वैचारिक संगठनको रुपमा प्रजातन्त्रवादी प्राध्यापक संघ, प्रगतिशील प्राध्यापक संगठन र राष्ट्रिय प्राध्यापक संगठन सक्रिय छन् । यी वैचारिक संगठनको निर्देशनअनुसार नै निर्वाचन समितिले २१ गते शुरु गरेको निर्वाचन प्रक्रिया अझै सम्पन्न भएको छैन । २१ गते स्थगित गरेको प्रक्रिया श्रावण ४ गते निर्वाचन गर्ने गरी कार्यतालिका निकालिएको थियो । श्रवण ४ गते विहान उम्मेदवारी मनोनयन गर्ने र बेलुकी ५ बजेसम्म निर्वाचन सम्पन्न गर्ने कार्यतालिका रहेको थियो ।

श्रावण ४ गते निर्वाचनका लागि उम्मेदवारी दर्ता पनि भयो । अध्यक्ष प्रत्यक्ष निर्वाचित र २० सदस्य समानुपातिक निर्वाचित हुने विधानमा उल्लेख छ । अध्यक्षमा एकमात्र उमेदवारी दर्ता भयो । सदस्यमा भने २९ जनाको उम्मेदवारी परेपछि वैचारिक संगठनहरु फेरि सलबलाउन थाले । वैचारिक संगठनहरुले भागवण्डामा उम्मेदवारी दर्ता गर्ने भनेका थिए । तर प्राध्यापकहरुले पार्टीको ह्वीप मानेनन् ।

सदस्य २९ मध्ये वामपन्थी खेमाबाट ११ जना भनिएकोमा १७ जना भए । प्रजातान्त्रिक खेमाबाट १० भनेकोमा ११ जनाको उम्मेदवारी दर्ता भयो । २९ मध्ये एकले उम्मेदवारी फिर्ता लिएपनि बाँकी २८ भएपछि निर्वाचन समिति निर्वाचन गराउनबाट पछि हट्यो ।

राजनीति शात्र शिक्षा केन्द्रीय विभाग कीर्तिपुरका निवर्तमान विभागीय प्रमुख केशवराज पौडेल भन्नुहुन्छ– निर्वाचन समितिले फेरि वैचारिक संगठनसँंग छलफल गरी अस्ति सोमबार दिउँसो १ वजे सम्म उमेद्वारी फिर्ता लिने समय दिया । वैचारिक संगठन त सबै अवैधानिक हो भन्दै पौडेल थप्नुहुन्छ ‘वैध भनेको त निर्वाचन समिति र उम्मेदवार हुन उनीहरुवीच पो छलफल हुनुपर्छ ।’

विधानले नचिन्ने वैचारिक संगठनले नेपाल प्राध्यापक संघमाथि पटक–पटक हस्तक्षेप गरे र निर्वाचन समितिले पनि साथ दियो भन्दै पौडेलले सोमबारै यथाशीघ्र अर्को कार्यक्रम प्रकाशित गर्नेगरी निर्वाचन समूहले अनिश्चित कालका लागि निर्वाचन प्रक्रिया रोक्ने षडयन्त्र गरेको प्राध्यापकहरुले आरोप लगाएका छन् । प्राध्यापक संघमा ३ सय २२ सदस्य छन् । लामो समय यसरी झुलाइराखेपछि उनीहरु सबै आ–आफ्नो कार्यक्षेत्र जाने र यही मौकामा आपूm अनुकूलको मान्छे नेतृत्वमा ल्याउने प्रयास भैरहेको प्राध्यापकहरुको आरोप छ ।
निर्वाचन समितिमा प्रा.डा. रामप्रसाद ज्ञवाली संयोजक हुनुहुन्छ ।

नेपाल प्राध्यापक संघको महाधिवेशनमा प्राध्यापकहरुको वैचारिक संगठनले किन हस्तक्षप गरिरहेका छन भन्ने बारेमा सोधपुछ गर्दा प्राध्यापकहरु भन्छन्– निकट भविश्यमै विभिन्न विश्वविद्यालयमा पदाधिकारीहरु खालि हुदै छन्, त्यसको नेतृत्वमा आफूहरु पुग्नको लागि पूर्व तयारी हो । सोमबारबाट त्रिवि सेवा आयोगको प्रमुख पद खालि भएको छ । भदौको पहिलो साता भिसि, रजिष्ट्रार, रेक्टरलगायत पदाधिकारीको म्याद सकिदै छ ।

लामो समय प्राध्यापनमा सक्रिय भएका गौरीवहादुर दवाडी भन्नुहुन्छ– प्राध्यापक संघमा आफ्नो हैसियत देखाएर विश्वविद्यालयको विभिन्न पदाधिकारीमा आफ्नो नियुक्ति निश्चित गर्न वैचारिक संगठनका पदाधिकारीहरु अहिले हात धोएर लागेका छन् ।

तत्कालीन एमाले निकट प्रगतिशील प्राध्यापक संगठन अध्यक्ष प्रा.डा. यादव लामिछाने रिटायर्ड भएको दुईवर्ष भैसके । तत्कालीन माओवादी निकट राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष रमेश भट्टराईले आफ्नो संगठनमा अहिले सम्म अधिवेशन गराउनु भएको छैन । कांग्रेस निकट प्रजातान्त्रिक प्राध्यापक संगठनका अध्यक्ष जगत तिमल्सिना आफ्नो संगठनको अधिवेशनमा ७ सय ३१ प्रतिनिधि उपस्थित भएपनि ९ सय ६८ मत ल्याएर विजयी हुनुभयो ।

तत्कालीन अवस्थामा तिमल्सिनाले वुथ कब्जा गरेको आरोप लागेको थियो ।
विभिन्न राजनीतिक दलहरुको वैचारीक संगठनको चंगुलमा परेर निर्वाचन समितिले नेपाल प्राध्यापक संघको निर्वाचन टार्दै लगेको सन्दर्भमा सोधिएको प्रश्नमा निर्वाचन समितिका संयोजक प्राडा. रामप्रसाद ज्ञवाली भन्नुहुन्छ– उम्मेदवार सरोकारवालाहरुले हामी सहमति गर्छौं भनेकोले यथाशीघ्र निर्वाचन कार्यतालिका प्रकाशित गर्नेगरी दुई–चारदिन पेन्डिङमा राखिएको हो ।

प्रतिक्रिया दिनुहोस्