बागलुङ अञ्चल अस्पतालमा स्तनपान कक्ष स्थापना



सिर्जना पन्त, बागलुङ । बच्चा र आमाको स्वास्थ्यलाई मध्यनजर गर्दै धौलागिरि अञ्चल अस्पताल बागलुङले स्तनपान कक्ष स्थापना गरिएको छ । समय–समयमा शिशुलाई आमाको दुध चुसाउनु पर्ने भएपनि उपचारको लागि अस्पताल आउँने आमाहरुलाई उपयुक्त स्थानको अभाव भएर स्तनपान गराउँन समस्या भएपछि अस्पताल व्यवस्थापन समितिले अस्पताल परिसरमै स्तनपान कक्ष सञ्चालनमा ल्याइएको हो ।

सार्वजनिक स्थलहरुमा आफ्ना शिशुलाई स्तनपान गराउन महिलाहरुले असजिलो महुशुस गर्ने र त्यसले आमा तथा बच्चाको स्वास्थ्यमा प्रतिकुल असर गर्ने भएकाले अस्पताल परिसरमै स्तनपान कक्ष तयार गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताउनुभयो ।

‘समयमा स्तनपान नगराउँदा आमा र शिशु दुवैलाई समस्या हुने गर्छ, डा.पोखरेलले भन्नुभयो, ‘यो ठुला शहरका धेरै अस्पताल र सार्वजनिक स्थलमा अभ्यास भइसकेको बिषय हो, हामिले ढिलै भए पनि सुरुवात गरेका छौ ।’

पछिल्लो समय धौलागिरि अञ्चल अस्पताललाई सुविधा सम्पन्न, बिश्वासिलो र भरपर्दो अस्पतालको विकास गर्न अस्पतालको नयाँ व्यवस्थापन समितिले धेरै सुधार प्रयास गरिरहेको छ । अस्पतालमा हालै मात्र नव निर्मित अस्पतालको ‘बी’ ब्लक भवन सञ्चालनमा आए संगै सेवा प्रभाहमा सहजता आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले बताउनुभयो ।

अस्पतालमा स्वास्थ्य उपचारका लागि आउने आमा तथा शिशुलाई स्तनपान कक्षले निकै सहज हुने अध्यक्ष राना मगरले जानकारी दिनुभयो । ‘स्तनपान गराउने कक्ष नहुँदा अस्पतालमा आउने सुत्केरी आमाहरुलाई निकै असहज भएको थियो’ मगरले भन्नुभयो ‘गोप्य स्तनपान कक्ष स्थापनाले आमा तथा शिशु दुवैलाई सहज हुनेछ ।’ अस्पतालको टिकेट काउण्टर नजिकै स्थापना गरिएको स्तनपान कक्षमा आमाले शिशुलाई स्तनपान गराउनुका साथै आराम गर्ने व्यवस्थासमेत गरिएको छ ।

सुरक्षित मातृत्व सेवाअन्तर्गत अस्पतालले स्थानपान कक्षको स्थापना गरेको डा.पोखरेलले जानकारी दिनुभयो । अस्पताललाई नयाँ व्यवस्थापनमा सञ्चालन गरी जनताको स्वास्थ्य सेवामा सुधार ल्याउनका लागि अस्पतालमा बिभिन्न कक्ष स्थापना गर्ने सन्र्दभमा स्तनपान कक्ष निर्माण गरेको अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माले जानकारी दिनुभयो । ‘हामी नयाँ व्यवस्थापनमा अस्पताल सञ्चालन गरिरहेका छौं’ शर्माले भन्नुभयो ।

यसअघि अस्पतालका कर्मचारी तथा सेवाग्राहीले स्तनपान कक्ष नहुँदा सास्ती भोग्दै आएका थिए । स्तनपानका लागि सुरक्षित ठाउँको अभावमा बच्चा जन्माएका आमा लज्जित हुने गरेका थिए । स्तनपान कक्षमा एकै पटक दश आमा बसेर स्तनपान तथा आरा मगर्न सक्नेछन् ।

वि.स.२०६७ सालमा बागलुङ जिल्ला अस्पताललाई स्तरउन्नती गरी अञ्चल अस्पातल बनाइएपनि अञ्चल अस्पतालले प्रदान गर्ने सेवा सुविधा गुणस्तरीय नभएको विरामीहरुले गुनासो बढेसंगै व्यवस्थापन समितिको पहलमा विशेषज्ञ डाक्टरहरुको समेत आगमन भएको छ । १६ विशेषज्ञ सहीत २३ जना डाक्टरहरुको दरवन्दी भएको अञ्चल अस्पतालमा हाल ९ जना विशेषज्ञ र १७ जना मेडिकल अधिकृतहरुले सेवा प्रदान गरेको अस्पतालका सुचना अधिकारी तीर्थ गौतमले बताउनुभयो ।

अञ्चल अस्पतालमा फोहोर व्यवस्थापन, शुद्ध खानेपानी, पार्कीङ लगाएतका सुविधाहरु समेत प्रदान गर्न थालिएको छ । अञ्चल अस्पतालमा विशेषगरी स्वास्थ्य विमा प्रभावकारी भए संगै विरामीको चाप ह्वातै बढेको छ । स्तनपान कक्षको मंगलबार प्रदेशसभा सांसद इन्द्रलाल सापकोटाले उद्घाटन गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्