हाइटीमा नयाँ प्रधानमन्त्री नियुक्त



पोर्ट ओ प्रिन्स ।
हाइटीका राष्ट्रपति जोभेनेल मोसेले सोमबार नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । उहाँले फ्रिज विलियम मिसेललाई यहाँको नयाँ प्रधानमन्त्रीका रुपमा सोमबार नियुक्त गर्नुभएको जनाइएको छ ।

यसअघिका प्रधानमन्त्री जिन माइकल लापिनले राजिनामा दिएपछि सोमबार विलियम मिसेललाई नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरिएको हो । लापिनले राजिनामा दिएपछि मैले यहाँका राष्ट्रिय राजनीतिक दलका नेताहरुका साथै सिनेट र चेम्बर अफ डेपुटिजसँग परामर्श गरेँ र उहाँलाई हाइटीको नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेँ– राष्ट्रपति मोसेले ट्वीटमा लेख्नुभएको छ ।

उहाँको मनोनयनलाई सांसदहरुले अनुमोदन गर्नुपर्नेछ । राष्ट्रपति मोसेले सो ट्वीटमा भन्नुभएको छ– मलाई लाग्छ मैले हाइटीका लागि यो राम्रो निर्णय गरेको छु । निवर्तमान प्रधानमन्त्री लापिनको कार्यकाल अत्यन्तै छोटो रहेको बताइएको छ । उहाँ गत मार्च महिनामा मात्र नियुक्त हुनुभएको थियो ।

सोमबार नियुक्त हुनुभएका प्रधानमन्त्री विलियम मिसेल यसअघि हाइटीको अर्थमन्त्रीका रुपमा काम गर्नुभएको थियो । उहाँ हाइटीका राष्ट्रपति मोसेका विश्वासका व्यक्ति पनि हुनुहुन्छ । उहाँलाई अब हाइटीको सरकारलाई जनताको विश्वास आर्जन गर्नुपर्ने जिम्मेवारी आएको छ । यस कार्यलाई हाइटीका अधिकारीहरुले निकै गाह्रो भनेका छन् ।

हाइटी अमेरिकी राष्ट्रहरुमै सबैभन्दा गरिब देशका हो । संयुक्त राष्ट्रसंघमा हालैमात्र गरिएको एक बैठकमा हाइटीमा करिब ५९ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् भनिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्