होला त महानगर अब नो मास्क सिटी ?

काठमाडौं महानगरपालिकाको महत्वाकांक्षी योजना



नेपाल समाचारपत्र, काठमाडौं ।
बालाजु बाइसधारा उद्यानको स्तरोन्नति, महानगर क्षेत्र भई बग्ने नदी सम्पदाको सुदृढीकरण, केन्द्रीय कार्यालय भवन, भर्टिकल स्मार्ट पार्किङ, पर्यटन पदमार्ग, फोहोरमैलाको दिगो ब्यवस्थापन, कोटेश्वर तीनकुनेमा बुद्धपार्क निर्माण, मेगाहल, शहरी यातायात व्यवस्थापन, नो माक्स सिटी र मोनोरेल सञ्चालन । यी हुन् काठमाडौं महानगरपालिकाको महत्वाकांक्षी योजना ।

यी योजनालाई चालू आर्थिक वर्षमा पूरा गर्ने गरी नीति तथा योजना पारित गरेको छ । कामपाले बाटोको धूलो–धूवाँ, फोहोर, पार्किङ, ढल, बाटो व्यवस्थापन गर्न नसकेको ब्यापक गुनासो आइरहेका बेला कामपाले एक वर्षभित्र महानगरलाई थप व्यवस्थित गर्ने गरी नयाँ नीति तथा योजना अघि सारेको हो ।

महानगरबासीको जीवन पद्धतिमा अर्थपूर्ण परिवर्तन आउन सक्ने परियोजनालाई महानगरपालिकाको विशेष महत्वका आयोजना मानिने उल्लेख गर्दै नयाँनयाँ परियोजना अघि सारेको जनाएको छ । कामपाका प्रवक्ता ईश्वरमान डंगोलले नगर परिषद्मार्फत सार्वजनिक गरिएको योजना चालू आवमा शुरु गर्ने दाबी गर्नुभयो ।

कामपाले औषधि तथा खाद्य वस्तुलगायत आधारभूत उपभोग्य वस्तु तथा सेवाको आपूर्ति र गुणस्तर कायम गर्न स्थानीय बजार व्यवस्थापनसम्बन्धी मापदण्ड तयार गर्ने, विषादि प्रयोग नभएको मात्र आपूर्ति तथा बिक्री वितरण गर्न नियमित रुपमा गुणस्तर गर्न अत्याधुनिक उपकरणसहितको मोबाइल भ्यान सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ ।

महानगरभित्रको मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न नेपाल भ्रमण वर्ष सन् २०२० को सचिवालय तथा नेपाल पर्यटन बोर्डसँग साझेदारी कार्यक्रम सञ्चालन मौलिक बस्तीमा सम्पदा भवनहरूको संरक्षण तथा निर्माणका लागि निश्चित मापदण्डको आधारमा अनुदान तथा छुट दिने नीति अघि बढाइएको प्रवक्ता डंगोलले बताउनुभयो ।

महानगरले अघिल्लो वर्ष सार्वजनिक गरेको नीति तथा कार्यक्रम पूर्ण रुपमा कार्यान्वयन भइनसकेको अवस्थामा चालू आवमा मेट्रो रेल सञ्चालन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपति क्षेत्रलाई पर्यटकीय हबका रुपमा विकास गर्न विशेष कार्यको थालनी गर्ने व्यवस्था गरेको छ ।

कामपाले यो वर्षको बजेटअनुसार भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत साढे ५ अर्ब, सम्पदा तथा पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न ९९ करोड, हनुमानढोका दरबार संरक्षण कार्यक्रमअन्तर्गत ५४ करोड रुपियाँ विनियोजन गरेको छ । कामपाले चालू आवमा साढे १५ अर्ब रुपियाँ खर्च गर्ने योजना सार्वजनिक गरेको छ । महानगरको पाँचौं नगरसभाले पारित गरेका विषयलाई कार्यान्वयन गर्दै लैजाने प्रवक्ता डंगोलले बताउनुभयो ।

महानगरले विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार र अन्य सम्पदा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ । त्यसैले यो वर्ष कामपाले पूर्वाधार वर्षका रुपमा विकास गर्ने प्रवक्ता डंगोलले जानकारी दिनुभयो । महानगरले आफ्नो क्षेत्रमा भित्रने सवारीसाधनलाई नाकामा धोएर मात्रै प्रवेश दिन आधुनिक भेहिकल क्लिनिङ सेन्टर निर्माण गर्ने जस्ता महत्वाकांक्षी योजना अघि सारेको छ ।

प्रधानमन्त्री केपी ओलीले बाटोमा हिँड्दा माक्स लगाउनुपर्ने अवस्थालाई बिस्तारै नियन्त्रण गर्दै जाने अभिव्यक्तिबाट प्रभावित कामपाले प्रदूषण एवं धूवाँ धूलोलाई न्यूनीकरण गरी नो मास्क सिटीका रुपमा विकास गर्नका लागि बु्रमरको प्रयोगलाई प्रभावकारी बनाउने र आवश्यकताअनुसार थप गर्ने पनि नीति लिएको जनाएको छ । यो वर्षभित्र १० वटा ब्रुमर प्रयोगमा ल्याउने योजना बनाएको प्रवक्ता डंगोलले बताउनुभयो ।

चालू आर्थिक वर्षदेखि घरबहाल सम्झौता अनिवार्य गर्ने र वहालमा बस्नेको व्यक्ति र परिवारको विवरणसमेत काठमाडौं महानगरपालिका कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था गर्न लागेको छ । महानगरले हनुमानढोकादेखि स्वयम्भूसम्म पुरातात्विक सम्पदा पदमार्ग तथा पशुपतिनाथदेखि बौद्धस्तुपासम्म भने हरित सम्पदा पदमार्ग निर्माण गर्ने विषय कार्यक्रममा उल्लेख गरिएको छ ।

महानगरले ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका टोल, बस्ती, मठ, मन्दिर, भाषा, लिपि, रीतिरिवाज र अमूर्त सम्पदाको संरक्षण तथा संवद्र्धधन गर्ने नीति तथा कार्यक्रममा समावेश गर्ने र हाउस पुलिङलाई निरन्तरता दिने उल्लेख छ । धर्मभक्त माथेमाको सिफलमा, दशरथ चन्द र गंगालालको शोभा भगवतिमा पूर्णकदको शालिक प्रतिस्थापन गर्ने योजना नीतिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्