विवादमा पाटनको पोखरीः हतारमा खन्ने कि तयारीका साथ खन्ने ?



नेपाल समाचारपत्र, ललितपुर । ललितपुर महानगर कार्यालयसँगै दक्षिणपट्टि रहेको साढे पाँच रोपनीको खुला स्थलमा असारको ३१ गतेसम्म पर्यटकका सवारी साधन पार्किङ्ग भइरहेको थियो । साउन १ गते एकाएक पोखरी शिलान्यास भएपछि यो स्थानको चर्चा चुलियो ।

पार्किङ्ग भइरहेको उक्त स्थानको टेण्डर आव्हान गरेसँगै उक्त स्थानको चर्चा चुलिएको हो । नः त्वाः मंका खलले उक्त स्थानमा पोखरी बनाउन माग गर्दै साउनको १ गते शिलान्यास गरेको थियो ।

पाटन दरबारलगायत पर्यटकीय क्षेत्र भ्रमण गर्न आउने पर्यटकको सवारी साधन पार्किङ्ग सञ्चालन गरिएको उक्त स्थानमा विसं २०२१ सालसम्म पोखरी थियो । त्यतिबेला राजकुलोबाट त्यो पोखरीमा पानी आउँथ्यो । त्यस पोखरीको वरिपरि बस्ती बढेसँंगै राजकुलो मासियो । पोखरीमा पानी जम्मा हुन नसकेपछि सुख्खा मैदानमा परिणत भयो ।

मैदान बनेको उक्त पोखरी रहेको स्थानमा वि.सं २०५४ साल महानगरको सक्रियतामा सभाहल बनाउन शिलान्याससमेत भएको थियो । तत्कालीन उपमहानगरपालिकाका मेयर बुद्धिराज बज्राचार्यको पहलमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सभाहल निर्माणका लागि शिलान्यास गर्नुभएको थियो ।

सोही स्थानमा पोखरी नै बनाउनुपर्ने स्थानीयहरुको मागका कारण उक्त सभाहल बनाउने कार्यले सार्थकता पाउन सकेन । तत्कालीन मेयर बुद्धिराज बज्राचार्यले जोखिम मोल्न चाहनुभएन । फलस्वरुप त्यो स्थान फोहोर फाल्ने स्थानको रुपमा परिणत हुँदैगयो । फोहोर र दुर्गन्धले स्थानीयहरु आजित भए । त्यसपछि यस्तो कार्यले शहर दुर्गन्धित र कुरुप बनाउने निष्कर्षसहित तत्कालीन उपमहानगरले उक्त स्थानको संरक्षण गर्ने र सो स्थानमा पार्किङ्ग सञ्चालन गर्ने निर्णय लियो ।

पोखरी संरक्षण हाम्रो मुख्य दायित्व हो । समय आएपछि हामी सो स्थानमा पोखरी नै निर्माण गर्छौं । –चिरिबाबु महर्जन

सो वेलामा २० हजार रुपियाँ मासिक उपमहानगरपालिकालाई बुझाउने गरी टेण्डरमा लगाइएको थियो । त्यसवेला नःटोलका स्थानीयहरुले नै टेण्डर पाएका थिए । सो टेण्डरको म्याद सकिएपछि उपमहानगरपालिका रहँदैको समयमा पुनः टेण्डर गरियो । तत्कालीन ललितपुर उपमहानगरपालिका कार्यकारी अधिकृत भरतमणि पाण्डेको कार्यकालमा टेण्डर खोलिएको थियो ।

दुई पक्षबीच तनाब बढाउने काममा नगर प्रहरी प्रमुख कदमलाल महर्जनको हात रहेको महानगरपालिकाको आरोप छ । महानगरपालिकाका प्रवक्ता राजु महर्जनले नःटोलका स्थानीयबासी महर्जन उपमहानगरको प्रहरी प्रमुख भएपछि स्थानीयहरुलाई हातमा लिएर त्यस बेलाको टेण्डरमा सहभागी भएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो–आगामी वर्ष नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी सो स्थानमा पर्यटक बसपार्क बनाउने र भविष्यमा महानगरले सो स्थानमा पोखरी नै बनाउने निर्णय गरिसकेको छ । उहाले टेण्डर पाइसकेपछि आन्दोलन गर्नुको कुनै औचित्य नभएको धारणा राख्दै अब टेण्डरको सम्झौता सकिएपछि पुनः पोखरी निर्माण प्रक्रियामा जाने बताउनुभयो ।

पोखरी बनाउन डिपिआर तयार गर्नुपर्छ, वातावरणीय परीक्षण गर्नुपर्छ, त्यसको लागि विस्तृत योजना बनाएर काम गर्न केही समय कुर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । तर प्रक्रिया पूरा भैसकेको अवस्थामा स्थानीयको नाममा नगरप्रहरीकै संलगनतामा आन्दोलन गर्नु उचित नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो–पोखरीको विषयमा त चर्चा चल्यो तर सो स्थानमा समितिले कब्जा जमाएर भोज खाने भवन निर्माण गर्नु गलत छ ।

उहाँले अब पोखरीनै निर्माण गर्ने हो भएपछि सो क्षेत्रमा अनधिकृत रुपमा निर्माण गरिएको भवनलगायत संरचना भत्काउनुपर्छ । उहाँले कदमलाल उहाका परिवारका सदस्यले टेण्डर पारेर पटक पटक पार्किङ स्थल सञ्चालन गर्दा त्यतिबेला नै पोखरी बनाउनुपर्ने कुरा उठाएको भए हालसम्म पोखरीको केही संरचना निर्माण भैसक्ने उहाँको भनाइ थियो ।

स्थानीय निकायको कर्मचारी नभएको अवस्थामा नगर प्रहरी प्रमुखसमेत रहेका महर्जनले तत्कालीन कार्यकारी प्रमुखलाई दवाव र प्रभावमा पारेर टेण्डरमा सहभागिता जनाउन सफल भएको आरोप महानगरको छ । पछिल्लो समयसम्म पार्किङ सञ्चालन गरेको नः टोल पलेस्वा पुखु संरक्षण समितिले मासिक ४० हजार रुपियाँमा ३ वर्षसम्म पार्किङ्ग सञ्चालन गरेको थियो ।

पयटन बर्षलाई लक्षित गरी हाललाई बसपार्क र भविष्यमा पोखरी नै बनाउने निर्णय गरिसकका छौं । – राजु महर्जन

उक्त अबधिमा भएको टेण्डरको सम्झौताअनुसार प्रत्येक वर्ष निश्चित प्रतिशत बढ्दै जाँदा यो असारमसान्तसम्म ५७ हजार पुगेको थियो । जुन अहिलेको समयमा अत्यन्तै न्युन भएको महागरका राजस्व विभाग प्रमुख दिल्लीराज शाक्य भन्नुहुन्छ ।

महानगरपालिकाले गत जेठ १० गते टेण्डरको सूचना प्रकाशित गरेको थियो । शाक्यका अनुसार महानगरपालिका वडा नं. ८ पिन्छे निवासी विनोद महर्जनले मासिक १ लाख ६१ हजारमा टेण्डर पाउनुभयो । राजस्व प्रमुख शाक्यले भन्नुभयो– ‘टेण्डर प्रक्रियामा जाँदा सबैभन्दा बढी बोलकबोलकर्ताले नै टेण्डर पाउँछन् । टेण्डरबाट प्राप्त हुने रकम महानगरको आम्दानी हो । जुन आम्दानी जनताको हितको लागि नै प्रयोग हुने हो ।’ तर, अहिले स्थानीयको अवरोधको कारण कारण काम सुचारु भएको छैन ।

प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले महानगपालिकाको नियम र कानुनविपरीत गएकोले नगरप्रहरी महर्जनलाई हाललाई निलम्बन गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– महानगरको राजश्व संकलन कार्यमा व्यवधान गरेको र पार्किङको राजश्व संकलन गर्ने विषयमा अवरोध गरेकोले नगरप्रहरी महर्जनलाई प्रहरी निर्देशिका अनुसार हाललाई निलम्बन गरेका हौ ।

महानगरका मेयर चिरीबावु महर्जनले ‘पोखरीहरु हाम्रो सम्पदा हुन्, हामी जनप्रतिनिधि भएर आइसकेपछि पिम्बहाल पोखरी, पूर्णचण्डी पोखरी लगायतका थुप्रै पोखरीहरुको पुनर्निर्माण र जर्णिोद्धार गर्न सफल भएका छौं । यस पोखरीका विषयमा पनि एकै रातमा सबै कुरा तयारी गर्न सकिंदैन, पोखरी संरक्षण हाम्रो मुख्य दायित्व हो ।

समय आएपछि हामी सो स्थानमा पोखरी नै निर्माण गर्छौ ।’ उहाँले प्रक्रिया पूरा गरी पार्किङ शुल्क उठाउने जिम्मा पाइसकेको निकायलाई राजस्व संकलन गर्न नदिने र तालाबन्दी गर्नेसम्मको कार्य गलत भएको बताउदै तत्काल ताला खोली शुल्क उठाउने कार्यसञ्चालन गर्न आग्रह गर्नुभयो । विगत ७–८ बर्ष अघिदेखि सो स्थान पर्यटक बसपार्कको रुपमा ठेक्कामा लगाउँदै आइरहेकोमा ठेकेदारले बुझाउने रकम धेरै न्यून देखिएपछि महानगरले टेण्डर आब्हान गरेको उहाँले दोहो¥याउनुभयो ।

ममाथि लगाइएको आरोप भुटो हो: कदमलाल महर्जन


म एक सामाजिक प्राणी हुँ । समाजमा बसेपछि समाजले आयोजना गरेको कुनैपनि कार्यक्रममा मेरो उपस्थित हुनु स्वाभाविक हो । तर महानगरपालिकाले नःटोलस्थित पलेस्वा पुखुःमा पार्किङको विषय मेरो संलग्नाता रहेको आरोल लगाएर ममाथि अन्याय गरी २ गते निलम्बन गरेको चिठ्ठी ६ गते थमायो । नः टोल पलेस्वा पुखु (पोखरी) रहेको जग्गामा मैले पार्किङ सञ्चालन गरेको आरोप झुटो हो । पोखरीको जग्गामा पार्किङ सञ्चालन गर्ने निकाय नः टोल पलेस्वा पुखु संरक्षण समिति हो । म नःटोल मंका खलको अध्यक्षको हैसियतले पोखरी शिलान्यास कार्यक्रममा सहभागी भएको हुँ ।

महानगरको प्रहरी प्रमुखको हैसियतले मैले महानगरको कानुनअनुसार चल्नु पर्छ । तर मलाई कुनै जानकारी नै नदिई मलाई निलम्बन गरिएको छ । यो विषयमा के गर्ने भन्ने विषमा छलफल गरिरहेको छु । पोखरीको बसपार्क सञ्चालनमा मेरो कुनै संलग्नता छैन । टोलवासीले गरेको कार्यक्रममा म जानै नहुने भन्ने प्रश्न गर्नु सरासर गलत हो । ४० टोलका ज्यापु समाजका अध्यक्षहरुको उपस्थिति रहेको क्षेत्रमा म पुग्नु मरो दायित्व हो । हामीले विगत ३ वर्षदेखि नै सो क्षेत्रमा पोखरी बनाउने विषयमा तत्कालीन ललितपुर उपमहानगरपालिकालाई जानकारी गराइसकेका थियौं ।

महानगरपालिका भवन रहेको जग्गासहित चार वटा पोखरी रहेको सो क्षेत्रको पानी मुहानमा पोखरी बनाउनु र मुहान जोगाउनु हाम्रो दायित्व हो । हामीले पोखरी बनाउने ठाउँमा पुन पार्किङ गर्न नहुने भएपछि नटोलका कोही पनि टेण्डर प्रक्रियामा सहभागी नभएको हो । हिजो मंगलबारदेखि पोखरी नबनाउने निर्णय गरेसम्म स्थानीयले पार्किङ क्षेत्रमा ताला लगाइदिएका छन् । बि.सं २०२६ सालमा ब्यक्तिको नाममा दर्ता भएको पोखरी हाम्रै पहलमा अदालतको निर्णयपछि पोखरी कायम गर्न सफल भएका छौ । सो क्षेत्रमा पोखरी नै बनाउँछौं ।

पोखरी अहिले नै बन्नुपछ

वावुराजा महर्जन, अध्यक्ष, नः टोल पलेस्वा पुखु संरक्षण समिति
हामीले वेवारिसे ठाउँलाई व्यवस्थित गर्न केही समय बसपार्क सञ्चालन गरेका हौं । तत्कालीन ललितपुर उपमहानगरपालिकाले सो क्षेत्र संरक्षण गर्न आग्रह गरेपछि शुरुमा ५ हजार त्यसपछि २० हजार र हाल मासिक ४१ हजार रुपियाँमा पार्क व्यस्थित गरेका हौं ।

महानगरपालिकाले हामीमाथि लगाएको आरोप गतल छ । पोखरी बनाउनुपर्ने मुख्य दायित्व हाम्रो हो । सो स्थानमा पुन पोखरी नै निर्माण गर्नुपर्छ भनेर हामीले टेण्डर नहालेका हौं । दुब्यसनी बस्ने स्थान भएपछि हामीले २०७१ सालदेखि सो स्थानको संरक्षण गरेका हाैं ।

पोखरी बनाउनुपर्ने माग गर्दै हामीले उपमेयर गीता सत्याललाई ज्ञापनपत्र बुझाइसकेका थियौं । स्थानीयवासीको मागलाई वेवास्ता गरेर टेण्डर खोल्नु नै महानगरको गलत निर्णय हो । हामीलाई टेण्डर नपाएर आन्दोलन गर्दै हिडेको आरोप लगाउनु गलत हो ।

 

प्रतिक्रिया दिनुहोस्