१६ महिनापछि सुत्केरी भत्ता वितरण    



विनोद सिंह विष्ट, बैतडी ।  स्वास्थ्यसंस्थामा बच्चा जन्माउने वितिक्कै दिइने सुत्केरी भत्ता बैतडीको एक नगरपालिकामा १६ महिनापछी वितरण गरेको छ । पुर्चौंडी नगरपालिकाले वि स २०७४ चैतदेखि गत असार सम्मको सुत्केरी भत्ता वितरण गरेको हो । सुत्केरी भत्ता बापतको रकम आमाले स्वास्थ्य संस्थामा बच्चा जन्माउने बित्तिकै पाउनुपर्ने भएपनि कम बजेटका कारण सुत्केरी भत्ता वितरण गर्न सकेको थिएन् ।

नगरपालिकामा सुत्केरी भत्ता बापतको रकम कम आएका कारण करीब १६ महिनापछि मात्रै सुत्केरी भत्ता वितरण गर्न सकेको नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले जानकारी दिनुभयो । स्वास्थ्य संस्थामा बच्चा जन्माएका आमाहरुलाई सुत्केरी भत्ता बापतको रकम वितरण गर्नका लागि नगरपालिकाभित्रका १० ओटा स्वास्थ्य संस्थाको खातामा रकम जमा गरेको र स्वास्थ्य संस्थाहरुले आफ्नो सेवा क्षेत्रमा वितरण गर्न थालेको हो ।

पुरचौंडी नगरपालिकामा २१ ओटा प्रसुती सेवा केन्द्रहरुमार्फत सुरक्षित प्रसुती सेवा प्रदान भईरहेको छ । १६ महिनामा ७७८ आमाका लागि ३९ लाख जति सुत्केरी भत्ता बापतको रकम स्वास्थ्य संस्थाहरुको खातामा पठाइएको बताइएको छ ।
चालु आर्थिक बर्षमा भने सुत्केरी भत्ता वितरणमा समस्या नहुने पुरचौंडी नगरपालिकाले जनाएको छ । गत बर्षहरुमा स्वास्थ्य मन्त्रालयले समयमा पैसा पठाउन नसक्दा सुत्केरी भत्ता वितरणमा समस्या आएको बताइएको छ ।

स्वास्थ्य संस्थामा बच्चा जन्माउँदा सुत्केरी भत्ता नपाउँदा स्थानीयहरु रुष्ट हुने गरेकोमा अहिले सकेसम्म घरमै गएर, नजिक भएकाहरुलाई स्वास्थ्य संस्थामा बोलाएर सुत्केरी भत्ता वितरणको तयारी भएको कोटिला स्वास्थ्यचौकीका इन्चार्ज सुमन लुहारले जानकारी दिनुभयो ।

स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भएपछि स्वास्थ्य संस्थाहरुले नियमित रुपमा प्रदान गर्ने सेवामा केही समस्या पैदा भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्