धरानका उपकुलपतिको घूसको छिटा

खनिया खनिए सरकारको नीतिमाथि



त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको ४७औँ वार्षिकोत्स तथा त्रिवि शिक्षण अस्पतालको ३७औँ बार्षिकोत्सव बिशेष कार्यक्रमको आयोजना गरि आइतबार एकै साथ मनायो ।

समारोहमा बोल्दै त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले सरकारले भिसउपकुलपतिहरूलाई साथ दिनुपर्ने हो तर धरानका उपकुलपतिको जस्तो अवस्था आउन नदिन आफु सचेत भए पनि सरकारको साथ नपाएको बताउनुभयो । बिपी स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार मन्त्रीसित साँठगाँठ नमिल्दा हटाइएका थिए भने सर्वोच्चबाट पुनर्बहाली भएका रौनियार केही साताअघि घुससहित अख्तियारको फन्दामा परेका छन् । दुबै संस्थाको संयुक्त रुपमा बार्षिकोत्सव मनाईरहदा प्रस्तुत गरिएको प्रगति विवरण सुनेर डा.खनियाले खुशी व्यक्त गर्नुभयो ।

चिकित्साशास्त्र अध्ययन संस्थानको प्रतिवेदन प्रस्तुत गर्दै डिन प्रा.डा. जगदीशप्रसाद अग्रवालले संस्था सुरुवातको चरणमा महाराजगन्ज मेडिकल क्याम्पसमा स्नातक तहका सीमित कार्यक्रमहरूमा वार्षिक ३० देखि ४० जना विद्यार्थी भर्ना गराई अध्यापन गराउँदै आएकोमा हाल स्नातक तहका विभिन्न कार्यक्रममा वार्षिक १ सय ४० देखि ५० जना, स्नातकोत्तर तहमा १ सयभन्दा बढी र विद्यावारिधिका विभिन्न कार्यक्रममा वार्षिक २० जना विद्यार्थीलाई अध्यापन तथा तालिमको व्यवस्था गर्दै आएको बताउनुभयो ।

डा. अग्रवालले चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत आंगिक तथा सम्बन्धनप्राप्त कलेजहरूको आर्थिक वर्ष ०७४/७५ का विभिन्न शैक्षिक कार्यक्रममध्ये स्नातकोत्तर तहमा २ सय ४४, स्नातक तहमा १ हजार १ सय ४२ र प्रमाणपत्र तह (पिसिएल नर्सिङ) कार्यक्रममा २ सय ८३ विद्यार्थी उत्तीर्ण भएको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
त्यसैगरी, संस्थानअन्तर्गतका सम्पूर्ण अस्पताल, केन्द्र, क्याम्पस कार्यालयका कार्ययोजनाको कार्यपत्र पनि प्रा. अग्रवालले प्रस्तुत गर्नुभएको थियो ।

प्रतिवेदनमा मुख्य रूपमा उपयुक्त स्थानको खोजी गरी फ्याकल्टी तथा कर्मचारीका लागि आवासीय भवन निर्माण गर्ने लक्ष्य राखेको कुरा प्रस्तुत गनुभयो । काठमाडौंबाहिर रहेका वीरगन्ज नर्सिङ क्याम्पस, नेपालगन्ज नर्सिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, विराटनगर नर्सिङ क्याम्पसमध्ये प्रथम चरणमा पोखरा नर्सिङ क्याम्पसमा १ सय शैयाको अस्पताल निर्माण गर्ने कार्यक्रम छ ।

प्रथम चरणको लागत अनुमान तयार गर्ने कार्य सम्पन्न भइसकेको र अन्य क्याम्पसमा पनि क्रमशः विस्तार गरिने योजना छ । त्यसैगरी, केन्द्रीय जनस्वास्थ्य विभागको स्थापना गरी जनस्वास्थ्य विषयमा स्नातकोत्तर तथा विद्यावारिधि तहको कार्यक्रम सञ्चालन गर्नेलगायत अन्य कार्यक्रमको स्तरोन्नति गर्न त्रिवि कीर्तिपुरमा निर्मित बेसिक साइन्स भवनको प्रयोग गर्ने योजना रहेको जानकारी गराउँनुभयो ।

डा. अग्रवालले ०७६/७७ का लागि कार्यालयले विकास कार्यक्रमका लागि ७३ करोड ७० लाख प्रस्ताव गरेको बताउनुभयो । त्यसैगरी, डिन कार्यालयले नियमिततर्फ ३ करोड २५ लाख, ३८ हजार ३ सय ८८ र आन्तरिक स्रोततर्फ १२ करोड २१ लाख ८९ हजार ३ सय ५५ रूपैयाँ प्रस्ताव गरेको जानकारी गराउनुभयो ।

बिरामीको चाप बढ्दो

अस्पतालको प्रगति प्रतिवेदन अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले प्रस्तुत गर्नुभयो । ३७ बर्ष अघि जापान सरकारको सहयोगमा निर्मित त्रिवि शिक्षण अस्पताल ३ सय १ बेड क्षमताबाट सुरु भएकोमा हाल ७ सय बेड क्षमतामा सञ्चालन भइरहेको छ ।

अस्पतालमा बिरामीको चाप बढ्दोछ । आर्थिक वर्ष ०७४/७५ मा उपचार गराउन आउने बिरामीको संख्या ओपिडीतर्फ ५ लाख ८ हजार ३ सय ३१ रहेकोमा आर्थिक वर्ष ०७५/७६ मा ५ लाख २५ हजार ५ सय ११ रहेकोछ । अस्पतालमा भर्ना भई उपचार गराउने बिरामीको संख्या आर्थिक वर्ष ०७४/७५ मा २५ हजार १२ रहेकोमा आर्थिक वर्ष ०७५/७६ मा वृद्धि भई २५ हजार ८ सय ४५ पुगेको छ । त्यसैगरी, इमर्जेन्सीमा आउने बिरामी संख्या ०७४/७५ मा ४८ हजार ८ सय ५७ बाट ०७५/७६ मा ५० हजार ३ सय ६९ पुगेको छ भन्नुभयो ।

फार्मेसी सेवा सुधार गर्दा आम्दानी बढ्यो

अस्पतालको फार्मेसीबाट आर्थिक वर्ष ०७४/७५ मा १४ करोड ३० लाख ७५ हजार मुल्यबराबरको औषधि विक्री भएकोमा फार्मेसी सेवालाई सुधार गर्दै आर्थिक वर्ष ०७५/७६ मा १९ करोड ७६ लाख ११ हजारको औषधि विक्री गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।

चालू आव ०७६/७७ मा अस्पतालमा ६८ लाख ८९ हजार ३ सय ५५ घाटा हुने अनुमान चालू आर्थिक वर्ष ०७६/७७ को अनुमानित आर्थिक विवरणमा आम्दानीतर्फ २ अर्ब १८ करोड ५६ लाख २२ हजार ९ सय ९४ प्रक्षेपण गरिएको छ भने खर्चतर्फ २ अर्ब १९ करोड, २५ लाख, १२ हजार ३५ हुने अनुमान गरिएको छ । जसअनुसार ६८ लाख ८९ हजार ३ सय ५५ घाटा हुने देखिएको डा. खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्