कन्टेनरले थिच्दा २ को मृत्यु, ३ घाइते



हेटौंडा । हेटौंडा–१५, चुरियामाईमा सोमबार रातिदेखि बिग्रिएर सडकमा तेर्सोे परेको भारतीय कन्टेनर अगाडि बढाउन खोज्दा पल्टिएर दुई जनाको मृत्यु भएको छ ।

मालबाहक कन्टेनरलाई चुरियामाईको उकालोमा अगाडि बढाउन खोज्दा पछाडि हटेपछि  पाँच वटा गाडीलाई ठक्कर दिएको थियो । एकले अर्को गाडीलाई ठक्कर दिएका कारण दुई जनाको गाडीले थिच्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ३ जना घाइते भएका छन् ।

मृत्यु भएकाको पहिचान खुल्न सकेको छैन । कन्टेनर उचालेर किनारा लगाउने क्रममा राजमार्गमा गुडिरहेका अटो, सुमो र मोटरसाइकललाई थिचेको जनाइएको छ ।

भारतको रक्सौलबाट हेटौंडातर्फ आउँदै गरेको भारतीय मालबाहक कन्टेनरले थिचेको हो । सडकमा सोमबार राति साढे ११ बजे सामान बोकेको एनएलओआईडी ८०३१ नम्बर मालबाहक १८ चक्के कन्टेनर राजमार्गमा बिग्रिएर सडक सञ्चालनमा समस्या परेको थियो । कन्टेनरलाई क्रेनको सहायताले मुल सडकमा ल्याएर अगाडि बढाउने क्रममा कन्टेनर तल झरेको थियो ।

ओभरलोड सामान बोकेर आएको भारतीय गाडी बिग्रँदा पूर्वपश्चिम राजमार्ग रातभर बन्द भएको थियो । रातभर राजमार्गमा रोकिएका एक हजार भन्दा बढी सवारीसाधन मंगलबार विहानमात्र गन्तब्यतर्फ लागेका थिए ।

मालबाहक गाडी ओभरलोडका कारण चुरियामाई उकालो चढ्न नसकेपछि राजमार्ग बन्द भएको हो । विद्युतीय सामग्री बोकेको गाडी ओभरलोडका कारण हेटौंडातर्फ आउनुको साटो पछाडि हटेपछि टायर खुस्किँदा सडक अवरुद्ध भएको हो । राति करिब साढे ११ बजे बन्द भएको सडक विहान ७ बजेमात्र एकतर्फी सञ्चालनमा ल्याउन सकिएको प्रहरीले बताएको छ ।

तत्काल हटाउन डिभिजन सडक कार्यालय हेटौंडाले चासो नदिनु, गाडी हटाउन प्रविधियुक्त सामग्री नभएका कारण हजारांै यात्रु रातभर चुरियामाई जंगलमा बस्नुपर्ने बाध्यता आएको थियो ।

प्रतिक्रिया दिनुहोस्