विद्युत गृहमा मैनबत्ती बालेर रात काट्न बाध्य कर्मचारी



दुर्गाप्रसाद शर्मा, पर्वत । ग्राहकका घरघरमा उज्यालो पुर्याउन विद्युत उत्पादन गर्ने विद्युत गृहमा नै बिजुली छैन भन्दा अनौठो मान्नु होला तर यो वास्ताविकता हो ।

बिजुली उत्पादन गर्ने पर्वतको मोदी गाउँपालिका स्थित पातीखोला जलविद्युत आयोजनाका कर्मचारीहरु विद्युत गृहमै मैनबत्ती बालेर बस्न बाध्य छन ।
पातीखोला जलविद्युत आयोजनाको प्रसारण लाईन मर्मत गर्न स्थानियबासीले अबरोध गरेपछि विद्युत उत्पादन गर्न नसक्दा चार दिन देखि बिद्युतगृहमै मैनबत्ती बालेर बस्न बाध्य भएका हुन ।

पर्वत मोदी गाउँपालिका वडा नं ३ घुरुङ्गामा रहेको १ मेघावाट क्षमताको पातीखोला जलविद्युत आयोजनाको प्रसारण लाइन मर्मत गर्न नदिएपछि साउन ४ गते देखि बिद्युत उत्पादन बन्द भएको आयोजनाले जनाएको छ । मोदी गाउँपालिका वडा नं २ मा पर्ने ढाँडखेत बगरका बासिन्दाले घरमाथिबाट प्रसारण लाईन गएको र विद्युतका तार खसेर चुहावट हुने खतरा रहेको भन्दै मर्मत गर्न दिएका छैनन ।

प्रसारण लाइनको एउटा पोलमा रहकेको बिग्रेको कण्डक्टर मर्मत हुन नसक्दा चार दिन देखि उत्पादन ठप्प भएको आयोजनाका प्रबन्ध निर्देशक बिष्णुराज कोइरालाले बताउनुभयो । ‘प्रसारणलाईनको तार अड्याउने कन्डक्टरको पिन फेर्न नदिदा विद्युत उत्पादन ठप्प छ’ प्रबन्ध निर्देशक कोइरालाले भन्नुभयो ‘बिद्युत उत्पादन गर्न नसक्दा कर्मचारीले रातभर मैनबालेर विद्युत गृह कुर्दै आएका छन’
बर्षा याममा आयोजनाबाट पुर्ण क्षमतामा बिद्युत उत्पादन हुन्छ ।

एक दिन बिद्युत उत्पादन बन्द हुँदा कम्तीमा पनि १ लाख रुपैंया नोक्सान बेर्होन बाध्य भएको आयोजनाले जनाएको छ । प्रसारण लाईनका कण्डक्टरमा कहिलेकाही समस्या आएपनि त्यसले खतरा नहुने आयोजनाको दाबी छ । प्रसारण लाईन सञ्चालनमा आएको बर्षौपछि त्यसको नजिक घर बनाउने र अहिले अबरोध गर्ने कार्य भएको प्रबन्ध निर्देशक कोइरालाको भनाई छ । आयोजनाले ११ बर्ष देखि बिद्युत उत्पादन गर्दै आएको थियो ।

आयोजनामा आएको समस्याका बारेमा मोदी गाउँपालिकामा दुबै पक्षका बिचमा छलफल गर्न आग्रह गरिएको र सहमति नभएमा प्रशासनले हस्तक्षेप गरेर पनि विद्युत उत्पादन सुचारु गराइने प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे ढकालले बताउनुभयो । प्रसारण लाईन स्थानान्तरण गर्नका लागि जमिन पनि नदिने रुख काट्न समेत अबरोध भएकाले समस्या भोग्दै आएको आयोजनाले जनाएको छ । प्रसारण लाईन वरपरका बास हटाउन खोज्दा समेत स्थानियबासीले एउटा बाँसको ५ सय रुपैंया सम्म माग गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्